मिदिम खोला विद्युत् आयोजनाको उत्पादन शुरू



लमजुङ, (नेस)
लमजुङको मध्यनेपाल–८ स्थित मिदिम खोला विद्युत् आयोजनाले उत्पादन शुरू गरेको छ। परीक्षण उत्पादनको अवधि समाप्त गरी उत्पादन थालिएको हो।

तीन मेगावाट क्षमताको सो आयोजनाबाट यतिबेला भने पानीको बहाव न्यून भएका कारण करिव एक मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले बताउनुभयो। उहाँका अनुसार विद्युत् प्राधिकरणबाट आधिकारीक पत्र आउन बाँकी छ। तर, पनि मिटर रिडिङ शुरु भएको छ। यससँगै आयोजनाले त्यसको शुल्क नियमानुसार पाउँछ अधिकारीले भन्नुभयो।

युनियन हाइड्रोपावर लिमिटेडले २०७२ को वैशाख महिनादेखि निर्माण थालेको आयोजना तोकिएको समयभन्दा करिब ८ महिना ढिला सम्पन्न भएको हो। उत्पादित विद्युत्लाई प्राधिकरणको भोर्लेटारमा निर्माणाधीन सबस्टेशनमा जोडिएको छ। प्राधिकरणले ढिलाइ गरेकाले उत्पादित विद्युत् ३३ केभीएको भोर्लेटार–दमौली प्रसारण लाइनमा जडान गरिएको जानकारीमा आएको छ।

विद्युत गृहबाट भोर्लेटारसम्मको दूरी साढे ८ किलोमिटर रहेको छ। सो प्रसारणलाइन आयोजना आफैंले बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले बताउनुभयो। उहाँका अनुसार मध्यनेपाल नगरपालिका– ८ करापु र बेंसीशहर नगरपालिका ४ नाल्मासीमा लाङ्दीफेदीमा आयोजनाको बाँध निर्माण गरिएको छ। सो अयोजनामा १ हजार १ सय २१ दशमलव २ मिटर लामो भूमिगत सुरुङ, १ सय ३० मिटर पेनस्टक पाइप, १ सय ७१ मिटर लामो एप्रोच क्यानल (कल्भर्ट) निर्माण गरी पानीलाई मध्यनेपाल– ८ करापुको पतरीमा निर्मित विद्युत गृहमा खसालिएको छ। आयोजनामा २ वटा फ्रास्सिस टर्वाइन जडान गरिएको छ, यसको ग्रसहेड ५१ मिटर छ अधिकारीले भन्नुभयो।
पानीको बहाव (रन अफ रिभर) मा आधारित उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गरिएको हो। कुल ५४ करोड रुपियाँमा निर्माण लागत अनुमान गरिएकोमा अहिले ७५ करोड रुपियाँ लागत पुगेको आयोजनाले जनाएको छ।

प्रवद्र्धक कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०६९ माघमा विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो। प्रतियुनिट सुख्खायाममा ८ रुपियाँ ४० पैसा र बर्खायाममा ४ रुपियाँ ८० पैसामा सम्झौता भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्