बदला लिँदै न्यु डायमन्ड च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजककै शिवम्
न्यु डायमन्ड एकेडेमीले जितेको छ। मंगलबार नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाइनल खेलमा न्यु डायमन्डले कडा प्रतिस्पर्धा गरेर उपाधि जितेको हो। गत साता एपीएफले यही भएको डबल लिग भलिबल प्रतियोगितामा न्यु डायमन्डलाई हराएर उपाधि हात पारेको थियो। यसैको बदला पुरा गरेर न्यु डायमन्डले उपाधिमाथि कब्जा गरेर १ लाख ५१ हजार नगद पनि प्राप्त गर्यो। एपीएफले १ लाख १ हजार रुपियाँमा चित्त बुझाएको थियो।

खेलमा पहिलो सेट चाहिँ एपीएफले नै जितेको थियो। २६–२४ मा यो सेट जितेपछि विभागिय टोलीले न्यु डायमन्डमाथि दबाब बढाउने संकेत देखायो। तर न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेर एपीएफको उपाधि आशा तुहाइदियो। टोलीले २५–२३, २८–२६, २५–२३ ले लगातार सेट जितेको थियो। यो खेल जित्न प्रतिभा मालीले अलराउन्ड प्रदर्शन गरिन्। उनले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडेकी थिइन्। यसैवापत उनी उत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार नगदको हकदार समेत भइन्।

प्रतियोगितामा उत्कृष्ट हुनेमा न्यु डायमन्डका खेलाडीकै वर्चश्व रह्यो। ललिता नाथ, पनामिका राई, सबिना श्रेष्ठ र कृपा अधिकारी क्रमशः क्वीकर, सर्भर, लिब्रो र सेटरमा उत्कृष्ट भएका हुन्। यसैगरी अन्यमा एपीएफकी सरस्वती चौधरी स्पाइकमा र आर्मीकी संगम महत्तो ब्लकरमा उत्कृष्ट भएका थिए। उनीहरुले जनहि ५ हजार नगद प्राप्त गरेका थिए। त्यस्तै विजेता टोलीका प्रशिक्षक कुमार राई आफनो विधामा उत्कृष्ट हुँदै १५ हजार नगद प्राप्त गरे।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्यो। आर्मीले ५१ हजार र टप्सले २१ हजार नगद प्राप्त गरेका थिए। यो राष्ट्रिय प्रतियोगिता भने पनि चार टोलीले मात्रै सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्