आज राष्ट्रिय सभा निर्वाचन



सुनील महर्जन, काठमाडौं

राष्ट्रिय सभाको आज बुधबार हुने निर्वाचनमा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कुल ५६ सदस्यका लागि हुने निर्वाचनमा यसअघि २४ जना निर्विरोध भइसकेका छन्। यसले गर्दा ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका हुन्।

प्रदेश नं १, ३, ४, ६ र ७ वटा प्रदेशमा मात्र मतदान हुनेछ। प्रदेश नं १ को मोरङ, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीको दिपायलमा मतदानस्थल तोकिएको छ। प्रदेश नम्बर २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नु नपरेको हो।

प्रत्येक प्रदेशमा मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ। आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो।

निर्वाचनको अवधि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। प्रत्येक प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि गर्नुपर्ने सबै प्रकारका तयारी पूरा गरेको जानकारी आयोगलाई प्राप्त भएको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइयो।

‘शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह गर्दछु –प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भन्नुभयो। निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ जना मतदाता रहेका छन्।

प्रदेश नम्बर २ का ८ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कुल १ हजार ६ सय ७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन्। निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको थियो।

निर्वाचन गर्ने तरिका
निर्वाचनमा ८ प्रकारका मतपत्रको प्रयोग हुनेछ। विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वस्तिक चिह्नको प्रयोग हुने छैन। मतदानका लागि प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङगको मतपत्रमा मत सङ्केत गर्नुपर्ने छ।

३महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने छ। त्यसले गर्दा मतदाताले बढीमा ३ जना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ। त्यस्तै महिला एक र अपांगता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुनेछन्। हरेक मतपत्रमा बढीमा १ जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्नले संकेत गर्नुपर्ने छ।

स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने छ। ‘एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्न अनुरोध गर्दछु –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। अब दलित १ र अपांगता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ जना सदस्यका लागि मतदान हुनेछ। प्रदेश नम्बर ३ मा भने ८ वटै पदमा मतदान हुनेछ।

त्यस्तै प्रदेश नम्बर ४ मा अपांगता भएका वा अल्पसङ्ख्यक समुदायबाट एक सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य सदस्यमा निर्वाचन हुनेछ। यसै गरी, प्रदेश नम्बर ५ मा महिला ३ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसक्नुभएकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ।

त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपांगता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन हुनेछ।

भोट हाल्न नागरिकता वा मतदाता परिचयपत्र
स्थानीय तह निर्वाचन वा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ का लागि आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
साँझबाट मतगणना
मतदान सकिएलगत्तै मत गणना कार्य शुरू गर्ने पनि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो। ‘मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छु –उहाँले भन्नुभयो।

मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले ६ वटै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएको छ। ‘सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी पनि आयोगले गरेको छ’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।
राष्ट्रिय सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने पनि आयोगले जनाएको छ। यसका लागि आयोगले न्यूनतम मतसीमा (थे्रसहोल्ड) ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलहरूको संख्या र सिट तोकिने छ। सोहीअनुरूप बन्दसूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम समावेशी समूहअनुसार सिफारिस गर्न दलहरूलाई तीन दिनको समय दिएर पत्राचार गर्ने आयोगले जनाएको छ।

दलहरूले गरेको सिफारिसअनुसार समावेशी समूह मिले नमिलेको आयोगले जाँच गर्नेछ। सिफारिस नमिलेको भएमा मात्रै दलहरूलाई सच्याउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘दलहरूबाट विगतमा जस्तै तोकिएको समयमै नाम प्राप्त हुनेमा आयोग विश्वस्त रहेको छ।’ सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेस गर्न आयोग दृढ सङ्कल्पित रहेको पनि डा. यादवको कथन रहेको छ।

प्रतिक्रिया दिनुहोस्