फोर्ड गाडी ठगी प्रकरण, प्रहरीलाई जिम्मा लगाउने तयारी



नेपाल समाचारपत्र
काठमाडौं
थापाथलीमा रहेको जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा ग्राहकबाट अस्वाभाविक रकम असुली गरेको पुष्टि भएको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा कम्पनीले बेच्ने ‘ईको स्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्यसूचीमा जम्मा लागतभन्दा बढी मूल्य लिएको भेटाएको थियो। कम्पनीका प्रबन्धक तेजकरण जैनको बयानबाट ईको स्पोर्ट गाडीमा भएको अतिरिक्त मूल्य असुलीका विषयमा कारण खुल्न नसकेको तथा अनुगमनका क्रममा भेटिएका कैफियतबाट कम्पनीले ठगी गरेको पुष्टि भएपछि थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाउने तयारी थालिएको हो। ‘विभागले आन्तरिक अनुसन्धानका सबै कार्य पूरा गरेको छ। अनुसन्धानबाट उक्त कम्पनीले ईको स्पोर्ट फोर्ड गाडीमा कानुनविपरीत अतिरिक्त शुल्क असुल गरेको भेटिएको छ।

‘हामीले केही दिनभित्रै सो विषयमा थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई फाइल बुझाउँछौं’ –विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

अनुगमनलगत्तै विभागले उक्त कम्पनीले बेच्ने गरेका सवारीसाधनमा मूल्य बढ्नुको कारणसहित ३ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो। कम्पनीका प्रबन्धक तेजकरण जैनले दुईपटकसम्म विभागमा स्पष्टीकरण बुझाए पनि मूल्य वृद्धिको कारण पुष्टि नभएको विभागले जनाएको छ।

गाडीको मूल्य वृद्धिको कारणका सम्बन्धमा स्पष्टीकरण दिए पनि मूल्य बढ्नुको कारण खुलाउन नसकेको महानिर्देशक दाहालले बताउनुभयो। ‘हामीले पहिलो चरणका स्पष्टीकरणमा चित्तो बुझ्दो जवाफ नफाएपछि फेरि तीन दिनभित्र लिखित स्पष्टीकरण र आवश्यक काजजात पेस गर्न निर्देशन दिएका छौं। लिखित जवाफबाट पनि गाडी बिक्रीमा मूल्य बढ्नुको कारण खुलाउन नसके हामी ठगी मुद्दाका लागि सिफारिस गर्छौं’–नेपाल समाचारपत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो।

जिओ अटोमोबाइल्स प्रालि अन्तर्राष्ट्रिय सवारीसाधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक हो। जिओ अटोमोबाइल्सले प्रतिगाडी कर्मचारी खर्च शीर्षकमा ९१ हजार ५ सय ६० रुपियाँ, बिक्री वितरण शुल्कमार्फत् ६४ हजार ४ सय ५४ रुपियाँ र वित्तीय शुल्क (फाइनेन्सियस कस्ट)मार्फत् ३७ हजार रुपियाँ कायम गरी बिक्री गरिएको छ भने त्यसमा थप मुनाफा पनि जोडिएको छ। कम्पनीले प्रशासनिक खर्च शीर्षकबाट कर्मचारीको तलब, उनीहरूको भत्ता र सुविधा, कार्यालय सञ्चालन खर्च, शोरुम शुल्क, गोदाम भाडा, विज्ञापन खर्च तथा बिक्री प्रवद्र्धन (सेल्स प्रोमोसन) मार्फत्को शुल्क २ लाख २८ हजार ४ सय ३३ रुपियाँ थप मुनाफा जोडिएको छ।

जिओ अटोमोबाइल्स प्रालिले ‘इको स्पोर्ट फोर्ड’ १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्यमा जम्मा लागत २२ लाख ५८ हजार २ सय ९२ रुपियाँ उल्लेख भएको देखिए पनि उक्त गाडी २४ लाख ८६ हजार ७ सय २५ रुपियाँमा बिक्री गरेको देखिन्छ। जुन रकम गाडीको वास्तविक मूल्यभन्दा २ लाख २८ हजार ४ सय ३२ रुपियाँ बढी हो।

कम्पनीले ग्राहकलाई छुट भनी दिइएको ३ लाख ३६ हजार २ सय ८३ रुपियाँ रकमसमेत जोड्दा उक्त गाडीको मूल्य २८ लाख रुपियाँभन्दा बढी पर्ने देखिन्छ। यसरी वास्तविक मूल्यभन्दा बढी मूल्य लिएर उक्त कम्पनीले उल्टै ग्राहकलाई छुटको भ्रम छर्दै आएको विभागले जनाएको छ।

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहर्याइने उल्लेख गरेको छ। तर, सो कम्पनीले भने विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ। ऐनअनुसार माल वस्तुको उत्पादक, आयातकर्ता वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुनेछ र जरीवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ। सोही ऐनले कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

गोल्छाले विभागलाई ढाँटे

काठमाडौं, (नेस)
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगीका विषयमा मुद्दा शुरू गरेपछि गतहप्ता कम्पनीका तर्फबाट लोकमान्य गोल्छा गाडीको मूल्यमा थपघट नगर्ने तथा ग्राहकबाट अतिरिक्त शुल्क नलिने भन्दै विभाग पुगेका थिए। तर, विभागले गोल्छालाई लिखित प्रतिबद्धता जनाउन भनेको थियो।

विभागलाई अतिरिक्त शुल्क नलिने विषयमा लिखित प्रतिबद्धता जनाएर गएका गोल्छा एकहप्ता बढी समय बित्दा पनि विभाग फर्किएका छैनन्। ‘हामीले उहाँलाई आगामी दिनमा यस्तो काम नगर्न लिखितरूपमा प्रतिबद्धता जाहेर गर्न भनेका थियौं तर उहाँ फर्किनु भएन’ –विभागका एक अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्