गायिका परियारलाई २ लाख रुपियाँ सहयोग



मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेकी गायिका जलजला परियारलाई नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले २ लाख रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ।
संघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा अस्पतालमा पुगेको टोलीले गायिका जलजलाकी आमालाई सो रकम हस्तान्तरण गरेको हो। श्रेष्ठले गायिका परियारको स्वास्थ्य स्थिति बुझ्दै अझै सकेको सहयोग गर्न तत्पर रहेको बताए। संघका कोषाध्यक्ष अशोक गिरीले गायिका परियारको मृगौलाले काम गर्न छाडेको अवस्थामा अहिलेसम्म कार्यसमितिबाट जम्मा भएको रकमलाई मात्र हस्तान्तरण गरेको बताए।

त्यसै गरी गुल्मी मदाने गाउँपालिकाका वसन्त कुँवरलाई पनि संघले ३५ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको छ। मृगौला फेल भएर शिक्षण अस्पतालमै उपचार गराइरहेका वसन्तलाई संघले बिनायोजना तत्काल ३५ हजार रुपियाँ सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्