एकीकृत नमुना सन्तपुर बस्ती हस्तान्तरण, १ सय ७ वर्षीया वृद्धादेखि ४७ परिवारलाई मिल्यो खुसी



सञ्जय कार्की, गौर, रौतहट

पक्की घरमा बस्छु भनेर कहिल्यै कल्पना नगरेकी चन्द्रपुर–८ सन्तपुरकी रामकलीदेवी माझी १ सय ७ वर्षको उमेरमा भने पक्की घरमा बस्ने भएकी छिन्।

बालापनदेखि वृद्धावस्थासम्मको जीवन झुपडीमै बिताएर परिवार गुमाएकी माझीलाई यो उमेरमा आएर पक्की घरमा बस्ने शौभाग्य मिलेको छ। उनी मंगलबारबाट पक्की घरमा सरिन्। उनलाई यो शौभाग्य हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस–सुन्तली फाउन्डेसनले जुराइदिएको हो।


माझी मात्र हैन, त्यस बस्तीका ४७ घरधुरी परिवारले मंगलबारबाट पक्की घरमा बस्ने अवसर पाए। टेलिभिजनको पर्दामा देखिन छाडेका धुर्मुस र सुन्तली गरिब, असहाय र विपन्नको मनमा बस्ने पुण्य कार्यमा लागेपछि रौतहटको सन्तपुरका पुस्तौंदेखि झुपडीमा बस्दै आएका मुसहर, चमार, साह, थारूलगायतले मंलबारदेखि दुईतले आधुनिक पक्की घरमा बस्न पाएका छन्। आफ्नो स्वामित्वमा जमिनसमेत नभएका कारण ऐलानी जमिनमा भए पनि बसोबास गरेका ती समुदायको जीविकोपार्जन भनेको दैनिक ज्यालादारी नै हो। स्वदेश र विदेशमा बस्ने मनकारीदाताहरूको सहयोगमा धुर्मुस–सुन्तलीले गत असोज २८ गतेदेखि निर्माण थालेको एकीकृत नमुना सन्तपुर बस्ती १ सय १४ दिनमा नै निर्माण सम्पन्न गर्न सफल भए। फिल्ममा देखाएझैं चमत्कारी हिसाबले त्यस क्षेत्रको बस्ती निर्माण सम्पन्न भएको छ।

१२ कट्ठा जमिनको क्षेत्रफलमा धुर्मुस–सुन्तली फाउन्डेसनले कम्पाउन्डवालसहित एक विद्यालय भवन, एक सामुदायिक भवन, एक क्लब घर, एक बाल उद्यान र पार्किङसहितको एक फलामको अग्लो भ्यु टावर तथा ४७ वटा पक्की घर निर्माण गरेको छ। सोभित्र साढे तीन धुर जमिनमा शौचालय र बाथरुमसहितको पक्की घर निर्माण भएको छ। बाटो, आँगन, खानेपानीको धारा, बिजुली सबै उक्त बस्तीको प्रत्येक घरमा छ। एउटा घरमा एक परिवार बस्छन्। प्रतिपरिवारमा ५ देखि ९ जना सदस्य छन्। वृद्धवृद्धा र ९२ जना बालबालिकासहित २ सय ८४ जना विपन्नले नमुना बस्तीको पक्की घरमा बस्ने अवसर पाएका हुन्।
उनीहरूले पक्की घर मात्र पाएका छैनन्, आनिबानी र संस्कारमा समेत परिवर्तन गरेका छन्। बाहिरबाट आएका मानिस हेरेर लजाउने, नबोल्ने, टाढा बस्ने बानी हटाएर सबैसँग बोल्ने, आफ्नो हक–अधिकारको कुरा गर्ने गर्न थालको बस्तीकी सुगान्धी पासवानले बताइन्।

सो बस्ती निर्माण गर्न ५ करोड ९५ लाख रुपियाँ लागेको जानकारी दिने क्रममा फाउन्डेसनले बस्ती निर्माणमा अझै ७० लाख रुपियाँ ऋण रहेको जानकारी गराएको छ। बस्ती निर्माण समितिका अध्यक्ष शतनारायण माझीले भने– ‘जीवनमा कल्पना गर्न नसकेको चिज प्राप्त गरेका छौं। धुर्मुस–सुन्तली हाम्रा लागि भगवान् हुन्।’ अहिले सो बस्तीका बालबालिका विद्यालय जान थालेका छन्। सधैं मदिरामा लठिने उनीहरू मदिरा पिउन छाडेर अनुशासित जीवनमा बाँधिएका छन्।

बस्ती निर्माण भएपछि मंगलबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बस्ती निर्माण समितिका अध्यक्ष शतनारायण माझीलाई साँचो हस्तान्तरण गरेकी छिन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले देशको उन्नतिका लागि सबै क्षेत्र वर्ग र समुदायको समान सन्तुलित विकास गर्न जरुरी रहेकोमा जोड दिइन्। उनले समाजिक र आर्थिक विकासले नै सुखी नेपाली र सम्वृद्ध नेपाल बनाउने संविधानको भावनालाई यो सुन्दर बस्तीले समेटेको बताइन्। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले सकारात्मक सोच लिएर अघि बढ्दा मानवीय सेवामा जुटिरहेको आफूलाई थाहा नभएको बताए। ‘यो खुसी हाम्रो मात्र नभई ३ करोड नेपालीको खुसीको क्षण र पल हो जस्तो हामीलाई लागेको छु –कट्टेलले भने।

बस्ती हस्तान्तरण कार्यक्रममा सहभागी हुन काडमाडौंबाट ठूलो संख्यामा कलाकर्मी तथा शुभचिन्तक रौतहट पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्