सुरुङ मार्ग घोषणामा मात्रै सीमित नहोस्



सरकारले सहज, छिटो र छरितो ढंगले सवारीसाधन सञ्चालन गर्नको लागि राजधानी काठमाडौंलगायतका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममा नै समावेश गरिए पनि अहिलेसम्म ती स्थानहरूमा सुरुङ मार्गको कामको शुरुवात हुन सकेको छैन । त्यसैले सुरुङ मार्गको काम घोषणामा नै सीमित हुने हो कि भन्ने लाग्नु स्वाभाविक नै हो ।

निर्माणको चरणमा सुरुङ मार्ग महँगो भए पनि दीर्घकालीनरूपमा सहज र सस्तो मानिन्छ । सोही योजनाअनुसार सरकारले राजधानी भित्रिने मुख्य नाकाहरूको विकल्पको रूपमा निर्माण गर्ने भनिएको सुरुङ मार्गको काम अगाडि बढाउनको लागि जाँगर देखाएको छैन । बजेट विनियोजन गरे पनि काम शुरु गर्नको लागि आलटाल र ढिलासुस्ती गर्दै आएको छ । सरकारले सस्तो लोकप्रियताको लागि विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्ने घोषणाले नागरिकहरू उत्साहित बने पनि घोषणा भएको वर्षौंसम्म काम अगाडि नबढ्दा निराशा छाएको छ ।

अहिले देशको केन्द्रीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुरुङ मार्ग निर्माण हुने विषयले लाखौं नागरिक खुशी भएका छन् । सुरुङ निर्माण तोकिएकै समयमा सम्पन्न भएको खण्डमा नागढुंगामा दैनिक घन्टौंसम्म हुने सवारी जामको समस्या हटनुको साथै राजधानी भित्रिने र बाहिरिने यात्रुहरूको लागि निकै सहज हुनेछ । अहिले विभिन्न जिल्लाका हजारौं सवारीसाधन मुख्य नाका नागढुंगाबाट राजधानी प्रवेश गर्ने गरेका छन् । यसको विकल्पको रूपमा हुन लागेको सुरुङ मार्गलाई निकै महत्वको साथ हेरिएको छ । सुरुङ मार्गको घोषणा हुने तर कार्यान्वयन नहुने पुरानो परम्परा पनि विद्ययमान नै छ । सुरुङ मार्ग पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सुरुङ मार्ग निर्माण गर्नु राम्रो प्रक्रिया हो । काभ्रे हुँदै विभिन्न जिल्लाबाट राजधानी भित्रिने सवारीसाधनलाई सहज बनाउनको लागि कोटेश्वर–जटीबुटी, साँगामा सुरुङ निर्माण गर्ने चर्चा पनि शुरु भएको छ । तर सुरुङ मार्ग निर्माणले बेलाबखतमा चर्चा पाउने र आफैं सेलाएर जाने गरेको छ । कोटेश्वरमा बढ्दो सवारी जामलाई सहज बनाउनको लागि यस आर्थिक वर्षमा नै सुरुङ निर्माण गर्ने घोषणा गरे पनि काम हुन सकेको छैन । कोटेश्वर हुँदै पेस्सीकोलासम्म सुरुङ मार्ग निर्माण गर्ने विषय पनि चर्चामा नआएको होइन । तर कहिलेसम्म निर्माण हुन्छ भन्ने कुरा अन्योलमा नै रहेको छ । राजधानी काठमाडौं–हेटौंडासम्मको सुरुङ मार्ग निर्माण कार्य पनि अहिले अलपत्र परेको छ । त्यसैले सुरुङ मार्ग निर्माणको घोषणासँगै कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्