पानीका मुहान सुक्न थालेपछि डोटीका स्थानीयलाई समस्या



फोटो क्याप्सनः धारामा पानीका लागि लाईन बसेका शिखरनगरपालिका २ सेरीका स्थानियहरु । तस्विर–विमल विष्ट/डोटी

विमल विष्ट, डोटी । डोटी जिल्लाका ग्रामिण क्षेत्रका गाउँपालिकाहरुमा पानीका मुहान सुक्न थालेपछि स्थानीय बासिन्दा खानेपानीको जोहो गर्न निकै समस्या भोगिरहेका छन् ।

खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका बिभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि स्थानीयमा खानेपानीका लागि हाहाकार हुने गरेको छ ।

वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि वर्षात् सकिएसँगै खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानिय बासिन्दा काकाकुल बन्ने अवस्था रहेको शिखर नगरपालिका–२ सेरीका स्थानिय गोरखबहादुर भुलले बताउनुभयो ।

यहाँको शिखर नगरपालिका अन्तर्गत सेरी, कपल्लेकी, गुम, केआईसिंह गाउपालिकाको कुलाउ, जमलकटिया, फन्डी, जोरायल गाउपालिकाको देउथला, अल्याडी, थली लगायतका दर्जनौं बस्तीमा खानेपानीका मुहान सुक्दै गएको स्थानीय बताउँछन् ।

पानीका मुहान सुक्न थालेपछि स्थानियबासीहरु पानीका लागि घण्टौ टाढाका पुराना पानीका मुहान धाउन थालेका छन् । अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् ।

त्यस्तै पानीका मुहान सुक्न थालेपछि यहाँको सबै भन्दा पुरानो दीपायल सिलगढी नगरपालिका स्थित राजपुर,सिलगढी तथा दीपायल पिपल्लामा पनि पानीको समस्या उत्पन्न भएको छ । पानीको अभाबका कारण यहाँका होटेल ब्यबसायीहरु सबै भन्दा बढी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्