दुई रुपियाँले करोडौं ठगी



हेटौंडा । हेटौंडाको हर्नामाडीमा सार्वजनिक सवारी चढ्नासाथ कति रुपियाँ तिर्नुपर्छ ? भिन्न भिन्न ठाउँ जानेले सजिलै उत्तर दिन्छन्–४० रुपियाँ । उक्त रुटमा गाडी सञ्चालन गर्दै आएको नारायणी यातायात व्यवसायी संघले तोकेको भाडादर हेटौंडा–हर्नामाडीसम्म ३८ रुपियाँमात्र हो ।

हर्नामाडीको यो त उदाहरणमात्र हो । हेटौंडा बजारबाट मकवानपुरका कुनाकुना जान घोषित र अघोषित गरी करिब १० वटा ‘बसपार्क’ छन् । दैनिक करिब ५ हजार यात्रु सार्वजनिक बसमा आवतजावत गर्छन् । र, एक/एक गरी दिनहुँ ठगिने गरेका छन् ।

दुई रुपियाँका दरले ठगिएका यात्रुको आउँदाजाँदा ५ हजारको दोब्बर गर्दा दैनिक भाडामा करिब ४० हजार रुपियाँभन्दा बढी ठगी हुन्छ । यसले वर्षमा करिब १ करोड ६० लाख ठगी हुने गरेको देखिन्छ ।

सबै सार्वजनिक सवारीले न्यूनतम भाडा ताकेका भने छन् । तर, २२ रुपियाँ तोकिएकोमा २५ लिने, २८ तोकिएकोमा ३० रुपियाँ लिने र ३८ रुपियाँ तोकिएकोमा ४० रुपियाँ असुलिरहेका छन् ।

कसैले पैसा फिर्ता मागे बसका सहचालकसँग रेडिमेड जवाफ हुन्छ– खुद्रा पैसा छैन । मकवानपुरका विभिन्न भागमा चल्ने ८५ प्रतिशत बसले यसरी तोकिएभन्दा बढी भाडा लिइरहेको सर्वसाधारण यात्रीको गुनासो छ ।

धेरैजसो यात्रु खुद्रा पैसा बोक्दैनन् । २२ रुपियाँ भाडा तोकिएको रुटमा गाडी चढ्दा सहचालक २५ रुपियाँ नै लिन्छन् । फिर्ता गर्ने चासो त परै जाओस्, फिर्ता नै दिँदैनन् । यसो गर्दा खुद्रा पैसा नभएको बहानामा व्यवसायीलाई लुट्ने मेलो बनेको छ ।

प्रायः यात्रु दुई रुपियाँमा किन विवाद झिक्नु भन्ने मानसिकतामा हुन्छन् । ४३ रुपियाँ भाडा भएको रुटमा ४५ रुपियाँ दिँदा दुई रुपियाँ फिर्ता पाइने सम्भावना शून्य रहन्छ । हेटौंडादेखि गढी गाउँपालिकाका लागि बस चढेका एक यात्रु भन्छन्–दुई रुपियाँमा किन झगडा गर्नु, खाऊन् ।

उपभोक्ताको यही सोचाइका कारण दैनिकी करिब ४० हजार रुपियाँभन्दा बढी ठगी हुँदै आएको छ । उपभोक्तालाई एउटा बस चढ्दा दुई रुपियाँ बढी दिनु सामान्य लाग्नसक्छ । व्यवसायीलाई भने सबै यात्रुसँग दुई रुपियाँ बढी उठाउँदा समग्रमा ठूलो ‘आम्दानी’ हुन्छ, जसलाई उपभोक्ताले खासै ध्यानपूर्वक लिएका हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्