तलब नपाएपछि शिक्षकहरुद्वारा सामूहिक राजीनामा



हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा–६ मा रहेको जनस्थापित रत्न आधारभुत विद्यालय छतिवन, झोलखानीका शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामापश्चात् पठनपाठनमा समस्या उत्पन्न भएको छ ।

२०६३ सालमा स्थापित विद्यालयमा ८ महिनादेखि तलबभत्ता नपाएको भन्दै शिक्षकहरुले राजीनामा दिएका हुन् । निजी स्रोतबाट नियुक्त गरिएका ३ शिक्षकले बिगतमा सामुदायिक बन तथा चन्दा संकलनबाट तलब लिँदै आएका थिए ।

उनीहरुले हाल विद्यालय ब्यवस्थापनले स्रोत खोज्दासमेत नसकेपछि तलब लिन पाएका थिएनन् । चन्दा र सहयोगीमा भर पर्नु बाध्यता रहेको प्रधानाध्यापक सुरेन्द्र मोक्तानले बताउनुभयो । विद्यालयमा मोक्तानमात्र स्थायी शिक्षक हुन् ।

जिल्ला शिक्षा कार्यालयले विद्यालयमा ईसीडी कक्षासमेत उपलब्ध गराएको छैन । सरकारी विद्यालय भएर पनि विद्यालयप्रति जिल्ला शिक्षा कार्यालयलगायत सरोकारवालाको नजर नपुग्नु चिन्ताको विषय भएको अभिभावक नरबहादुर स्यांतानले बताउनुभयो ।

विद्यालय ५ कक्षासम्म सञ्चालनमा छ भने शिक्षक १ जनामात्र । मोक्तानले गाउँपालिकालगायत केही सरोकारवाला निकायले सहयोग गरे विद्यालयमा केही सहजता आउने र विद्यालय बन्द नहुने बताउनुभयो । विद्यालयमा भर्ना भएका विद्यार्थी ८१ छन्, जसमा छात्राको संख्या ३५ छ ।

प्रतिक्रिया दिनुहोस्