एकीकृत नमूना बस्ती हस्तान्तरण



सञ्जय कार्की, गौर,रौतहट । पक्कि घरमा बस्छु भनेर कहिल्यै कल्पना नगरेकी चन्द्रपुर–८ सन्तपुर की रामकली देवी माझीले जीबनको १०७ बर्षको उमेरमा भने पक्कि घरमा बस्ने भएकी छिन ।

बालापनदेखि बृद्धावस्थासम्मको जीवन झुपडीमै बिताएर परिबार गुमाएकी माझी लाई भने पक्कि घरमा बस्ने शौभाग्य मिलेको छ । उनी मङ्गलबार बाट पक्कि घरमा सर्दैछिन । उनलाई यो शौभाग्य हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले जुराईदिएको हो ।

माझी मात्र हैन त्यस बस्तिका ४७ घरधुरी परिबारका बासिन्दा पक्कि घरमा बस्दैछन । टेलिभिजनको पर्दामा देखिन छाडेका धुर्मुस र सुन्तली भने गरिब, असहाय र बिपन्नको मनमा बस्ने पुण्य कार्यमा लागेपछि रौतहटको चन्द्रपुर–८ सन्तपुरका पुस्तौ देखि झुपडीमा बस्दै आएका मुसहर, चमार, साह, थारुहरुले मङ्गलबार देखि दुई तल्ले आधुनिक पक्कि घरमा बस्न पाएका छन । आफनो स्वामित्वमा जमिन समेत छैन तर ऐलानी भएपनि बसोबास गरेका ती समुदायको जीबिकोपार्जन भनेको दैनिक ज्यालादारीनै हो ।

स्वदेश र बिदेशमा बस्ने मनकारीदाताहरुको सहयोगमा गत असोज २८ गते देखि निर्माण थालेका चन्द्रपुर–८को एकिकृत नमुना सन्तपुर बस्ति ११४ दिनमानै निर्माण सम्पन्न गर्न सफल भएका हुन । टेलिचलचित्रमा देखाएझै चमत्कारी हिसाबले त्यसक्षेत्रको बस्ति निर्माण सम्पन्न भएको छ ।

१२ कटठा जमिनको क्षेत्रफलमा धुर्मुस–सुन्तली फाउण्डेशनले कम्पाउण्डवाल सहित एउटा विद्यालय भवन, एउटा सामुदायिक भबन, एउटा क्लव घर, एउटा बाल उद्यान र पार्किङ्ग सहितको एउटा फलामको अग्लो भ्यू टावर र ४७ वटा पक्कि घर निर्माण गरेका छन । सो भित्र साढे तीन धुर जमिनमा शौचालय र बाथरुम सहितको पक्कि घर निर्माण भएको छ । बाटो, आगन, खानेपानीको धारा, बिजुली सबै उक्त बस्तिको प्रत्येक घरमा रहेको छ । एउटा घरमा एक परिवार बस्छन् ।

प्रति परिवारमा ५ देखि ९ जना सदस्य छन । बृद्धबृद्धा र ९२ जना बालबालिकासहित २ सय ८४ जना विपन्न गरीबले नमुना बस्तीको पक्कि घरमा बस्ने भएका हुन । उनीहरुले पक्कि घर मात्र पाएका हैनन आनिबानी र संस्कारमा समेत परिवर्तन गरेका छन बाहिर बाट आएका मानिस हेरेर लजाउने, नबोल्ने, टाढा बस्ने बानी हटाएर सबैसंग बोल्ने, आफनो हकअधिकारको कुरा गर्न थालेका छन बस्तीकी सुगान्धी पासवानले बताउनु भयो । सो बस्ति निर्माण गर्न ५ करोड ९५ लाख रुपैया लागेको जानकारी दिने क्रममा बस्ति निर्माणमा अझै ७० लाख रुपैया ऋण रहेको जानकारी गराइएको छ ।

बस्ति निर्माण समितिका अध्यक्ष सतनारायण माझीले भने जीबनमा कल्पना गर्न नसकेको चीज प्राप्त गरेका छौ । धुर्मुस सुन्तली हाम्रा लागि भगवान हुन । अहिले सो बस्तिका बालबालिका बिद्यालय जान थालेका छन । सधै मदिरामा लठिने उनीहरुले मदिरा पिउन छाडेर अनुशाशित जीबनमा बाधिएका छन ।

बस्ति निर्माण भएपछि मङ्गलबार एक समारोहका बीच राष्ट्रपति बिद्यादेबी भण्डारीले बस्ति निर्माण समितिका अध्यक्ष सतनारायण माझी लाई साचो हस्तान्तरण गर्नु भएको छ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले देशको उन्नतीको लागि सबै क्षेत्र बर्ग र समुदायको समान सन्तुुलित बिकास गर्न जरुरी रहेको बताउनुभयो ।

उहाले समाजिक, आर्थीक, बिकासलेनै सुखि नेपाली र सम्बृद्ध नेपाल बनाउने संबिधानको भाबना लाई यो सुन्दर बस्तिले समेटेको बताउनु भयो । सो कार्यक्रममा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले सकारात्मक सोच लिएर अघि बढदा मानबीय सेबामा जुटिरहेको आफुलाई थाहा नभएको बताउनु भयो । यो खुशी हाम्रो मात्र नभई ३ करोड नेपालीको खुशीको क्षण र पल हो जस्तो आफुलाई लागेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्