मण्डन देउपुर नगरपालिकामा हिउँदे सभा



मोतीराम तिमल्सिना, काभ्रे । स्थानीय सरकारहरु अलमलिएको गुनासो आईरहेका बेला जिल्लाको मण्डन देउपुर नगरपालिकाले हिउँदे सभा सम्पन्न गरी ऐन १० वटा ऐनहरु पास गरेको छ । त्यस्तै नगर सभाले नियमावली निर्देशिका तथा कार्यविधीहरु समेत पास गरेको छ ।
हिउँदे नगर सभाले पास गरेका निर्णयहरु सार्वजनिक गर्दै नगर प्रमुख टोकबहादुर वाईवाले तत्काल आवश्यक पर्ने ऐन, नियमावली निर्देशिका र कार्याविधिहरु पास गरेको जानकारी दिए ।

त्यस्तै संविधान अनुसार गठन गर्नु पर्ने न्यायिक समिति उपप्रमुख निर्मला शाहिको संयोजकत्वमा गठन गरेको छ । समितिमा रुद्रबहादुर तामाङ र चमेली सार्की नेपाली सदस्य रहेका छन् । बैठकले सहकारी ऐन, आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, स्वास्थ्य तथा सरसफाई ऐन, कृषि व्यवसाय प्रर्बधन ऐन, स्थानीय सेवा ऐन, खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, शिक्षा ऐन, पूर्वाधार व्यवस्थापन ऐन, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र प्रमाणिकरण ऐन पारित भएका छन् ।

नगर प्रमुख वाईवाले प्रथम नगर सभाबाट आर्थिक ऐन र विनियोजन ऐन निर्माण गरेको जानकारी दिए । नगर सभा संचालनका लागि बैठक संचालन कार्यविधी, कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, सभा संचालन कार्यविधी, शिक्षा नियमावली, आधारभुत तह (कक्षा ८) अन्तिम परिक्षा संचालन कार्यविधी, बजार अनुगमन निर्देशिका, एफएम रेडियो कार्यविधी, व्यवसाय दर्ता नविकरण र नियमन कार्यविधी, फोहोरमैला व्यवस्थापन कार्यविधी, विपद् व्यवस्थापन कार्यविधी, संघसंस्था समन्वय तथा नियमन कार्यविध र योजना तथा बजेट तर्जुमा दिग्दर्शन पारित गरेको छ । माघ १७, १८, १९ गते नगरपालिकाको कार्यालय महादेवस्थानमा दोस्रो नगरसभा (हिउँदे अधिवेशन) सम्पन्न गरेको हो ।

मण्डन देउपुर नगरपालिकामा र सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाँउपालिका र चौतारा साँगागढी नगरपालिका भएर बग्ने ईन्द्रावती नदीले बर्षैपिच्छे वहाव परिर्वतन गर्ने गरेकाले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका खेतीयोग्य जमिनलाई विनास गरेको भन्दै एकातिर खेतियोग्य जमिन क्षती पुगेको छ भने अर्काे तिर काभ्रेका किसानले बहावको कारण सिन्धुपाल्चोकमा पुग्नुपर्ने र सिन्धुपाल्चोक जिल्लाका किसान काभ्रेमा आउन समस्या भएको छ । त्यहि समस्या समाधानका लागि नदीको सिंमाकन गर्ने निर्णय गरेको छ ।

सभाले बडा कार्यालयवाट संकलन हुने राजस्व हरेक १५÷१५ दिनमा नगर संचित कोषमा जम्मा गर्ने तथा नगरमा मापदण्ड विपरित बनेका संरचनाहरु निर्माण गर्ने सेवाग्राहीलाई नगरले दिने सेवा सुविधा रोक्का गर्ने लगायत निर्णय गरेको नगर प्रमुख वाईवाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत भिमकान्त शर्मा, नगरपालिकाका प्रमुख सल्लाहकार गोकुल गौतम लगायतले नगरपालिकाले लिएका नीतिहरुका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्