४०० वर्ष पछि गोरखा दरबार भत्काइयो



सन्तोष अधिकारी, गोरखा । गोरखा दरबारको पुर्ननिर्माण सुरु भएको छ । भूकम्पले ध्वस्त ऐतिहासिक गोरखा दरबारको पुर्ननिर्माणको लागि जग नै भत्काउन थालिएको हो । १९९० को भूकम्पले समेत क्षति नपुगेको दरबारमा २०७२ वैशाखको भूकम्पले जगैसम्म भत्काएको थियो ।

गोरखा दरबार निर्माण भएको ३ सय ८८ वर्ष पछि पुननिर्माणको लागि जग भत्काइएको हो । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार २०७२ को भूकम्पले क्षति पु¥याएपछि पुर्ननिर्माण गर्न जगैसम्म भत्काईएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए ।

‘अहिले पुराना सामाग्रीहरु हटाउने काम भइरहेको छ’ उनले भने ‘पुरातत्व विभागको नियमित निगरानीमा मुल दरबार भत्काइयो । अब पुर्ननिर्माणको लागि साइत हेरेर जग हाल्ने तयारी छ ।’ ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणको जिम्मा पचलीशिभा जेभी कम्पनीले ४ करोड ३७ लाख रुपैँमा पाएको छ । भूकम्पको कारणले मुलदरबार, गोरखनाथ गुफा, लक्ष्मी मन्दिर, रोट पकाउने ठाउँ सबै ध्वस्त भएको थियो । भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर अन्यत्र र नजिकै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो ।

पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माणका लागि सुरक्षित स्थलमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । जगैसम्म भत्काउने क्रममा विसं. १८६३ अभिलेख भएका बुट्टेदार इँटाहरूसमेत भेटिएका छन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० जना राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ ।

केहि प्राविधिकहरुले दरबारको जग भूकम्पको कारणले कमजोर रहेको समेत बताएको भूसालले जानकारी दिए । ‘प्राविधिकका अनुसार दरबारको नयाँ जग हाल्ने क्षेत्र भूकम्पको कारणले कमजोर भएको अनुमान छ’ उनले भने, ‘थप विज्ञ टोली झिकाएर सुझाव लिएपछि मात्रै काम अघि बढाउँछौं ।’ साँढे दुई वर्ष भित्र गोरखा दरबार पुरानैशैलीमा पुननिर्माण सक्नेगरी ठेक्का सम्झौता भएको हो ।

दरबार भत्काए पनि यहाँ हुने नियमित पूजा भने नरोक्ने दरबार हेरचाह अड्डाले जनाएको छ । ‘यहाँ हुने काली लगायत भगवानको पुजा भने रोकिने छ’, दरबार हेरचाह अड्डाका सुब्बा रामेश्वर कट्टेलले भने ‘निर्माणको कामले सामान्य पुजाहरुमा असर त पर्ने नै भयो तर, पुजा नै रोकिने भन्ने हुँदैन ।’ नयाँ दरबार बनाउँदा प्रयोग गर्न मिल्ने झिँगटी, काठ, इँटा लगायतका सामग्रीहरु सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिए । गोरखा दरबार भत्काउन मात्र दुई महिना समय लागेको हो । भूकम्पले ध्वस्त पारेको दरबार परिसर भित्रका राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोटपाटी र दमै पाटी मर्मत गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्