चिसोलाई छल्दै पहिरनको फेसन शो



माघको चिसोलाई छल्दै दुई दर्जन मोडल आकर्षक र पारदर्शी फेसनमा र्याम्पमा उत्रिएका छन्। नयाँ डिजाइनका फेसनलाई प्रोत्साहन गर्ने उद्देश्यले दरबारमार्गको आई क्लबले आयोजना गर्दै आएको फेसन मेनियाको १८औं शृंखलामा यसपटक विभिन्न सिक्लेन्सका पहिरनका साथ मोडलहरूले र्याम्पको फन्को मारे।

फेसन मोनियामा काजल क्रियसनका डिजाइनर काजल शर्माले तयार पारेको विभिन्न शैलीका डिजाइन विभिन्न मोडलले बिरालोको चाल मार्दै प्रस्तुत गरेका थिए। काजलले नजिकिँदो गर्मीलाई लक्षित गर्दै तयार पारेको इभिनिङ गाउनको प्रस्तुतिसँगै फेसन शोको शुरुआत भएको थियो। त्यसपछि उनकै डिजाइनमा तयार पारिएको जिपर सारी र जिपर चोलोमा सजिएर मोडलहरू अर्को सिक्वेन्समा प्रस्तुत भएका थिए। काजलले तयार गरेको विभिन्न डिजाइनका लेहेंगालाई पनि मोडलले बिरालोको चाल मार्दै र्याम्पमा प्रस्तुत गरेका थिए।

चिसो मौसमलाई लक्षित गर्दै ओभरकोट, विन्टर गाउन, गर्मीलाई लक्षित गरी तयार पारिएको वान पिस जस्ता पहिरन पनि फेसन शोको अर्को आकर्षण बन्न पुगेको थियो। बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको फेसन शोको कारियोग्राफी धिरज तण्डुकारले गरेका थिए।

र्याम्पमा एन्जिला भेटवाल, पुनम भण्डारी, प्रसिमा बुढाथोकी, विशाखा पाण्डे, सन्ध्या कोइराला, प्रेमा भुजेल, सिम्रन शाक्य, वर्षा श्रेष्ठ, मीरा लामा, सोफी कार्की, पूजा गिरी, ममता बस्नेत, प्रवीणा थापा, श्रद्धा सुवेदी, रोशनी ऐरे, रुक्सना श्रेष्ठ, सुष्मा भट्टराईलगायतका मोडलले बिरालोको चाल मार्दै विभिन्न पहिरन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्