ठेकेदार–जनप्रतिनिधिको लुट



प्यूठानका जनप्रतिनिधिले स्थानीय निकायको धेरै भन्दा धेरै रकम बाटोमा खन्याएको समाचार न्यूज अफ नेपालमा पढ्ने अवसर पाएँ। आफैं ठेकेदार रहेका जनप्रतिनिधिले जिल्लाका नौवटै स्थानीय तहमा विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणमा छुट्याइएको कुरा समाचारमा उल्लेख भएको रहेछ। प्यूठानका पत्रकार सलिम अन्सारीले उठाउनुभएको यो यथार्थले नेपालका अधिकांश लुट मच्चाउने जनप्रतिनिधिको प्रतिनिधित्व गर्छ। साबिकको जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत विनियोजित बजेटसमेत बाटोमै खन्याएर आफ्ना निर्माण सामग्री काममा लगाएकाहरूलाई जनताले के भन्ने ? विकास कि विकासको नाममा आफ्नो रोजीरोटी चलाउने भन्ने ?

जनप्रतिनिधिले नै बजेट विनियोजन गर्न पाएपछि प्राथमिकतामा सडकमा परेको छ। केही जनप्रतिनिधि आफैं ठेकेदार भएकाले उनीहरूले सडक निर्माणमा मात्रै बजेट खन्याउन चलखेल गर्दै आएउनुले पनि राम्रो सन्देश दिँदैन। आफ्नो डोजरलगायतका मेसिनरी सामान प्रयोग गराउन जनप्रतिनिधिले बाटामै पैसा खन्याउने गरेका छन्। वास्तवमै यहाँ बाटोकै लागि डोजर किनेका पनि छन्। त्यसैलाई काम दिन बाटोमा पैसा हालेका छन्। काम राम्रो हुँदैन। पैसा मात्रै सक्ने खेल भएको छ। हामीले कर तिरेको पैसा विकासको नाममा लुट भएको छ।

नयाँ ट्रयाक निर्माण गर्न मापदण्ड बनाए पनि केही गाउँपालिकाले हेलचेक्र्याइँ गरेको पाइएको छ। हिउँदमा निर्माण गरिएका धेरैजसो सडक वर्षातमा हराउने गरेका छन्। स्थानीय जनप्रतिनिधिले राम्रो मापदण्ड बनाएर नयाँ सडक निर्माण गर्नतर्फ ध्यान दिनुपर्ने स्थानीयको माग छ। भूक्षय, बाढीपहिरोजस्ता समस्या निम्तिन नदिन सरोकारवाला पक्षले विशेष भूमिका निर्वाह गर्नु आवश्यक रहेको स्थानीय बताउँछन्। उनीहरू भन्छन्– ‘यहाँ हिउँदमा बनाएको बाटो बर्खामा हराउँछ, हामीले धेरै बाटो खाजेको हाइन तर टिक्ने बनाउनुपर्छ।’ यसकारण पनि जनताले खबरदारी गरिरहनु जरुरी छ।
– गीरबहादुर केसी, प्यूठान

औपचारिकतामा विश्व क्यान्सर दिवस
माघ २१ गते अर्थात् फेब्रुअरी ४ मा विभिन्न सचेतनासम्बन्धी कार्यक्रम गरी विश्व क्यान्सर दिवस नेपालमा पनि औपचारिक कार्यक्रम गरेर मनाइएको छ। क्यान्सरबारे जतिसुकै सचेतना कार्यक्रमहरू हुँदै आए पनि क्यान्सर रोगको प्रकोप झन् बढ्दै गएको पाइन्छ। नेपालमा क्यान्सर रोग कसरी बढिरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे सरोकारवाला निकाय गम्भीर देखिएका छैनन्। वर्षको एकपल्ट औपचारिकरूपमा मात्रै मनाएर क्यान्सर रोग रोकथाम र नियन्त्रण गर्न सकिँदैन। क्यान्सरबारे पर्याप्त अध्ययन र अनुसन्धान पनि हुन जरुरी देखिन्छ।

दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर विशेषज्ञले बताउँदै आएका छन्। तर क्यान्सर रोग किन बढिरहेको छ र यसको रोकथाम कसरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा भने विज्ञहरूले ठोस अनुसन्धान गर्न सकेको पाइँदैन। बीपी मेमोरियल क्यान्सर अस्पतालमा मात्रै बर्सेनि एक लाखभन्दा बढीको संख्यामा क्यान्सरका बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क भेटिन्छ। यसबाहेक, सरकारीस्तरमा वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल तथा निजीस्तरमा नेसनल क्यान्सर अस्पताल, जावलाखेल र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा समेत क्यान्सरको उपचार हुने गर्दछ। नेपालका सबै अस्पतालमा गरी दुई लाखभन्दा बढीको संख्यामा बर्सेनि क्यान्सरका बिरामीले उपचार गर्दै आएको पाइन्छ।

चिकित्सकका अनुसार क्यान्सर निको हुने र नहुने भन्ने कुरा कुन अंगको, कुन चरणको र कस्तो किसिमको भन्नेमा निर्भर रहन्छ। शुरूमै पहिचान हुन सके क्यान्सरको उपचार सम्भव हुनसक्छ। बहुआयामिक उपचारले कतिपय क्यान्सर पूरै निको नभए पनि बिरामीको आयु लम्ब्याउन सकिन्छ। क्यान्सर रोगबारे जतिसुकै उपचार सेवा विस्तार हुँदै गए पनि यसबारे जनविश्वास भने बढ्न सकेको छैन। नेपालमै उपचार गरेर निको भएका दृष्टान्त सार्वजनिक हुन नसक्दा क्यान्सरलाई निको नहुने असाध्य रोगका रूपमा बुझ्ने गरिन्छ।

नेपालमा क्यान्सर भएकामध्ये ६० प्रतिशतको उपचार बीपी मेमोरियल क्यान्सर अस्पतालमै हुने बताइन्छ। तर, आधुनिक उपकरण बिग्रिने र अत्यावश्यक नयाँ उपकरणहरू थप नहुने कारण बिरामीले सास्ती पाइरहेका छन्। क्यान्सर उपचार सेवालाई थप प्रभावकारी र विश्वासिलो बनाउन नसक्दा जनविश्वास गुम्दै गएको छ भने दक्षिण एसियाकै नमुना अस्पताल आफैं क्यान्सरग्रस्त बन्न पुगेको छ। क्यान्सरबारे जनचेतना जगाउन सके समयमै पहिचान भएका अधिकांश क्यान्सर रोगको उपचार सम्भव हुन सक्छ। तर, समयमै परीक्षणका लागि सरोकारवाला निकायबीच नै सहकार्य र समन्वय हुन सकेको छैन।

सरोकारवाला निकाय जतिसुकै गम्भीर भएको देखिए पनि फेब्रुअरी ४ मा क्यान्सरविरुद्ध जागरण गर्नेबाहेक खास उपलब्धि केही देखिँदैन। वर्षको एकदिन दिवस मनाएर मात्रै क्यान्सरप्रति सचेतना जाग्दैन। वडा तहदेखि नै क्यान्सर रोकथामका कार्यक्रमहरू सञ्चालन हुनु अत्यावश्यक भइसकेको छ। जतिसुकै गुणस्तरीय सेवा प्रदान गरिए पनि गरिब जनताको पहुँच पुगेन भने त्यो उपलब्धिमूलक हुँदैन। संविधानमा आधारभूत स्वास्थ्यलाई जनताको अधिकार भनिएको छ। क्यान्सरका कतिपय विषयहरू आधारभूत स्वास्थ्यअन्तर्गत नै पर्दछन्। हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म क्यान्सरका बिरामी बढिरहेका छन्। सुर्तीजन्य पदार्थ नियन्त्रण, धूलो–धुवाँरहित वातावरण, विषादीरहित तरकारीको सेवन, जंकफुडको प्रयोग कम गर्न सकिए क्यान्सरबाट बच्न सकिन्छ। क्यान्सरको रोकथामको पहिलो र सबैभन्दा उत्तम उपाय नै जनचेतना हो। स्वस्थ जीवनशैली अपनाउन सके हामी सहजै रोगविरुद्ध लड्न सक्ने भएकाले हरेक व्यक्ति क्यान्सरबारे सतर्क हुनु जरुरी देखिन्छ। यो विषयमा सम्बन्धित निकाय जिम्मेवार र गम्भीर हुन जरुरी देखिएको छ।
– ईश्वर सुनार, काठमाडौं

प्रतिक्रिया दिनुहोस्