संसारकै पहिलो संरक्षित रानीवन, न प्रचार न संरक्षण



टीका बन्धन, काठमाडौं

संसारकै पहिलो उद्यानका रूपमा अमेरिकाको एल्लो स्टोन नेसनल पार्क विश्वमा कहलिएको छ। सो पार्कभन्दा अगाडि नै संरक्षित क्षेत्र स्थापना भएको हुन सक्ने भनिएको काठमाडौंको रानीवन भने ओझेलमा परेको छ।

एल्लो स्टोन पार्क सन् १८७२ मा स्थापना भएको हो भने त्यसभन्दा ३ वर्षअघि अर्थात् विसं १९२६ (सन् १८६९) मा रानीवन संरक्षित क्षेत्र घोषणा भइसकेको थियो। तत्कालीन राजा सुरेन्द्रवीरविक्रम शाहको कार्यकालमा काठमाडौं उपत्यका आसपासका वनमध्येमा सर्वोत्कृष्ट कहलिएको रानीवन संरक्षित क्षेत्र घोषणा गरिएको थियो।

पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणा युरोप र बेलायत भ्रमणबाट फर्किएपछि नार्गाजुन क्षेत्रलाई वरिपरि पर्खालले घेर्न लगाएर ४ दिशामा चारवटा ढोकासमेत स्थापना गर्न लगाएको बताइन्छ। पूर्वमा बालाजुको उत्तरी काख मुड्खु ढोका, उत्तर–पश्चिममा धादिङको छत्रे देउरालीको सानागाउँ, स्वयम्भूको उत्तर र रानीवन परिसरमा प्रवेशद्वार निर्माण गरिएको जानकारहरू बताउँछन्।

त्यो बेलाका चारवटै ढोकामा स्थापित छुट्टाछुट्टै शिलालेखले सो वन संरक्षित क्षेत्र घोषणा भएको पुष्टि गर्छ। नार्गाजुनको पश्चिमतर्फ (हालको ऐनडाँडा) बसेर जंगबहादुरले संरक्षणसम्बन्धी ऐननियम तयार गरेको प्रसंग ‘नागार्जुन’ नामक पुस्तकमा उल्लेख गरिएको छ। सोही पुस्तकमा उल्लेख भएअनुसार संरक्षित क्षेत्रका प्रभावित परिवारलाई जितपुर र तारकेश्वरमा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाएको थियो।

हालको नागार्जुन दरबार परिसरमा भेटिएको शिलालेखमा ३८ भन्दा बढी विषयका अपराध तथा सजायबारे प्रस्ट उल्लेख गरिएको छ। जीवजन्तु तथा पन्छीको शिकार गर्न नपाइने, वनस्पति, रूख, बुट्यान र दाउरा काट्न, टिप्न र संकलन गर्न नपाइनेलगायतका बेहोरा शिलालेखमा उल्लेख गरिएको छ। केराको थाम काटेबापत ४ रुपियाँ र जरायो मारेबापत २ सय ५० रुपियाँ जरिवाना तोकिएको छ।

सो बेला एक दिनको श्रम मूल्य १६ पैसा तोकिएको अवस्थाको वन्यजन्तु र वनस्पति अपराधको सजाय निकै कठोर रहेको सहजै अनुमान गर्न सकिने संरक्षणकर्मी बताउँछन्। रानीवन संसारकै पहिलो संरक्षित वन भए पनि यसबारेमा आवश्यक प्रचार–प्रसार हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीका महानिर्देशक मनबहादुर खड्का स्वीर्कानुहुन्छ। ‘वन्यजन्तुको संरक्षण गरिनुपर्छ भन्ने पहल त्यो बेला नै भएको थियो, प्रमाण पनि भेटिएका छन्, तर रानीवनको विषय र संरक्षण पहलबारे जुन ढंगले प्रचार–प्रसार गरिनुपर्ने हो, त्यो हुन सकेको छैन।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

तर सो क्षेत्रको ऐतिहासिक पक्ष र महत्त्व बुझेर नै सरकारले रानीवनलाई राष्ट्रिय निकुञ्जभित्र समेटेको उहाँको भनाइ छ। सो क्षेत्र हाल शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र समेटेएको छ। २०५८ सालमा स्थापना भएको यो निकुञ्जमा नागार्जुन क्षेत्रको १५ वर्ग किलोमिटर क्षेत्रफलसमेत समेटिएपछि २०६५मा शिवपुरी–नागार्जुन निकुञ्ज घोषणा भएको थियो। राजधानीसँगै जोडिएको यो निकुञ्जको कुल क्षेत्रफल १ सय ५९ वर्ग किलोमिटर रहेको छ।

संरक्षणको विषयलाई महत्त्व दिएर शिलालेखसमेत स्थापना गरिएको रानीवन मुलुकभित्रको पहिलो वन भएको पुरातत्त्व विभागले समेत पुष्टि गरेको छ। रानीवनसम्बन्धी ऐतिहासिक पृष्ठभूमि र शिलालेख जोगाउन राजा ज्ञानेन्द्र राष्ट्रप्रमुख भएपछि शिलालेखकै आकार र उचाइमा तस्वीर तयार गर्न लगाउनुभएको विभागका प्रमुख पुरातत्त्व अधिकृत श्यामसुन्दर राजवंशी स्मरण गर्नुहुन्छ।

नार्गाजुन क्षेत्रको १४ वर्ग किलोमिटर क्षेत्रलाई सिमाना तोकेर फरक–फरक ठाउँमा ४ वटा शिलालेख राखिएको शिवपुरी निकुञ्जका पूर्ववार्डेन एवम् हाल वन्यजन्तु विभागका सूचना अधिकारी नारायण रूपाखेती बताउनुहुन्छ। ‘संरक्षण अभावकै कारणले होला ३ वटा शिलालेख मात्रै भेटिएका छन्, अहिले जेजति प्रमाण भेटिएका छन्, सबैलाई सुरक्षित गरिनुपर्छ’, उहाँले भन्नुभयो– ‘रानीवनको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत खोज अनुसन्धान हुनुपर्छ।’ यो क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पहल अघि बढाइनुपर्ने उहाँको तर्क छ।

प्रतिक्रिया दिनुहोस्