विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरण आक्रामक



हेमन्त जोशी, काठमाडौं

नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्र हुने विद्युत् चोरी नियन्त्रणलाई प्रँथमिकताका साथ अगाडि बढाएको छ। चोरी नियन्त्रणमा स्थानीयले सहयोग नगरे विद्युत् कटौती (ब्ल्याक आउट) नै गर्ने भन्दै स्थानीय प्रशासनसँग मिलेर चोरी न्यूनीकरणका लागि प्राधिकरणले आक्रमक शैली अपनाएको हो।

जिल्ला प्रशासन, प्रहरी, तथा राजनीतिक दलका प्रतिनिधिको रोहबरमा ललितपुर र भक्तपुर जिल्लाका अधिकांश ठाउँमा चोरी न्यूनीकरणका लागि प्राधिकरण लागिपरेको छ। प्रँधिकरणका प्रवक्ता प्रवल अधिकारीले विद्युत् चुहावट नियन्त्रण र विद्युत् चोरी अन्त्यका लागि कर्मचारीलाई केन्द्रले स्पष्ट निर्देशन दिइसकेको बताउनुभयो। निर्देशन लागू गर्नका लागि कुनै पनि कसरका बाँकी नराख्न कर्मचारीलाई निर्देशन दिइएको अधिकारीको भनाइ छ। उहाँले भन्नुभयो–‘कर्मचारीलाई यस कार्यमा तदारुकताका साथ लागे नलागेको आधारमा उनीहरूको मूल्यांकन हुनेछ। अहिले कर्मचारी मूल्यांकनको प्रमुख आधार नै विद्युत् चोरी नियन्त्रण हो।’

प्रँधिकरणले ऋणात्मक सहनशीलताको सिद्धान्तअनुसार विद्युत् चोरीको क्षेत्रमा देखिएको संरक्षणलाई पनि वास्ता नगरिने उद्देश्य राखेर अघि बढिरहेको अधिकारीको भनाइ छ।

प्राधिकरणले चोरी नियन्त्रणका लागि प्रयास गर्दा गर्दै पनि कुनै क्षेत्रमा विद्युत् चुहावट नरोकिएमा वा चोरी नियन्त्रण नभएका ब्ल्याक आउट गर्ने रणनीति लिइएको उहाँको भनाइ छ।

विद्युत् चुहावट प्राधिकरणको आर्थिक समृद्धिसँग जोडिएको मुद्दा पनि हो। यदि चुहावट नियन्त्रण गर्न सकिएन भने प्राधिकरणको वित्तीय स्वास्थ्य सुधार्न सकिने अवस्था छैन। अहिले विद्युत् लोडसेडिङ निर्मूल गर्न सकिरहेको अवस्था छ। तर, विद्युत् चोरी नियन्त्रण गर्न नसक्ने अवस्था बढ्दै गयो प्राधिकरण निरन्तर घाटामा गइरहन्छ। ‘२४सैं घण्टा दिइएको विद्युत्को धेरै हिस्सा चोरीमा सकिएपछि प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो क्षति पुर्याउँछ। बढी चुहावट हुने ठाउँमा हामी पनि अत्यन्तै सम्वेदनशील भएर लाग्नुपर्ने भयो।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रवक्ता अधिकारीले भन्नुभयो। चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा वितरण तथा ग्राहक सेवाको चुहावट गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा करिब ४ प्रतिशत घट्दा आय १ अर्ब २६ करोड रुपियाँ बढेको छ। यस अवधिमा करिब ६ अर्ब रुपियाँ बराबरको विद्युत् चुहावट भएको प्रँधिकरणले जनाएको छ।

भक्तपुरमा चुहावट नियन्त्रणका लागि प्राधिकरणका दुईटा टोली परिचालन गरिएको छ। उक्त टोलीले घर घरमा गएर जडान गरिएको विद्युत् मिटरको अवस्था जाँच गर्ने काम गरिरहेको छ। माघ १९ गतेसम्मको तथ्यांक हेर्दा ५४ जनाबाट ११ लाख ८८ हजार ८ ८५ रुपियाँ असुल गरिएको छ। ६० दिनसम्म पैसा नतिर्ने ग्राहकलाई प्राधिकरणले धमाधम विद्युत् लाइन काटिरहेको छ। ‘भक्तपुर सुन्दर नगरीमा चोरी नगरौं’ भन्ने नाराका साथ जनचेतनामुलक कार्यक्रम पनि प्राधिकरणले गरिरहेको छ।

ललितपुर जिल्लामा अत्याधिक विद्युत् चोरी भइरहेको ठाँउमा प्रँधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आफैं स्थलगत निरीक्षण गरी वितरण केन्द्रका कर्मचारीलाई प्रशासनको सहयोग लिएर विद्युत् चोरी निर्मुल पार्न निर्देशन दिनुभएको छ। वर्षौ देखि सांगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय सीमा प्राधिकरणले दिएको छ।

ललितपुरको पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेँलगायतका स्थानमा संगठितरूपमा विद्युत् चोरी भइरहेको छ। गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत् चोरी हुने क्षेत्र हुन्। यसैगरी, चापागाउंँ जाने फिडरअन्तर्गत सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले संगठितरूपमा विद्युत् चोरी गर्ने गरेको छन्।

ती क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत छ। प्राधिकरणले चोरीका कारण यी स्थानहरूबाट मात्रै वार्षिक करिब ५० करोड रुपियाँ राजस्व गुमाइरहेको छ।

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२ दशमलव ९ प्रतिशत विद्युत् चुहावट छ। चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्