फोरम संसदीय दलको नेतामा लालबाब राउत



कृष्णउदास खनाल, वीरगन्ज । संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा वीरगन्जका फोरमका नेता लालबाबु राउतलाई चयन गरेको छ । यो संगै उनी फोरम नेपालका तर्फबाट मुख्यमंत्रीको उम्मेदवार निश्चित भएको छ ।

त्यसरी नै वीरगन्जले मुख्यमंत्री पाउने संभावना पनि बढेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लडेका थिए ।यद्यपी राजपाले फोरमका नेता राउतलाई समर्थन गर्ने बिषयमा अहिले कुनै निर्णय भने गरेको छैन। जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो ।

प्रदेशको राजधानी वीरगन्ज माग गर्दै आन्दोलन जारी राखिएका कारण पनि सन्तुलन मिलाउन वीरगन्जलाई मुख्यमंत्री दिने बिष्यामा मधेशवादी दलहरु भने लगभग सहमत भएको बुझिएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष रहेका लालबाबु राउत पूर्वसभासद समेत हुन् । उनी दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट सभासद थिए । उनी वौद्धिक युवा नेताका रुपमा परिचित छन् ।

पर्सा जिल्लाको साविक जगरनाथपुर वडा नम्बर ३ मा ०२३ साल असार १५ गते जन्मेका राउतको बसोवार भने अहिले वीरगन्जको राधेमाईमा छ । राउतले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।राजनीतिमा प्रवेश गर्नुअघिसम्म उनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय अंग्रेजी विषयमा प्राध्यापन पेशासमेत गरेका थिए भने वीरगन्ज उपमहानगरपालिकाको सरसफाई अधिकृतमा पनि काम गरेका थिए।

राजनीतिमा स्वच्छ र इमान्दार छवी बनाएका राउतको मुख्यमंत्रीको संभावनासंगै वीरगन्जमा खुसीयाली मनाइएको छ । वीरगन्जका सबै समुदाय र सबै पार्टीमा आवद्ध राजनीतिक ब्यक्ति,पत्रकार तथा नागरिक समाज स्तरबाट समेत उनको प्रशंसा गरिएको छ । वीरगन्जले मुख्यमंत्री पाउनु मधेश आन्दोलनको उपलब्धी भएको सो पार्टीका पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्