पोखरामा डेरा खोज्दै पर्वतका प्रदेश सांसद



दुर्गाप्रसाद शर्मा, पर्वत । निर्वाचन सम्पन्न भए सँगै प्रदेश नं. ४ ले आफ्नो मुकामको चुनौती यस अघि नै सामना गरिसकेको छ । सुन्दरनगरी पोखरा नै प्रदेश नं. ४ को स्थायी मुकाम हुने कुरामा दुई मत छैन ।

प्रदेश सभाका लागि पर्वतबाट पनि २ जना सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् भने २ जना महिला सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । पर्वतबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु भने अहिलेसम्मपनि डेराकै खोजिमा रहेका छन् ।


नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका नेत्रनाथ अधिकारी पर्वतको कुश्मा नगरपालिका १ पाङका स्थायी बासिन्दा हुन् । उनले बाम गठबन्धनको तर्फबाट प्रदेश सभा तर्फ पर्वत क्षेत्र नं. १ बाट निर्वाचनमा विजयी हासिल गरे ।

पोखरामा प्रदेश कार्यालय खडा भइसक्दा सम्म उनी अहिले पनि डेराको व्यवस्थापनमा नै रहेका छन् । सरकारले हालसम्म उचित व्यवस्था नगरुञ्जेल आफु पोखरामा डेरा खोजेरै बस्ने अधिकारीले बताए । उनले भने ‘मन्त्री नै भइयो भने कुनै प्रावधान होला तर अहिले डेराकै खोजिमा छु ।’

यस्तै पर्वत क्षेत्र नं. २ बाट निर्वाचित सांसद विकास लम्साल एमाले पर्वतका पुर्व अध्यक्ष हुन् । बाम गठबन्धनकै तर्फबाट विजयी भएका लम्सालले आफु घरबाटै प्रदेशसभामा सहभागीता जनाउनका लागि आउने जाने वातावरण सिर्जना गरेको बताए ।

यस अघि पनि सोही क्षेत्रबाट निर्वाचन जितेका लम्सालले पर्वतको फलेवास नगरपालिकासम्म पोखराबाट सिधा यातयात सञ्चालन भइरहेको र पोखरा फलेवासका लागि थप यातयातका साधनहरु सञ्चालन गर्ने सोच सँगै आफु प्रदेश सभाको बैठकमा घरबाटै आउने जाने तर पोखरामा नबस्ने निधो गरेको बताए ।

‘कहिले काँही पाहुनाको रुपमा पोखरामा बसुँला, तर डेरा नै जमाएर पोखरामा बस्ने सोच छैन’ उनले भने । आफ्नो व्यक्तिगत कामको सिलसिलामा जिल्ला बाहिर रहेका लम्सालले आफु सम्भवतः मन्त्री हुने दौडमा रहेको जानकारी गराउँदै जिल्लाबाटै आउने जाने कार्यमा व्यवस्थापन गरिरहेको उनले बताए ।

पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा घर भई नेकपा एमाले पर्वतबाट दलित महिला कोटाबाट समानुपातिक सांसदमा चयन भएकी जुनादेवी नेपाली पनि आफु डेरा व्यवस्थापनकै ध्याउन्नमा रहेको बताइन् । पोखरामा उचित वासस्थानका लाथि आफ्नो कुनै व्यवस्थापन नभएकै कारण प्रदेश सभामा जानका लागि डेराकै खोजिमा रहेको उनले बताइन् ।

पर्वतको देउपुरमा घर भई नेपाली कांग्रेस पर्वतको तर्फबाट समानुपातिक सांसदमा जनजाति महिला कोटाबाट प्रतिनिधित्व गर्दै सांसद बनेकी ललितकला गुरुङले आफु प्रदेश सभामा भाग लिनका लागि पोखरामा नै डेरा खोजेर बस्ने सोचमा रहेको बताइन् । आफन्त हरु भएपनि आफु व्यवस्थित रुपमा नै डेरा खोजेर पोखरामा नै रहने र जनताको अनुरोध बमोजिम पोखराबाटै जिल्लामा कहिले काँही आवतजावत गर्ने सोच बनाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्