पार्टी एकतामा ढिलाइ



नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीच पार्टी एकताको विषयमा पटक–पटक छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकेको देखिँदैन । प्रदेश सरकार गठन र त्यसमा जाने मन्त्री तथा अन्य पदको बाँडफाँड मिले पनि पार्टी एकताका बारेमा भने दुई दलका शीर्ष नेताबीच कुरा मिल्न नसक्दा एकताको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । विगतमा निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलका नेताहरू अहिले विभिन्न बहाना बनाई एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने विषयमा एकले अर्कालाई दोष दिएर उम्कन खोज्नु पक्कै राम्रो विषय होइन ।

विगतमा आफूहरूले दिएको म्यान्डेन्टको समेत उपेक्षा भएको अनुभव जनताले गर्न थालेका छन् । राजनीतिमा सधैँ यस्तै हुन्छ भन्ने उक्तिलाई दुई वाम घटकबीचको एकता प्रक्रियामा देखिएको बेमेलले पनि पुष्टि गर्न खोजेको हो कि भन्ने भान पर्न थालेको छ । पार्टी एकतामा एकले अर्कालाई विश्वास गर्न नसक्ने हो भने दुई पार्टीबीच एकता भए पनि त्यो दिगो र टिकाउ हुनेछैन । अहिलेदेखि नै एकले अर्कालाई विश्वास गर्न सक्ने वातावरण बनाउन नसक्ने हो भने पार्टी एकता हुनुले पनि कुनै अर्थ राख्दैन । त्यसतर्फ दुवै दलका शीर्ष नेताहरू चनाखो हुनुपर्दछ ।

अहिले दुवै पार्टी नेता पार्टी एकता हुन नदिन देशी–विदेशी शक्ति सक्रिय भएको भन्दै सार्वजनिकरूपमा भाषण गर्दै हिँड्ने अनि पार्टी एकताको बैठकमा गृहकार्य नपुगेको भन्दै पन्छने प्रवृत्तिले पार्टी एकतालाई कहाँ पुर्याउँछ, यसै भन्न सकिँदैन । त्यसैले यस विषयमा दुई दलका नेताहरू गम्भीर बन्नै पर्छ । बाहिर एउटा कुरा गर्ने अनि भित्र अर्को कुरा गर्ने प्रवृत्ति दुवै दलका नेताहरूले त्याग्न नसकेसम्म पार्टी एकताको कुनै गुन्जायस देखिँदैन । एकले अर्कालाई अविश्वास गर्नु भन्दा पनि एक भएर अगाडि बढ्न सके मात्रै नेपाली जनताले चाहेको जस्तो गणतन्त्र कार्यान्वयन होला । होइन भने यस्ता क्रियाकलापले न ती दललाई फाइदा हुनेछ, न जनताले चाहेको चाहना पूरा हुनेछ । आक्कल झुक्कल मिटिङ बस्ने अनि गृहकार्य पुगेन भनेर मिटिङ स्थगित गनुर््को कुनै औचित्य छैन । यसतर्फ सम्बन्धित पक्षहरूको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्