तालिबानसँगको वार्तामा अमेरिका अनिच्छुक



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको वार्तालाई महत्त्व नदिएको जनाइएको छ। कथित ‘आतंकवादी’ सँग कुनै प्रकारको वार्ता तर्कसंगत नभएको अमेरिकी धारणा रहेको छ।

तालिबानसँगको वार्ताका लागि बनिरहेको पाकिस्तान, चीन र रुसको गठबन्धनको विरोधमा अमेरिकी नीति अगाडि आएको बताइएको छ।

अमेरिकाले तालिबान हिंसाको मार्ग त्यागेर अफगानिस्तानको संविधान स्वीकार गर्नुपर्ने र अलकायदासँगको उसको सम्बन्ध समाप्त पार्नुपर्नेमा जोड दिँदै आइरहेको छ। अमेरिकाले यसलाई ‘रेड लाइन’ भनेको छ।

अफगानिस्तानमा विगत १६ वर्षदेखि अशान्तिको स्थिति रहेको छ। अफगानिस्तानले तालिबानसँगको वार्तालाई अस्वीकार नगरे पनि त्यसका लागि ‘रेड लाइन’ कै सर्तलाई अघि सार्दै आइरहेको छ।

गत वर्ष जुनमा भ्वाइस अफ अमेरिकालाई अफगान राष्ट्रपति असरफ घानीले तालिबानसँगको शान्ति वार्ताका लागि उनको प्रशासनको सर्त मान्नुपर्ने बताएका थिए। उनले सर्तमा अफगान संविधान मान्नुपर्ने, शिक्षा तथा महिला मानवअधिकारमा सुधार जारी राख्नुपर्ने र हिंसा तथा आतंकसँगको नाता अन्त्य गर्नुपर्ने उल्लेख गरेका थिए।

केही दिनअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान निर्दोष नागरिकको हत्याका लागि जिम्मेवार रहेको, उनीहरूले बच्चा र परिवारमाथि हमला गरिरहेको बताएका थिए। अफगानिस्तानमा चारैतिर बमबारी भइरहेको बताउँदै आफू त्यसको अन्त्य गर्नतिर लागेको ट्रम्पले बताएका थिए। उनले आफ्नो भावी योजनाका बारेमा प्रष्ट नपारेको भए पनि उनी ठूलो सैन्य कारबाहीको सोचमा रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्