साना परमाणु हतियार विकास गर्ने अमेरिकी योजनाको चीनद्वारा आलोचना



बेइजिङ, (एजेन्सी)
परमाणु क्षमता वृद्धि गर्ने योजनालाई अगाडि बढाउने अमेरिकाको बयानलाई लिएर चीन र रुसले कडा शब्दमा त्यसको आलोचना गरेका छन्। अमेरिकाको परमाणु नीतिलाई लिएर चीनले कडा आलोचना गर्दै अमेरिकालाई शीत युद्धको मानसिकताबाहिर आउन आवश्यक भएको बताएको छ।

आइतबार चीनको विदेश मन्त्रालयले जारी गरिएको एक विज्ञप्तीमा भनिएको छ– जुन देशसँग विश्वकै सबैभन्दा धेरै परमाणु हतियार छन्, उसले परमाणु कार्यक्रमलाई सीमित गर्ने नीति पालना गर्ने कुरामा अगाडि बढ्नुपर्ने हो, त्यसको विपरीत धारमा जाने होइन। अमेरिकी सेनालाई ऊसँग भएको विद्यमान परमाणु हतियार प्रयोग गर्ने हिसाबले धेरै ठूला छन् भन्ने लागेको छ। त्यसैले ऊ साना बम वा हतियार विकसित गर्न चाहन्छ। चीनभन्दा पहिला रुसले पनि अमेरिकाको उक्त योजनाको आलोचना गरिसकेको छ।

अमेरिका आफ्नो परमाणु हतियारलाई लिएर धेरै चिन्तित छ। उसलाई आफ्नो परमाणु हतियार अब त्यति धेरै प्रभावकारी नभएको भन्ने छ। साथै उसले चीन, रुस, उत्तर कोरिया र इरानलाई आफ्ना लागि सम्भावित खतराका रूपमा हेर्ने गरेको छ।

अमेरिकी रक्षा मन्त्रालयको ‘न्युक्लियर पोस्चर रिभ्यु रिपोर्ट’ ले परमाणु हतियार वृद्धि गरी ती चुनौतीबाट छुट्कारा पाउने सक्ने जनाएको छ। साना परमाणु हतियार २० किलो टनभन्दा कम क्षमताको हुन्छ। तुलनात्मक रूपमा यो कम शक्तिशाली भए पनि यसले ठूलो विनाश गर्न सक्छ। नयाँ नीतिअन्तर्गत जमिनबाट प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न सक्ने क्षेप्यास्त्र र आकाशबाट आकाशमै प्रहार गर्न सक्ने हतियारको आधुनिकीकरण गर्नुरहेको छ।

त्यसै गरी पनडुब्बीबाट प्रहार गरिने परमाणु हतियारको सुधार गरी सानो आकारको बनाउनु र सुमद्रमा आधारित परमाणु क्रुज क्षेप्यास्त्रलाई फिर्ता गर्ने पनि नयाँ योजनामा समावेश गरिएको छ। चीन र अन्य देश आफ्ना लागि खतरा भएको कारण देखाउँदै हलुका परमाणु हतियार बनाउने अमेरिकी नीति प्रष्ट रूपमा परमाणु अप्रसार नीतिको अवहेलना भएको बेइजिङले जनाएको छ। चीनको रक्षा मन्त्रालयले भन्यो– ‘हामीले अपेक्षा गरेका छौं, अमेरिका आफ्नो शीत युद्धको मानसिकता अन्त्य गर्नेछ। इमानदारीपूर्वक आफ्नो जिम्मेवारी बुझ्नेछ। सार्थक चीनको रणनीतिक उद्देश्यलाई सही तरिकाले बुझ्नेछ।

रुसद्वारा विरोध

रुसको विदेश मन्त्रालयले पनि अमेरिकामाथि कडा आरोप लगाएको छ। अमेरिकाको यो प्रयास विवादलाई भड्काउने खालको भएको रुसले जनाएको थियो। मन्त्रालयले रुसको सुरक्षा सुनिश्चित गर्नका लागि मस्कोले कुनै पनि कुरामा सम्झौता नगर्ने उल्लेख गरेको थियो। रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले उक्त योजनाले आफू ‘अत्यन्त निराश’ भएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्