जीडीपीको एक तिहाई हिस्सा रेमिट्यान्समा निर्भर



नेपाल समाचारपत्र
काठमाडौं
अर्थतन्त्रको सबैभन्दा धेरै हिस्सा रेमिट्यान्सले ओगट्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ। विश्व बैंकले सन् २०१६ को तथ्यांक विष्लेषण गर्दै विदेश जानेले पठाएको रकमबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमा शीर्ष स्थानमा परेको जनाएको हो।

अन्य मुलुकले रेमिट्यान्समा निर्भरता घटाउँदै लगेको बेला नेपालको हकमा भने कुल गार्हस्थ उत्पादन (जीडीपी) को ठूलो हिस्सा रेमिट्यान्सले ओगट्ने क्रम बढेको हो। प्रतिवेदनअनुसार सन् २००७ मा जीडीपीको १७ प्रतिशत ओगट्ने गरेकोमा सन् २०१६ मा आइपुग्दा सो बढेर ३२ प्रतिशत पुगेको हो।

प्रतिवेदनका अनुसार नेपालपछि लाइबेरियाको जीडीपीको ३१ प्रतिशत, ताजकिस्तान २९ प्रतिशत, किर्गिस्तान २६ प्रतिशत र हाइटी २५ प्रतिशत बराबरको हिस्सासहित रेमिट्यान्समा निर्भर रहने अर्थतन्त्रको दोस्रोदेखि क्रमशः पाँचौ स्थानमा छन्।

उक्त प्रतिवेदनमा नेपालले जीडीपीको तुलनामा २९ दशमलव ७ प्रतिशत बराबर रेमिट्यान्स भित्र्याएको उल्लेख छ। गतवर्ष नेपालमा ६ अर्ब २७ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको हो। जीडीपीको संशोधित आँकलनअनुसार जीडीपी रेमिट्यान्स अनुपात भने ३३ दशमलव ४६ प्रतिशत पुगेको छ।

प्रतिवेदनले दक्षिण एसिया सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने क्षेत्रका रूपमा रहेको उल्लेख गरेको छ। ६२ अर्ब ७० करोड डलरसहित भारत सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको सूचीमा पहिलो स्थानमा छ। भारतलाई पछ्याउँदै ६१ अर्ब डलरसहित चीन दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको फिलिपिन्सले सन् २०१६ मा २९ अर्ब ९० करोड डलर रेमिट्यान्स प्राप्त गरेको छ भने २८ अर्ब ५० करोड डलरसहित मेक्सिको चौथो स्थानमा छ। पाकिस्तानले १९ अर्ब ८० करोड डलर रेमिट्यान्स प्राप्त गरेर विश्वभर धेरै रेमिट्यान्स पाउने देशमा पाँचौ स्थानमा परेको छ।

प्रतिवेदनमा विश्वभर रहेका २० करोड वैदेशिक कामदारले ८० करोड परिवारका सदस्यलाई आर्थिक रूपमा सहयोग पुर्याएको बताइएको छ। विश्वका २० करोड कामदारले सन् २०१६ मा ४ सय ५० अर्ब डलरभन्दा बढी रेमिट्यान्स आ–आफ्नो देशमा पठाएका छन्। यसैगरी विदेशमा गएर काम गर्ने कामदारले प्राप्त गर्ने आम्दानी उसको परिवारको आम्दानीको ६० प्रतिशत हिस्सा रहेको पनि तथ्य सार्वजनिक भएको छ।

प्रतिवेदनका अनुसार विकासोन्मुख मुलुकमा समग्रमा २ दशमलव ४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको छ। दक्षिण एसियाली मुलुकमा भने रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०७३⁄७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपियाँ रेमिट्यान्स प्राप्त गरेको छ। राष्ट्र बैंकका अनुसार रेमिट्यान्सले कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छ। यद्यपि, नेपालमा रेमिटेन्स आप्रवाहको वृद्धिदर भने नकारात्मक रहेको छ।

विभागको संशोधित अनुमानअनुसार गतवर्ष १९ खर्ब ८७ अर्ब ८२ करोड रुपियाँ बराबरको जीडीपी रहेको छ। केन्द्रीय तथ्यांक विभागले पनि गत वर्ष जीडीपीको २९ दशमलव ५९ प्रतिशत बराबरको रेमिट्यान्स भित्रिएको जनाएको छ। विभागले चालू वर्ष भने जीडीपीको तुलनामा रेमिट्यान्सको हिस्सा घट्ने अनुमान गरेको छ। यस वर्ष जीडीपीको २६ दशमव ९४ प्रतिशतमात्रै रेमिट्यान्स भित्रिने विभागले उल्लेख गरेको छ। गत वर्षको तथ्यांक हेर्दा देशको कुल बजेटको करिब ६० प्रतिशत रकम रेमिट्यान्सबाट प्राप्त भएको देखिन्छ।

त्यसरी नेपाल भित्रिने रेमिट्यान्समा सबैभन्दा धेरै कतारबाट नेपाल भित्रिने गर्छ। कतारले साउदी अरेबियालाई उछिन्दै सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देश बन्न सफल भएको हो। गत वर्ष कतारबाट १ खर्ब ४ अर्ब १३ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यो कुल रेमिट्यान्सको १५ प्रतिशत हो।

त्यसैगरी ९८ अर्ब ८६ करोड रुपियाँ र ९० अर्ब ८४ करोड रुपियाँसहित साउदी अरेबिया र भारत यस सूचीमा दोस्रो र तेस्रो स्थानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्