अधिकांश बैंकको शेयर आम्दानी घट्यो



नेपाल समाचारपत्र
काठमाडौं

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अन्त्यसम्म अधिकांश बैंकका शेयरमूल्य घटेको छ। यस अवधिको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक बैंकमध्ये ७ वटा वाणिज्य बैंकको नाफा घटे पनि २४ वटा बैंकको प्रतिशेयर आम्दानीमा गिरावट आएको हो।

यस अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ३ वटा मात्र बैंकको प्रतिशेयर आम्दानीमा सुधार आएको छ। वित्तीय विवरणअनुसार २४ वटा बैंकको प्रतिशेयर आम्दानी नकारात्मक देखिएको हो।

यस अवधिमा ३ बैंकको प्रतिशेयर आम्दानी मात्र सकारात्मक रहे। प्रतिशेयर आम्दानी बढाउनेमा प्रभु बैंक, सिभिल बैंक र एनएमबि बैंक रहेका छन्। तीमध्ये प्रभु बैंकको प्रतिशेयर आम्दानी १८ रुपियाँ ९१ पैसाबाट बढेर २१ रुपियाँ ५९ पैसा पुगेको छ। बैंकले २ रुपियाँ ६८ पैसाले प्रतिशेयर आम्दानी बढाएको हो। त्यस्तै एनएमबि बैंकले २ रुपियाँ ८७ पैसाले बढाएर प्रतिशेयर आम्दानी ३१ रुपियाँ १८ पैसा पुर्याएको छ भने सिभिल बैंकले १ रुपियाँ शून्य २ पैसा बढाएको छ।

यो अवधिमा २४ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ। त्यसमध्ये नेपाल एसबीआई बैंकको प्रतिशेयर आम्दानी सर्वाधिक १८ रुपियाँ २२ पैसाले घटेको छ। त्यसैगरी नेपाल बैंकको प्रतिशेयर आम्दानी १७ रुपियाँ ७७ पैसा, नेपाल बंगलादेश बैंकको १६ रुपियाँ र एभरेस्ट बैंकको १४ रुपियाँ ५२ पैसाले प्रतिशेयर आम्दानीमा गिरावट आएको छ। प्रतिशतको हिसाबमा नेपाल बंगलादेशको प्रतिशेयर आम्दानी करिब ६० प्रतिशतले घट्यो। त्यस्तै लक्ष्मी बैंक , जनता बैंक, माछापुच्छे« बैंकका शेयरधनीले पनि अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी शेयरमूल्य गुमाए।
चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी प्रतिशेयर आम्दानी गर्नेमा नबिल बैंकका लगानीकर्ता रहेका छन्। हाल बैंकको प्रतिशेयर आम्दानी ४५ रुपियाँ ५७ पैसा रहेको छ। गत वर्षको सो अवधिको तुलनामा भने बैंकको प्रतिशेयर आम्दानी ११ रुपियाँ १२ पैसाले घटेको छ। गत वर्षको पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी ५६ रुपियाँ ६९ पैसा थियो।

्त्यसैगरी नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी पनि क्रमशः ४० रुपियाँ ७४ पैसा र ३४ रुपियाँ ४५ पैसा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्