प्रदेशमै ११० मन्त्री



गंगा बराल, काठमाडौं

फागुनसम्ममा प्रदेशमा १ सय १० जना मन्त्री हुने भएका छन्। प्रदेश सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्ने हुन्छ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेकै दिन निर्वाचन आयोगले पनि माघ ३ गते प्रदेशसभाका समानुपातिक सांसदको परिणाम घोषणा गरेको थियो। आयोगले माघ ५ गते समानुपातिक सांसदलाई आफ्नै कार्यालयमा प्रमाणपत्र वितरण गरेको थियो भने त्यसको दुई दिनपछि अर्थात् माघ ७ गते सम्बन्धित प्रदेशको अस्थायी मुकाममा प्रदेशसभाका सांसदको शपथग्रहण भएको थियो। निर्वाचित सांसदले भने निर्वाचित भएसँगै जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र पाएका थिए।

प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना निर्वाचित र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर आउने सबै पार्टीका समानुपातिक ३ सय ३० गरी ७ वटा प्रदेशमा ५ सय ५० सांसद रहेका छन्। जसको २० प्रतिशत १ सय १० जना हुन्छ। १ नम्बर प्रदेशमा ९३, २ नम्बरमा १ सय ७, ३ नम्बरमा १ सय १०, ४ नम्बरमा ६०, ५ नम्बरमा ८७, ६ नम्बरमा ४० र ७ नम्बरमा ५३ सांसद रहेका छन्। बढीमा १ नम्बरमा १९, २ नम्बरमा २१, ३ नम्बरमा २२, ४ नम्बरमा १२, ५ नम्बरमा १७, ६ नम्बरमा ८ र ७ नम्बरमा ११ जना मन्त्री बन्नेछन्।

कुनै पनि प्रदेशमा नेपाली कांग्रेसले सरकार बनाउने गरी मत ल्याएको छैन। प्रदेश नम्बर १ र ३ मा नेकपा एमालेको एक्लै बहुमत छ, माओवादी एक्लैले कुनै पनि प्रदेशमा बहुमत ल्याएको छैन। १ नम्बरमा रहेका ९३ सांसदमध्ये एमालेका ५१ र ३ नम्बर प्रदेशमा रहेका १ सय १० सांसदमध्ये एमालेका ५८ जना सांसद छन्। ६ नम्बर प्रदेशमा एमालेको ५० प्रतिशत सिट रहेको छ, यहाँ ४० जना सांसद रहेका छन्, एमालेका २० सांसद छन्। एमाले र माओवादी (केन्द्र) बीच बनेको वाम गठबन्धनले गरेको सहमतिअनुसार ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ। १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ। २ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम (नेपाल) का सांसद् २९, राष्ट्रिय जनता पार्टी (राजपा) का २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद् छन्। यहाँ फोरम नेपालले मुख्यमन्त्री पाउनेछ।

राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले राजपा र फोरमबीच चुनावी तालमेल हुँदा जसको बढी सिट आउँछ उसैले मुख्यमन्त्री पाउने सहमति भएको बताउनुभयो। तर, राजपाका अर्का नेता राजकिशोर यादवले मुख्यमन्त्री, सभामुख, उपसभामुख र अन्य पदका बारेमा छलफल गरिने जानकारी दिनुभयो। उहाँले फोरमकै मुख्यमन्त्री हुने वा राजपाको हुने भन्ने छलफलले नै टुंगो लाग्ने बताउनुभयो। यो प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नै फोरम र राजपाबीच चुनावी तालमेल भएको थियो।

वाम गठबन्धनबीच सभामुख र उपसभामुखको पनि भागवण्डा भइसकेको छ। प्रदेश नम्बर १, ६ र ७ मा आगामी २९ गते, २ र ५ मा फागुन २ गते, ३ मा माघ २७ गते, ४ मा फागुन ३ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ। सभामुखको चयन नहुँदासम्म जेष्ठ सांसदले बैठकको अध्यक्षता गर्नेछन्। सभामुख र उपसभामुख फरक दलको र कम्तीमा एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

सबैभन्दा पहिले प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक गत बिहीबार भएको थियो। आइतबार २, ५, ६ र ७ नम्बर प्रदेशको बैठक बसेको थियो। प्रदेश नम्बर १ र ४ मा आज सोमबार बैठक बस्दै छ। संविधानको धारा १८३ मा प्रदेशसभा बैठकको आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ। प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा २० दिनभित्र प्रदेशसभाको बैठक बोलाउनुपर्ने बाध्यता छ, आज बैठक बोलाइसक्नुपर्ने अन्तिम दिन हो।

प्रतिक्रिया दिनुहोस्