प्रदेश नम्बर पाँचको पहिलो बैठक सम्पन्न



तस्विरःयमलाल भुसाल, बुटवल

सभामुखको निर्वाचन फागुन २ गते

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर पांचको आईतबार बसेको पहिलो बैठकले सभामुखको निर्वाचन आउंदो फागुन २ गते गर्ने निर्णय गरेको छ ।

बैठकले ३० दफा र ४ अनुसूची भएको कार्यसञ्चालन कार्यबिधी २०७४ समेत पारित गरेको छ ।

त्यसैगरी सभामुख चयन नहुंदासम्म बैठकको कार्य सञ्चालनका लागि पांच सदस्यीय समिति गठन गरेको छ । जसमा प्रदेश सभाका सदस्य कमलराज श्रेष्ठ, दधिराम न्यौपाने, अष्टभुजा पाठक, सन्तोषकुमार पाण्डे र तारा जीसी रहनुभएको छ ।

८० वर्षीय जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नु भएको थियो ।

बैठक शुरु हुनसाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

त्यसलगत्तै शहीदप्रति सम्मान गर्दै मौनधारण गरिएको र राष्ट्रिय गानमा सरिक गराईएको थियो ।

÷बैठकमा बोल्दै नेकपा एमाले पांच नम्बर प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले स्थानीय तह र केन्द्र सरकार पूर्ववत संरचनाबाट अगाडी बढेको र प्रदेश सरकार शुन्य अवस्थाबाट सञ्चालन गर्नुपरेकाले चुनौती र अवसर रहेको बताउनुभयो ।

उहांले विकास र सम्वृद्विको बलियो आधारका रुपमा पांच नम्बर प्रदेश रहेकाले यस प्रदेशमा भएका पर्यटकीय गन्तब्य, ऐतिहांसिक स्थल, शान्तिका अग्रगुत बुद्ध जन्मस्थल, बांके र वर्दियाको राष्ट्रिय निकुञ्ज, एशीया महादेशकै चर्चित दाङको उपत्यका, धार्मिकस्थल स्वर्गद्वारी, रुरु, श्रृङ्गेश्वर धाम, पाणिनी तपोभूमि, ऐतिहांसिक जीतगढी किल्ला, रामापिथेकसको बंगारा लगायतका स्थल तथा सम्पदाको संरक्षण, सम्वद्र्वन गर्नुपर्ने बताउनुभयो ।

उहांले पांच नम्बर प्रदेशलाई समुउन्नत बनाउनका लागि आवश्यक आधार भएकाले सामूहिक एजेण्डा बनाउएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

संसदीय दलका नेता पोखरेलले छोटो समयमा प्रदेशका धेरै कानुनहरु निर्माण गर्नुपर्ने भएकाले जिम्मेवारी बोधका साथ सामूहिक प्रयत्न र उत्साहाका साथ बैठकमा सहभागि हुन सांसदहरुलाई आग्रह गर्नुभयो ।

उहांले लोकतान्त्रिक गणतन्त्र मौलिक चरित्रको भएको उल्लेख गर्दै सहकारी संघीयताको माध्यमबाट मुलुकको आर्थिक सम्वृद्वि गर्ने र सम्वृद्व राष्ट्र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीले दलीय सहमति र सहकार्यबाट आईपर्ने सबै प्रकारका समस्याको समाधान गरिने बताउनुभयो ।
उहांले पांच नम्बर प्रदेशलाई नमुना प्रदेशका रुपमा स्थापित गरेर यस क्षेत्रका जनताको आर्थिक उन्नती गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांगे्रसका सांसद बिरबहादुर रानाले समतामूलक समाज निर्माणका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहांले यस प्रदेशमा रहेका ऐतिहांसिक तथा प्राकृतिक स्थल र सम्पदाहरुलाई आधार बनाएर विकासमा जुट्नुपर्ने बताउनुभयो ।

यो प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि संसदमा सत्तापक्ष र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्कार, संस्कृति र विधि भएकाले सोही अनुरुप कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

संघीय समाजबादी फोरम नेपालका सांसद सहराम यादवले दलीय सहमति र सहकार्यका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तारा जीसीले विकासको प्रचुर सम्भावना रहेको प्रदेश भएकाले विकेन्द्रित र सन्तुलित विकासमा जोड दिनुभयो ।
उहांले सरकारले पांच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकेता पनि स्थायी राजधानीका लागि उच्च स्तरीय आयोग बनाएर टुङो लगाउनु पर्ने माग गनभयो ।

पहिलो बैठकमा नेपाल प्रहरीका प्रहरी निरिक्षक होम प्रसाद चौधरीको कमाण्डमा ४० जना प्रहरीले मर्यादापालकको भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्