स्याङ्जाको पुतलीबजार उज्यालो शहर बन्दै



अमृत अर्याल, स्याङ्जा ।

पुतलीबजार नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को संशोधित बिनियोजन ऐन अनुरुप ५६ करोड ६३ लाख ३१ हजार रुपैंया बरावरको प्रस्तावित बजेट प्रस्तुत गरेको छ । पुतलीबजार नगरपालिकाको दोश्रो नगरसभामा नगर प्रमुख सीमा क्षेत्रीले सो बजेट प्रस्तुत गर्नुभएको हो ।
चालु आर्थिक बर्षमा बिनियोजित बजेट ४८ करोड ३१ लाख ८६ हजार र बिभिन्न कोषबाट २ करोड १५ लाख संचितकोषबाट ब्ययभार पर्नेगरी कार्यपालिकाले निर्णय गरेको हो । त्यस्तै, सडक बोर्ड नेपालको ५५ लाख र सामाजिक सुरक्षा भत्ताको ५ करोड ६१ लाख ४५ हजार सहित ५६ करोड ६३ लाख ३१ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

नगरसभाले एकिकृत खानेपानी योजना, एकिकृत सिंचाई योजना र पुतलीबजारका सबै वडाहरुलाई जोड्नेगरी रिङ रोड बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । फोहोर मैला ब्यवस्थापनका लागि स्थायी जग्गा, स्वीकृत बिना जग्गा प्लटिङ् गर्न नपाईने, त्रिभुवन आदर्श माविमा सिभिल इन्जिनियरीङ कक्षा संचालनमा पहल, माग अनुरुप मातृभाषाका कक्षा, जेष्ठ नागरिक सामाजिक भत्ता वडाका टोल टोलबाटै बितरण गर्ने ब्यवस्था, युवा, महिला, बालबालिका, उत्पीडित, अपांग लगायतलाई क्षमता बिकास सम्बन्धी तालिम दिईने कार्यलाई नगरसभाले आफनो नीति तथा कार्यक्रम रहेको पुतलीबजार नगरपालिका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी नगरसभामा प्रदेशसभा सदस्य द्धय मीनप्रसाद गुरुङ र मोहनप्रसाद रेग्मी र जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष एवं स्याङ्जाका अध्यक्ष सीता सुन्दास र प्रदेशसभा सदस्य सीता थापाले पुतलीबजार नगरपालिकालाई उज्यालो शहर बनाउन प्रतिवद्धता जनाएका थिए । प्रदेशसभा सदस्य द्धय मीनप्रसाद गुरुङ र मोहनप्रसाद रेग्मी र जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष एवं स्याङ्जाका अध्यक्ष सीता सुन्दास र प्रदेशसभा सदस्य सीता थापालार्ई सम्मान गरिएको छ ।

बन्दसत्रमा नगर सदस्य सुरजकुमार अधिकारी, शक्तिचन्द्र अधिकारी र बिष्णुकुमार श्रेष्ठले पुतलीबजार नगरपालिकाका विकास सम्बन्धी राखेका प्रश्नहरुको नगरप्रमुख सीमा क्षेत्री, प्रशासकिय अधिकृत बासुदेव रेग्मी र नगर प्रवक्ता ख्यामनारायण अधिकारीले जवाफ दिनुभएको थियो ।

पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रवक्ता ख्यामनारायण अधिकारीले स्वागत एवं प्रमुख प्रशासकिय अधिकृत बासुदेव रेग्मीले संचालन गर्नुभएको थियो । साथै, नगरसभामा प्रस्तावित बजेट, नीति तथा कार्यक्रमलाई सभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्