नगरपालिका कार्यालयमै छैन विद्युत सेवा, मारमा जनता



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा विद्युत सेवा नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । रातीको समयमा मात्रै सञ्चालन हुने लघुजल विद्युत आयोजना मात्रै भएको र दिउँसोको समयमा सोलारको भरमा काम गर्नुपर्ने बाध्यता रही आएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “नगरपालिकाको केन्द्र भएकाले धेरै नागरिक सेवाका लागि हाटमा पुग्ने भएपनि विद्युतको अभावमा सेवाप्रवाहमा समस्या भएको छ ।”

हाट क्षेत्रमा सञ्चालित पुरानो बागागाड लघुजल विद्युत आयोजना आवश्यक रेखदेखको अभावमा जीर्ण बन्दै गएको र रातीको समयमा पनि मधुरोबत्ती बल्ने गरेको उहाँले बताउनुभयो । वि स २०५६ सालमा निर्माण भएको १३ किलोवाट क्षमताको सो लघुजलविद्युत आयोजनाको मर्मत सम्भारमा उपभोक्ता र सञ्चालक समितिले पहल गर्न नसकेको स्थानिय अनिरुद्र जोशीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो “ लघुजलविद्युत आयोजनाहरुको रातीको समयमा उज्यालो बाहेक अन्य कुनै काममा प्रयोग गर्न सकिएको छैन ।”

यस्तै ८ किलोवाट क्षमताको लोलीगाड लघुजल विद्युत आयोजनाले पनि रातीको समयमा मात्रै सेवा दिने गरेको छ । कार्यालय समयमा लघुजल विद्युत आयोजना सञ्चालनमा नआउँदा विद्युतको माध्यमबाट गर्नुपर्ने कामहरु प्रभवित हुने गरेका छन् । पुर्चौंडी नगरपालिका भित्र मात्रै १० भन्दा बढी लघुजल विद्युत आयोजना भएपनि कुनै पनि राम्रोसंग चल्न सकेका छैनन् ।

ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजनाहरू पनि आर्थिक अभावमा पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहहरूले विद्युत्को समस्या झेलिरहेका हुन्।

जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन्। सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाईएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्