अस्ट्रेलियालाई हराएर भारत च्याम्पियन



नयाँ दिल्ली, (एजेन्सी)
भारतले न्युजिल्यान्डको ओभल मैदानमा अस्ट्रेलियालाई ८ विकेटले हराएर आईसीसी यु १९ विश्वकप उपाधि सहजै हात पारेको छ। शनिबार भएको फाइनल खेलमा अस्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारतले मात्र २ विकेट गुमाएर ३८.५ ओभरमै भेटाएको हो। भारतको तर्फबाट मनजोत काल्राले नटआउट हुँदै सतक बनाएका थिए। उनले १ सय २ बलमा १ सय १ रन जोडर भारतलाई उपाधि दिलाए। उनले तीन अर्धसतकीय साझेदारी गर्ने क्रममा पहिलो विकेटका लागि कप्तान पृथ्वी शा (२९ रन) सँग ७७ रनको साझेदारी गरे।

त्यस्तै शुभमान गिलसँग काल्राले ६१ रनको साझेदारी गरे। प्लेयर अफ द सिरिज बनेका शुभमान व्यक्तिगत ३१ रनमा आउट भएका थिए। यतिबेलासम्म भारतलाई जित्न ८६ रन मात्रै आवश्यक थियो। तेस्रो विकेटका लागि काल्रा र हार्भिक देसाईले ८९ रनको साझेदारी गरेपछि भारतले उपाधि जित्यो। हार्भिक ४७ रनमा नटआउट रहेका थिए। म्यान अफ द म्याच घोषित काल्राले ८ चौका र तीन छक्का प्रहार गरेका थिए।
यसअघि अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो। जसमा जोनाथन मेर्लोले सर्वाधिक ७६ रन जोडे भने परम उपुलले ३४ रनको योगदान दिएका थिए। अन्य भने भारतीय बलर सामु निरिह साबित भएका थिए। भारतीय बलरमा शिब सिंह, कमलेस नगरकोटी, इसान पोरेल र अनुकुल रायले २–२ विकेट लिएका थिए।

भारत यु १९ विश्व कप ट्रफी चौथो पटक जित्ने पहिलो टोली बनेको छ। भारतले यसअघि मोहम्मद कैफको कप्तानीमा २००२ मा, विराट कोहलीको कप्तानीमा २००८ मा र उन्मुक्त चन्दको कप्तानीमा २०१२ मा उपाधि जितेको थियो। भारतपछि अस्ट्रेलियाले तीन पटक उपाधि जितेको छ। अस्ट्रेलियाले १९८८, २००२ र २०१० मा यो उपाधि जितेको थियो।

यो प्रतियोगिताको फाइनलमा अस्ट्रेलियालाई हराउनेमा भारत एक्लो टोली हो। भारत र अस्ट्रेलियाबीच दुई पटक यु १९ विश्व कप उपाधि भिडन्तमा भेट भएका छन्। दुई पटक नै भारतले कंगारुलाई हराएर उपाधि आफनो नाममा लेखाएको छ। यो वर्षमा जित्न अगाडि २०१२ यु १९ विश्वकपमा पनि भारतले नै जितेको थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन भारतीय टोलीलाई नगद पुरस्कारको घोषणा समेत गरेको छ। प्रशिक्षक राहुल द्रविडलाई ५० लाख भारु दिइनेछ भने खेलाडीलाई ३०–३० लाख पुरस्कार दिने घोषणा गरेको हो। सपोर्ट स्टाफको हरेक सदस्यलाई पनि पुरस्कार दिने बीसीसीआईले घोषणा गरेको छ। प्रत्येक सदस्यलाई २० लाख
नगद दिइनेछ।

प्रतिक्रिया दिनुहोस्