वान बेल्ट वान रोड परियोजनाप्रति बेलायत सशंकित



लन्डन, (एजेन्सी)
बेलायतले चीनले अगाडी सारेको महत्त्वाकांक्षी परियोजना वान बेल्ट वान रोड परियोजनालाई लिएर चिन्ता व्यक्त गरेको छ। चीन भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरिजा मेले उक्त परियोजनामा चीनबाट अन्तर्राष्ट्रिय मापदण्ड पालना हुने र उसको राजनीतिक मनसायलाई लिएर आशंका व्यक्त गरेको द गार्जियन अखबारले जनाएको छ। प्रधानमन्त्री मेले चीनको न्यु सिल्क रोड परियोजनामा पनि आफ्नो सहमति दिन असमर्थता व्यक्त गरेकी छिन्।

मेले आफ्नो चिन्ता साइबर सुरक्षामा रहेको प्रस्ट पारेकी छिन्। बेलायती प्रधानमन्त्रीले यसै कारण ती परियोजनाको औपचारिक समर्थनसँग सम्बन्धित मेमोरेन्डम अफ असोसिएसनमा हस्ताक्षर गर्न अस्वीकार गरेको बेलायती सरकारको सूत्रलाई उद्धृत गरी द गार्जियनले दाबी गरेको छ। मेले चीन भ्रमणका क्रममा बेइजिङलाई आफ्नो प्राकृतिक साझेदार बताएकी थिइन् तर उसको ओबीओआर प्रोजेक्टबाट भने दूरी बनाएकी छिन्। मेले दुवै देशले अरू देशसँग मिलेर काम गरिरहने बताइन्।

उनले यस क्षेत्रमा वान बेल्ट वान रोड परियोजनालाई कसरी राम्रो तरिकाले कार्यान्वयनमा ल्याउन सक्छ पत्ता लगाउन दुवै देशले प्रयास गर्ने बताइन्। उनको यस बयानले ओबीओआर मुद्दामा चीनसँग उनको सहमति हुन नसकेको सन्देश दिएको छ। बेलायती सरकार यस परियोजनालाई उचित तरिकाबाट कार्यान्वयन ल्याउने पक्षधर रहेको सञ्चारमाध्यमले जनाएको छ।

ओबीओआरलाई लिएर अहिलेसम्म पश्चिमी देशले आफ्नो आवश्यक सहमति नदिएको द गार्जियनले जनाएको छ। अस्ट्रेलिया, फ्रान्स, जर्मनी, अमेरिका र युरोपेली कमिसनले चीनको उक्त परियोजनामा खुलेर उत्साह देखाएका छैनन्। बेलायतले परियोजनामा पारदर्शिता कायम हुनुपर्ने र अन्तर्राष्ट्रिय मापदण्डको पनि पालना होस् भन्ने चाहेको छ। भारतले पनि केही समयअगाडि चीनको उक्त परियोजनामा आपत्ति जनाएको थियो।

यस महत्त्वाकांक्षी परियोजनामा एसिया, युरो र अफ्रिकालाई राजमार्ग, रेल तथा जहाजको सञ्जालको माध्यमबाट जोड्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्