कोटेश्वर–जडिबुटी सुरुङमार्ग निर्माण हुने



पुष्कर बुढाथोकी, भक्तपुर

भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ। सम्बन्धित निकायका प्रतिनिधिसँंग पटक–पटक भएको अनौपचारिक र नागरिक उड्डयान प्राधिकरणमा भएको छलफलपछि सुरुङमार्ग निर्माण गर्ने सहमति भएको हो।

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रे, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एकमात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङमार्ग निर्माण गर्ने अवधारणा अगाडि सारेर शुरू गरेको छलफलले सार्थकता पाएको पूर्वमन्त्री महेश बस्नेतले बताउनुभयो। सडक विभागअन्तर्गत वैदेशिक विभागका उपनिर्देशक सञ्जय श्रेष्ठले बस्नेतले ल्याएको प्रस्तावमाथि पटक–पटक भएको छलफलपछि सुरुङमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

उहाँका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १ दशमलव ५ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ, सुरुङमा भेन्टिलेटर र प्रशस्तै बत्तिको व्यवस्था हुनेछ। २४सैं घण्टा उज्यालो देखिन्छ। यहाँ अक्सिजन सुरक्षित हुने र सीसी क्यामेरा जडान गरिएका हुनेछन्, आगलागी भएमा तत्कालै नियन्त्रण गर्न सकिने गरी व्यवस्थापन पनि हुनेछ।

सुरुङमार्ग निर्माणको लागि करिब ९५ प्रतिशित काम अगाडि बढिसकेको जानकारी दिँदै उपनिर्देशक श्रेष्ठले आगामी तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर यातायात संचालन गर्ने लक्ष्य रहेको बताउनुभयो। भक्तपुरको पलाँसेबाट प्रवेश गरेर काभ्रेको साँगा नासिकास्थानमा निस्कने गरी सुरुङ मार्ग निर्माण हुनेछ। यो सुरुङबाट एकैपटक चारवटा गाडी प्रवेश गर्नसक्नेछ।

यता कोटेश्वर–जडिबुटी भक्तपुर सडकमा अत्याधिक बढ्दो सडक जामलाई घटाउनका लागि कोटेश्वरको मुनिभैरव स्थानबाट जडिबुटी निस्कने गरि अर्को सुरुङमार्ग निर्माण हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरू भएको उपनिर्देशक श्रेष्ठले बताउनुभयो। नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले सुरुङमार्ग निर्माण गर्ने विषयमा प्राधिकरण सकारात्मक रहेको बताउँदै यसका लागि आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो।

उहाँले विमानस्थललाई कुनै पनि बाधा नपर्ने गरी सुरुङमार्ग निर्माण गर्न सकने बताउनुभयो। विमानस्थलको सर्वे लाइट, सुरक्षालाई कुनै बाधा नपर्ने गरी सुरुङमार्ग निर्माण गर्नु उपयुक्त रहेको उहाँको भनाइ थियो। कोटेश्वर धुलिखेल छ लेन सडक विस्तार आयोजनाका प्रमुख राकेश महर्जन र उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्रनाथ खनालले अहिलेकै सडक संरचनामा सवारी चापलाई व्यवस्थापन गर्न कठिन भइसकेको भन्दै सुरुङमार्ग अत्यावश्यक भएकाले यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण गर्ने, जडिबुटीदेखि जगातीसम्म सातवटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डरग्राउण्डको रूपमा ल्याएर चित्तपोलमा ड्याम बनाई डुंगा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने गरी कार्ययोजना अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्