अध्यक्षमै कुरो मिलेन, सरकार गठनपछि मात्रै पार्टी एकता



मधुसूदन रायमाझी, काठमाडौं

नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ। पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ।

नयाँ सरकार गठन भएपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए। ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान अब नयाँ सरकार गठनमा केन्द्रित हुन्छ।’ –ती नेताले नेपाल समाचारपत्रसँग भने।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल र वार्ता भए पनि सहमतिको टुंगो लाग्न सकेको छैन। माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमाले सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने नीतिमा रहेको छ।

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ। ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

राष्ट्रियसभाको सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका लागि गठन गर्न भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुईवटा कार्यदल गठन हुन सकेको छैन।

सहमति निर्माणका लागि ओली र प्रचण्डबीच पटक–पटक वान टु वान वार्ता भए पनि अध्यक्षकै विषयमा सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए। उनले भने– ‘पार्टी एकता हतारमा गर्ने विषय होइन, पर्याप्त गृहकार्य गरेर मात्र काम गर्नुपर्छ, पद बाँडफाँडमा केही कठिनाइ छ, अध्यक्ष तहमा मिलेपछि तल समस्या धेरै समस्या छैन।’

पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन पार्टी एकता संयोजक समितिको बैठक बसे पनि ओली र प्रचण्डबीच नै मुख्य पद बाँडफाँडमा कुरा मिल्न नसक्दा थप प्रक्रिया अगाडि बढन सकेको छैन।

एकता संयोजक समितिको बैठकमा ओली र प्रचण्डले नै थप गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए पनि एकता संयोजक समितिको बैठक अनिश्चित बनेको छ। शुक्रबार पनि ओली र प्रचण्डबीच संवाद हुन सकेन।

पटक–पटकको छलफलमा एउटै अडान दोहोरिँदा विकल्पका बारेमा पनि ओली र प्रचण्डले अन्तरिक गृहकार्य गरिरहेको बताइएको छ। नेता र कायकर्तास्तरबाट पार्टी एकताको विषयमा अलमल भइरहेको विषयमा चिन्ता शुरू भए पनि ओली र प्रचण्डबीच नै कुरा मिल्न सकेको छैन। प्रचण्डले एकतापछि बन्ने एकीकृत पार्टीको सह–अध्यक्ष स्वीकार गर्ने हो भने पार्टी एकता प्रक्रिया सहजरूपमा अगाडि बढ्ने निष्कर्ष एमालेको छ।
तर माओवादी केन्द्रले समानताको आधारमा ओलीले सरकारको नेतृत्व गरेपछि स्वाभाविक रूपमा पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डले पाउनुपर्ने अडान लिएको छ। तत्काल पार्टी एकता गर्ने मनस्थितमा माओवादी केन्द्र रहे पनि एमाले भने पार्टीको अध्यक्ष प्रचण्डलाई स्वीकार गर्ने विषयमा सहमति राखेपछि पार्टी एकताप्रति नै आशंका पैदा भएको छ।

प्रतिक्रिया दिनुहोस्