प्रदेश राजधानी विवाद, यता बन्द उता अधिवेशन



कृष्णउदास खनाल, वीरगन्ज
प्रदेश नम्बर २ को प्रथम अधिवेशनको पहिलो बैठक आइतबार अस्थायी मुकाम जनकपुरमा बस्ने तयारी गरिरहेकै बेला आइतबारकै दिन वीरगन्ज बजार भने बन्द आह्वान गरिएको छ। झन्डै एक महिनादेखि आन्दोलन गरिरहेको संघर्ष समितिको अगुवाइमा शनिबार साँझ वीरगन्जमा मसाल जुलुस प्रदर्शन गर्दै आइतबार वीरगन्ज बजार बन्दको आह्वान गरिएको हो। सरकारले आफूहरूको मागको उपेक्षा गरेका कारण र प्रदेश सांसदहरूलाई दबाब दिने उद्देश्यले वीरगन्ज बजार बन्द आह्वान गरिएको संघर्ष समितिका सहसंयोजक एवम् एमाले नेता राजकुमार गुप्ताले बताए। उनले वीरगन्ज कुनै पनि हालतमा प्रदेश नम्बर २ को राजधानी हुनुपर्नेमा जोड दिएका छन्।

भौगोलिकरूपबाट जनकपुरभन्दा सबल र सक्षम वीरगन्ज भएका कारण वीरगन्जलाई राजधानी बनाउन दबाब दिने उद्देश्यले आइतबार वीरगन्ज बजार बन्द आह्वान गरिएको संघर्ष समितिका सदस्य एवम् तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताए।

वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानीका माग गर्दै स्थानीय घण्टाघरमा करिब एक महिनादेखि रिले अनशनसमेत जारी रहेको छ। माघ ३ गतेभन्दा अगाडिबाटै आन्दोलन गरेका वीरगन्जबासीको भावनामाथि कुठराघात हुने गरी माघ ३ गतेको मन्त्रिपरिषद्को बैठकले जनकपुरलाई २ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेपछि आन्दोलनकारीहरू झनै आक्रोशित बनेका हुन्।

वीरगन्जबाट प्रदेशसभामा विजयी भएका एमाले र कांग्रेसका सांसदहरू भने वीरगन्जलाई राजधानी बनाइने प्रतिबद्धता जनाएपछि मधेसवादी दलका सांसदलाई भने मुख्यमन्त्रीको लोभ देखाइएका कारण उनीहरू चुप रहेको आन्दोलनकारीहरूको अरोप छ।

प्रतिक्रिया दिनुहोस्