हुन्डाई ठगी प्रकरण, ग्रान्ड आईटेनमा समेत ठगी



नेपाल समाचारपत्र, काठमाडौं ।

अन्तर्राष्ट्रिय अटोमोबाइल्स कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड आइटेनमा अत्यधिक मूल्य असुल्ने गरेको तथ्य फेला परेको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै ठगी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई आग्रह गरेको छ। विभागका अनुसार सबै कागजपत्र तयार गरी थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरीलाई निर्देशन दिएको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हुन्डाई कम्पनीका गाडी बिक्री गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टलले उपभोक्ताबाट अतिरिक्त शुल्क लिएको भेटिएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो– ‘करिब एक महिनाअगाडि विभागले गरेको अनुगमनका क्रममा हुन्डाई गाडीको बिक्रीमा कैफियत भेटिएको थियो। सबै प्रमाण संकलन र बयानको काम सकिएपछि हामीले प्रहरीलाई पत्रचार गर्न लागेका हौं।’

अञ्जन श्रेष्ठ
सञ्चालक
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि

विभागले लक्ष्मी इन्टरकन्टिनेन्टलले इओन इरा गाडीको बिक्रीमा ५३ प्रतिशत र ग्रान्ड आइटेन म्याग्ना गाडीको मूल्यमा ४३ प्रतिशत कम्पनीलाई नाफा हुने गरी ग्राहकसँग पैसा असुल्ने गरेको फेला पारेको थियो। नेपाली बजारमा निकै रुचाइएको इओन गाडीको मूल्य १२ लाख ४४ हजार रुपियाँ रहेकोमा विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ लाख ९८ हजार रुपियाँमा बेच्ने गरेको पाइएको छ।

त्यसैगरी ग्रान्ड आईटेन गाडीको मूल्य १८ लाख ८७ हजार रुपियाँ रहेकामा कम्पनीले २६ लाख ९६ हजार रुपियाँमा बेच्ने गरेको छ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सञ्चालक अञ्जन श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्षसमेत हुन्। अटोमोबाइलका क्षेत्रमा देखिएका समस्या तथा नीतिगत रूपमा राज्यलाई सहयोग गर्ने संस्थाका अध्यक्ष सञ्चालक रहेको कम्पनीले सर्वसाधारण ठग्ने गरेको भेटिएको छ।

पछिल्लो समय बजार अनुगमनका क्रममा सवारी विक्रेता कम्पनीहरूले अस्वाभाविक रूपमा विभिन्न शीर्षकमा ग्राहकबाट मूल्य असुल्ने गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागले कारबाहीका लागि भूमिका खेलिरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको व्यवसायमा कैफियत देखिए पनि थप प्रमाण जुटाउन र कम्पनीका प्रतिनिधिलाई बयान लिन समय लागेकाले अनुसन्धान कार्य पूरा हुन समय लागेको महानिर्देशक दाहालको भनाइ छ।

कालोबजार ऐन २०३२ अनुसार वस्तुको मूल्यमा २० प्रतिशतभन्दा बढी मूल्य लिन नपाउने व्यवस्थामा लक्ष्मी इन्टरकन्टिनेन्टलले ५३ प्रतिशतसम्म बढी मूल्य लिएको भेटिएको छ। मालवस्तुको उत्पादक, आयात वा मुख्य वितरकले निर्धारित गरेको मूल्यभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ।

कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्