साथी बचाउन चिसा व्यवसाय



चिरञ्जीवी मास्के, दोलखा । सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बोर्डिङ स्कूलका केहि विद्यार्थीले ब्लड क्यान्सरबाट पीडित साथीलाई बचाउन चिया बेचेर आर्थिक सङ्कलन सुरु गरेका छन् ।

सदरमुकाम चरिकोटकै कालिञ्चोक उच्च माविमा कक्षा ९ मा अध्यन गर्ने साथी मदन केसी ब्लड क्यान्सरबाट पीडित भएर उपचार गराई रहेकाले उनको सहयोगको लागि स्कूल गएर उब्रिएको विहान बेलुकाको समयमा चिया बेचेर आर्थिक सहयोग सङ्कलन गरिरहेको चिया बेच्न सक्रिय आशिष चौलागाईले बताए ।

हामी हाम्रो साथी मदनलाई बचाउछौ भन्ने नाराका साथ चरिकोट स्थित गौरीशङ्कर बोर्डिङ स्कूलका विद्यार्थीहरुले सुरु गरेकोे चिया बेच्ने अभियानमा कक्षा ७ मा अध्यनरत आशिषसंगै ब्लड क्यान्सरबाट पीडित मदनको बैनी कक्षा ६ मा अध्यनरत मनिषा केसी, कक्षा ७ मा अध्यनरत एलिना पोखरेल लगाएत सहभागि छन् ।

उनीहरुको अभियानको सुरुवात भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गरेका थिए । नगरप्रमुख केसीले चिया पिए वापत रु ५ हजार सहयोग गरेका थिए । चरिकोटको मुख्य चोकमा सुरु भएको अभियानमा चिया पिए वापत कुनै शुल्क निर्धारण गरिएको छैन् । मानिसहरु आएर चिया पिउछन् र आफ्नो गच्छे अनुसार एक सय देखि १० हजारसम्म सहयोग पेटिकामा सहयोग रकम राखिदिने गरेका छन् ।

हामी यो अभियान माघ २४ गतेसम्म सञ्चालन गर्ने छौ र उठेको रकम पीडित मदनको बुबा नारायण केसीलाई दिने छौ – अभियानमा संलग्न विद्यार्थी एलिना पोखरेलले भनिन् । अभियानमा संगै रहेकी पीडितको बैनी मनिषा केसी साथीहरुले आफ्नो दाइको सहयोगको लागि सुरु गरेको अभियानले आफुलाई निक्कै खुशी बनाएको उल्लेख गर्दै सबैबाट यसैगरी सहयोग भए दाइले पुर्नजीवन पाउने कुरामा आफु आशावादी रहेको बताउछिन् ।

कालिञ्चोक उच्च माविमा कक्षा ९ मा अध्यनरत भीमेश्वर नगरपालिका वडा नम्बर ५ का १४ बर्षिय मदन केसी विगत एक महिना देखि ब्लड क्यान्सरबाट पीडित भएर काठमाडौँको सिभिल अस्पतालमा उपचार गराई रहेका छन् । डाक्टरले छोराको उपचारको लागि १५ लाख भन्दा बढी खर्च लाग्ने बताएको मदनका बुबा नारायणले सुनाए ।

उपचारमा दैनिक ५० हजार खर्च भै रहेको र आफ्नो आर्थिक अवस्था कम्जोर रहेकोले सहयोगको अपेक्षा गरेको बुबा नारायण बताउछन् । छोराको साथीहरुले सुरु गरेको अभियानले छोरा बचाउन सकिन्छकी भन्ने आत्मविश्वास बढेको उनको भनाई छ । अभियानको तेस्रो दिनसम्म झण्डै २ लाख संकलन भएको अभियानमा विद्यार्थीलाई साथ दिदै आएकी गौरीशङ्कर बोर्डिङ स्कुलकी शिक्षक विन्देश्वरी खतिवडाले बताईन ।

यसै बीच ब्लड क्यान्सर पीडित मदन केसीको उपचारमा सहयोग गर्न गौरीशंकर बोर्डिङ स्कुलका शिक्षक राजन बुढथोकीले बिभिन्न व्यक्तिबाट सङ्कलन गरेको एक लाख ३० हजार आठ सय ७० रुपँैया प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङले पीडित केसीको बुबा नारायण केसीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्