रामसुन्दर देउजाको ‘मन’



श्रीराम श्रेष्ठ
रामसुन्दर देउजा एक क्रियाशील कवि हुन्। गौरीगाउँ, काभ्रेपलाञ्चोक स्थायी घर भएका कवि देउजा साहित्यका साथै पत्रकारितामा पनि दिलचस्पी व्यक्तित्व हुन्। लामो समयदेखि शिक्षण पेसामा आबद्ध देउजा ओझेलमा परेका तर आशा लाग्दा सर्जक हुन्। उनी सामाजिक दायित्व बहन गरेबापत जनमत सहयात्री सम्मान, षड्भूजिविनायक सम्मान, उत्कृष्ट शिक्षण सम्मान, बूढानीलकण्ठ आश्रम प्रंशसा पत्र, सुसन्देश साहित्य सम्मान आदिबाट विभूषित भइसकेका छन्।

जनमत साहित्यिक मासिक, जागृति युवा क्लब, काभ्रेली साहित्य समाज, ज्योतिष्मति समाजजस्ता सामाजिक संघसंस्थामा आबद्ध कवि देउजा ‘मन’ नामक मुक्तक सङ्ग्रह लिएर आएका छन्। योभन्दा पहिले उनको ‘भाँचिएको मन’ (कवितासङ्ग्रह २०७३) प्रकाशित भइसकेको छ। यिनका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका एक सय एक थान मुक्तकहरू रहेको यस सङ्ग्रहलाई जनमत प्रकाशनबाट प्रकाशित गरिएको हो।

कविताको उपविधाको रूपमा लिइन्छ मुक्तक विधालाई। जसरी नेपाली साहित्यमा हाइकु, ताङ्का, सिजो, चोका, गजल लेख्दा नियममा बाँधिएर लेख्नुपर्ने हुन्छ, त्यसै गरी मुक्तक लेखाइमा पनि त्यो नियम लागू हुन्छ। मुक्तक संरचनाको स्वरूप हेर्दा उर्दूको रुवाइ शैलीका चतुष्पदीय अनुसार लेख्नुपर्ने हुन्छ। पहिलो, दोस्रो र चौथो लाइन अनुप्रास मिलेको र तेस्रो अनुप्रासहीन। देउजाको सङ्ग्रहमा समावेश सबै मुक्तकलाई अध्ययन गर्दा नियमसंगत नै देखिन्छ। विशेषतः कवि देउजाले माया, प्रेम, राष्ट्र राष्ट्रियता, प्राकृतिक मनोरम दृश्य, संस्कृति, जातीय संस्कार, सामाजिक विकृति–विसंगति, आशा–निराशा, विद्रोही स्वर, मानवताजस्ता विषयवस्तुमा केन्द्रित रहेर लेखेका मुक्तकहरू सरल, सहस चोटिला र मीठासपूर्ण रहेका छन्।
विकासको पहिलो सिँढी भनेको नै शिक्षा हो। शिक्षा बहुमुखी, बहुरूपी, बहुउपयोगी र बहुमार्गी हो। तसर्थ शिक्षा मानवको तेस्रो अाँखा हो। कवि देउजा लेख्छन्–

शिक्षा हाम्रो प्राण
शिक्षा नै हो ज्ञान
शिक्षा हाम्रो मेरूदण्ड
शिक्षा नै हो महान्।
मुक्तककार देउजाले आफूले विश्वास गर्दागर्दै पनि आफूमाथि विश्वासघात गर्ने मित्रहरूमाथि यसरी शब्द प्रहार गरेका छन्–
हिउँद वर्षा झरी बादल झेलेर आएँ
बेतिथिसँग पौँठाजोरी खेलेर आएँ
पछाडि खुट्टा तान्नेहरूलाई के भनौँ
ती नाथेहरूलाई पनि पेलेर आएँ।
त्यस्तै मायाप्रीति, विरहजस्ता भाव भएका मुक्तकहरू पनि देउजाको संग्रहमा यथेष्ट छन्। साथै मनमा उब्जने नकारात्मक सोचलाई त्यागी सकारात्मक सोचको विकास गर्नुपर्दछ अनि मात्र जिन्दगीको दौडमा सफल भइन्छ भन्नेमा जोड दिन्छन् कवि देउजा ः

कुविचार मासेकै राम्रो
फूललाई गाँसेकै राम्रो
जिन्दगी गतिशील यात्रा
दुःखमा पनि हाँसेकै राम्रो।
बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय स्वरुपले सुसज्जित देश हो नेपाल। राष्ट्रिय जनगणना २०६८ ले ६१ जातिको सूचीकृत गरेको छ। तर केही समाजशास्त्रीय विद्वान्हरूको भनाइअनुसार नेपालमा १५० भन्दा बढी नै पारिवारिक समूहको बसोबास रहेको छ। उच्च हिमालदेखि पहाड हुँदै तराईमा बसोबास गर्ने जातिहरूको आफ्नै धर्म, संस्कृति र मौलिक परम्परा विद्यमान छन्। नेपाल सांस्कृतिक विशिष्टताका कारण विश्व मानचित्रमा परिचित छ। यसरी आफ्नो देश नेपाल र आफू नेपाली हुनुको गर्व गर्दै मुक्तककार देउजा यसो भन्छन् ः
कति राम्रो देश यो अति राम्रो भेष
यही नेपाली पहिरन सारै राम्रो वेश
संस्कृति छन् भिन्न भिन्न जाति अनेक
मिलेका छन् हिमाल र पहाड मधेस।

नेपाली जनताले राज्य सञ्चालन गर्न राजनीतिक दलका नेताहरूलाई मताधिकार दिएका छन् तर राजनीतिक दलले नेपाली जनतालाई विश्वस्त दिलाउन सकेका छैनन्। राजनीतिक दल र नेताहरूलाई सजग गराउन कवि देउजा चुनौती दिन पनि पछि हट्दैनन्। जिन्दगी बगेको खोलाको पानी जस्तै हो। फर्केर कहिले आउँदैन। जति बाँचिन्छ हाँसीखुशी, मेलमिलाप, सहयोगी मन लिएर बाँच्दा नै सफल भइन्छ। मानवीय सेवा नै परम धर्म हो भन्छन् कवि।

समग्रमा भन्नुपर्दा, मुक्तककार रामसुन्दर देउजाले प्रस्तुत सङ्ग्रहका मुक्तकहरूमा जीवन भोगाइका यथार्थलाई पस्केका छन्। मुक्तकका पारखी पाठकका लागि राम्रो खुराकको रूपमा आएको छ। तीतो सत्य भनेझैँ कतिपय मुक्तकहरूको भाव उस्तै–उस्तै लाग्नुका साथै सङ्ग्रह प्रकाशन गर्दा अलि धैर्य गरेर मुक्तकको सङ्ख्या थपेको भए राम्रो हुने थियो।

जे–जसो भए तापनि कवि देउजाले आफूलाई मुक्तकाकारका रूपमा उभ्याउने प्रयत्नमा सफलता प्राप्त गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्