गायन–लेखन क्षेत्रको सम्मानित नाम



मोहन दुवाल
स्वास्थ्य स्थिति खस्केको कारणले हाल चन्द्रकला नेवार औषधोपचारको लागि विदेशमा छन्। यिनको सिर्जना, गायन र नेपाली भाषामा पुर्याएको योगदान अविस्मरणीय छन्। यिनै स्रष्टाको स्वास्थ्यलाभको कामना गर्दैै यिनी बारे मैले सुनेका, देखेका र भोगेका विम्ब–अंशहरूलाई यहाँ स्मरण गर्न खोजिरहेछु। २०६५ असोजको जनमत मासिकको एउटा अंक यिनका सुकीर्तिका लागि समर्पित छ। सयपत्री प्रतिष्ठान नेपाल, जनागाल काभ्रेबाट यिनी श्रीमान्सँग सम्मानित हुँदाका क्षणका मुहार झल्झली सम्झनामा आइरहन्छ। धैरै पटक यिनको कोठामा भएका साहित्यिक कार्यक्रममा भाग लिन पाएको र यिनको सक्रियता पटक–पटक देख्न पाएको याद आइरहन्छ। यिनै स्रष्टालाई सम्झेर पुनः उनकै सम्झनामा यिनका साहित्यिक विम्ब उच्चारण गरिरहेछु।

सानै छँदादेखि घरको गीतिमय वातावरण पाएर गीत गाउँदै आएकी चन्द्रकला गीत–गायनक्षेत्रमा आफ्नै पहिचान देखाउन सफल छिन्। प्रवासका रेडियो स्टेसनहरूमा गीत गाएर गायिकाका रूपमा ख्याति कमाइसकेकी चन्द्रकलाले यस क्षेत्रमा लाग्ने प्रेरणा आफ्नै पिता तथा माताबाट प्राप्त गरेकी हुन्। आफ्नै दाजु र दिदीले पनि गीत गाउने र उनीहरूले गाउन जाने ठाउँमा सँगै लाने भएर पनि यिनको गीत गाउने चाहना प्रबल हुँदै गयो। एकपल्ट गोरखा लिगको कार्यक्रममा दाजु र दिदीसँगै गीत गाउनका लागि गइन्, हो, त्यसै बेलादेखि यिनले प्रथमपटक ४ वर्षकी छँदा आफ्नै पिताले लेखेको ‘जाग जाग गोर्खा भाइ जागृत गरौं समाजलाई’ भन्ने बोलको गीत सबैलाई मन्त्रमुग्ध हुने गरी सुनाइन्। यस्तै प्रेरणा पाएर थुप्रै कार्यक्रमहरूमा गीत सुनाउँदै यिनले आफ्नो पहिचान गायिकाका रूपमा देखाउन सफल भइन्। उनले सन् १९५९ देखि अर्थात् उनी १७ वर्षकी हुँदा अल इन्डिया रेडियो, गुहाटी स्टेसनबाट गीत गाउन शुरू गरिन्। यसरी गुहाटी, आसाम र अन्य ठाउँबाट यिनले हजारौं गीतहरू गाएर गायन व्यक्तित्व प्रवासमा देखाउन सफल भइन्।

वि.सं. १९९८ चैत २ मा पिता भक्तबहादुर प्रधान र माता कुमारी प्रधानकी छोरी भएर डिगबोई, आसाममा चन्द्रकला भई जन्मेकी यिनले आसाममा प्रवासी नेपाली भएर बाँच्न कत्तिको संघर्ष गर्नुपर्छ, त्यसको सबै कथा र व्यथा मन र आँखामा राखेकी छन्। नेपालीहरूलाई हेय दृष्टिले हेर्ने भारतीयहरूको भावना र नेपाली भाषाप्रति हुने सौतेनी व्यवहारबाट भाषा–आन्दोलनमा निकै सक्रिय भएर लाग्ने प्रेरणा १९७१ मा भाषा आन्दोलन समिति बनेपछि उनले पाएकी हुन्। कक्षा ६ सम्म मात्र नेपाली पढ्न पाइने कारणले नेपाली भाषा पढ्नुको केही सार्थकता नहुने अनि नेपाली भाषीहरूले पनि बाध्य भएर अन्य भाषा लिएर अध्ययन गर्नुपर्ने स्थितिले यिनको मनमा पनि गहिरो चोट पुर्यायो। अनि यिनी पनि एकजना स्वाभिमानी प्रवासी नेपाली भएर सङ्घर्षमा लागिरहिन्। नेपाली भाषालाई मान्यता दिलाउन यिनी सक्रिय भएर लागिरहिन्, सङ्घर्षको झन्डा गौरवसाथ उचालिरहिन्। यसर्थ भन्न सकिन्छ, यिनको योगदान नेपाली भाषालाई मान्यता प्राप्त गराउने अभियानमा पनि सक्रिय छ।

सुरिलो कण्ठकी गायिका तथा स्वाभिमानी सङ्घर्षशील महिलाका रूपमा प्रवासमा पहिचान दिँदै आएकी चन्द्रकला नेवारले साहित्यमा पनि आफ्नो कलम चलाएकी छन्। शुरू–शुरूमा असमियामा लेख्दै आएकी यिनका साहित्यिक गुरु आफ्नै बाजे (अजा) हुन्, जसको प्रेरणाले उनी साहित्य लेख्दै गरेको सन्दर्भ सुनाउने गर्छिन्। कवि हरिभक्त कटुवालसँग नजिकको नातासम्बन्ध पनि रहेकाले यिनले कटुवालसँग पनि नेपाली भाषा र साहित्य सिक्ने प्रेरणा पाइन्। ‘एक दीप दुई पुतली’ नामक कथा सर्वप्रथम नेपालीमा लेखेकी यिनी सन् १९६३ मा नै ममता कथा लेखेर अल इन्डियाको कथा प्रतियोगितामा प्रथम भइन्। कथा लेखनमा पनि यिनी आफ्नै ढङ्गको पहिचान छोड्न सफल छिन्। साहित्यको पहिचान भनेको मानवीय मूल्य र स्वाभिभान नै हो। यसले सर्वोपरि महत्व राख्ने प्रश्नसँगै गाँसिएर देशको समस्यालाई हेर्दै जीवनको यथार्थलाई सकार्छ। यसरी साहित्यको परिभाषा व्यक्त गर्न रुचाउने चन्द्रकलाले ममता कथासङ्ग्रह २०२२ सालमा र चक्रव्यूह कवितासङ्ग्रह २०५० सालमा प्रकाशित गरेकी छन्।

हाल यिनी औषधोपचारको क्रममा अमेरिकामा बसोवास गर्दै छिन्। साहित्यिक सभा–समारोहमा धाउने कार्यहरू गरेर र साहित्यिक संघ–संस्थामा रहेर आफूले सकेको क्रियाकलाप गर्ने कार्यमा हाल यिनी स्वास्थ्य स्थितिकै कारणले ओझेलमा छन्। प्रस्ट आफ्नो विचार सम्प्रेषण गर्न रुचाउने चन्द्रकलाले डा. दिलबहादुर श्रेष्ठको मायाप्रीति पाएर दुई छोरा सञ्जय र सुजय अनि छोरी सुजातालाई जीवनपथमा हुर्काएकी छन्। अध्ययनशील लेखिका, सुरम्य गला भएकी गायिकाका रूपमा चिरपरिचित चन्द्रकला नेवार जीवनप्रतिको आफ्नो दृष्टि यसरी फुकाउने गर्छिन्– मुठ्ठीको बालुवा चिप्लेर झरेझैँ जीवन चिप्लिरहेछ, सिक्न धेरै बाँकी छ। सधैँ सिक्न खोजिरहेकी, जीवन भोगिरहेकी गायिका तथा लेखिका चन्द्रकलाले गुञ्जन, मितेरी नेपाल, बासु शशी स्मृति परिषद् आदि सङ्घसंस्थामा रमेर आफ्नो गच्छेअनुसारको सेवा पुर्याएकी हुन्।

मानवीय अहंको रक्षाका लागि, मानवीय मूल्य र स्वाभिमानका लागि सङ्घर्षरत रहन जीवनको इच्छा फुकाउने चाहना बोकेकी लेखिका चन्द्रकलाले घरायसी कामकाजपछि स्वास्थ्य स्थिति राम्रो भएको बेला बचेको आफ्नो अमूल्य समय लेखनमा लगाउने गर्छिन्। ‘चन्द्रकला नेवारका गीतहरू’ नामक एउटा मात्र एल्बम निकालेकी यिनका हाल सीताको वनवास (रेडियो रुपक) प्रकाशित छन्। गाउनमा पनि माहिर गायिका भारतमा छँदा निकै ख्याति कमाएकी गायिकाका रुपमा यिनी चिरपरिचित थिइन्। नेपालमा भारतको प्रवासमा जति पनि सहुलियत र सम्मान प्राप्त नहुने नेपालको साङ्गीतिक क्षेत्रभित्रको कहालीलाग्दो भ्रष्टताका कथा र व्यथा देखेकी र भोगेकी गायिका चन्द्रकलाले नेपालमा बसोबास गरेपछि त्यति राम्ररी गायनक्षेत्रमा आफूलाई सक्रिय पार्न रुचि देखाइनन्। गीत गाउन पनि चाकरी बजाउन जानुपर्ने परिवेश नियालेपछि शायद उनको स्वाभिमानमा चोट पुगेको हुनुपर्छ। यसैले त चन्द्रकला नेवारजस्ती सुरिलो कण्ठ भएकी गायिकाको गला बन्द हुन पुग्यो। ‘म अचेल गाउँछु तर फाटफुट मात्र गाएर के गर्ने भाइ ? यहाँको परिपाटी नै कस्तो–कस्तो ? म त छक्क पर्छु, उनी बरोबर दुखेसो पोख्ने गर्छिन्।

नेपालकै गौरवका लागि आफूलाई प्रवासमा समर्पित तुल्याएकी नेपाली भाषा–आन्दोलनमा सक्रिय चन्द्रकला नेवारले अखिल भारतीय नेपाली भाषा समितिको उपाध्यक्षसमेत भई १० वर्षसम्म निरन्तर सक्रिय कार्यकर्ताका रूपमा आफूलाई चिनाइन्। यिनको यस्तै सक्रियता र स्वाभिमानलाई कदर गरेर सन् १९८४ मा आसाम प्रगतिशील शिल्पी साहित्य सङ्घद्वारा र सन् १९९५ मा अखिल भारतीय नेपाली भाषा समिति, आसामद्वारा यिनको सम्मान भएको छ।

स्नातकसम्म अध्ययन गरेकी चन्द्रकला अचेल साहित्य–साधनामा र साहित्यिक क्रियाकलापमा रम्न नपाउँदा आफ्ना क्षणहरू कसरी गुजारिरहेकी होलिन् ? यिनले आफ्ना मनमा साहित्य–संगीत भाषालाई कसरी सम्हालिराखेकी होलिन् ? साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ र विदेशी साहित्यकारहरूमा अमृता प्रीतम, अतीन दुवरा, महादेवी बर्मा मन पराउने यिनी साहित्य र गायन क्षेत्रमा बिर्सिन नहुने चम्किला अनुहार हुन्। पहेँलो र नीलो रंग मन पराउने यिनका भावनाहरू सिर्जनामा मानवीय मूल्यका प्रसंगहरू भएर व्यक्त भएका छन्। यिनीजस्ता भावनाका धनीहरूको खोजीनीति यस

देशमा कहिले हुने हो ?
यहाँ त खोजी गर्ने होइन, धाउनु पो पर्छ। सिर्जना होइन, नाता पो चाहिन्छ। यहाँ त विचारका अडबाङ्गेहरू पनि सुन्दर स्रष्टा बन्छन्। सुन्दर सौम्यताका धनी गायिका तथा लेखिका चन्द्रकला नेवार मात्र होइन, यहाँ त यस्तै चन्द्रकलाहरू सुक्दै, झर्दै पो जान्छन्। यस खालको धमिलो परिवेशमा चन्द्रकला नेवार पनि श्वास फेर्दै छिन्। म कामना गर्दछु– चन्द्रकला नेवारको स्वास्थ्यलाभ होस् र सिर्जनामा पुनः गति दिन सकून्।

प्रतिक्रिया दिनुहोस्