शेरबहादुर एउटा अनौठो फिल्म



पुष्करलाल श्रेष्ठ

गत मंगलबार कामना फिल्म अवार्ड कार्यक्रम चलिरहँदा कलाकार सुनील थापाले ‘भोलि भ्याउनुहुन्छ भने शेरबहादुर हेर्न आउनुस् न है सर’ भन्नुभएको रहेछ। कार्यक्रमको ठूलो आवाजले सुनीलको कुरालाई राम्ररी ठम्याउन पनि सकिएको थिएन।

त्यसैले भोलिपल्ट बुधबार फेरि फोनमा कुरा भएपछि मात्र उहाँसहितको अभिनय भएको नेपाली फिल्म शेरबहादुरको प्रिमियर शो हेर्न निम्तो गर्नुभएको रहेछ भन्ने प्रष्ट भयो। श्रीमतीसहितको निम्तोमा विशेष कारणले श्रीमती जान नसक्ने भएपछि केही साथीलाई लिएर बुधबार बेलुकी शेरबहादुर हेर्न कुमारी हल पुगियो।

साँझ ६ बजे शुरु हुने भनिए पनि सुनील थापासहितका स्टार नेपाली कलाकारहरूसँग तस्वीर खिच्न तँछाडमछाड गरिरहेका दर्शकहरूको ओइरोले गर्दा फिल्म १ घन्टा ढिलो गरी ७ बजे मात्र शुरु भयो। सँगै गएर सो चलचित्र हेर्न अनुरोध गरेका एक साथीले ‘नाम नै शेरबहादुर, के राम्रो होला र त्यो फिल्म?’ भनेका थिए।

तैपनि मेरो अनुरोध टाल्न नसकी फिल्म हेर्न आएका साथीहरूलाई मध्यान्तर हुनेबित्तिकै ‘फर्कन ढिलो होला जाऊँ’ भन्दै फिल्मबारे अप्रत्यक्षरूपमा उनीहरूको मन चोर्न खोज्दा ‘यस्तो सस्पेन्स थ्रिलर फिल्मलाई पनि त्यत्तिकै बीचमा छोडेर कोही जान्छ? कस्तो मजा आइरहेको छ’ भन्दै उल्टै मलाई समेत पूरै फिल्म हेर्न प्रोत्साहित गरे।

संयोगले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ पनि सँगै बसेर फिल्म हेरिरहनुभएको थियो। उहाँले मध्यान्तरपछि आफ्नो प्रतिक्रिया दिँदै ‘फिल्म त रमाइलो भइरहेको थियो तर आमा बिरामी भएर गंगालाल हस्पिटलमा राखेको छु, घरमा भाउजूको हालत पनि तपाईंलाई थाहा नै छ, मलाई छिट्टैै घर जानु छ’ भन्नुभयो।

मसँग बिदा भएर मदनकृष्ण फर्कनुभएपछि उहाँसँगै बसिरहनुभएका अर्का चर्चित कलाकार किरण केसीलाई सँगै बस्न अनुरोध गरेंं। मसँगैको सिटमा आएर बस्नेबित्तिकै उहाँले भनिहाल्नुभयो– ‘साथीहरूले फिल्म त गज्जबै बनाएको रहेछ। बरु, खोई दर्शकले यस्तो फिल्म मन पराइदेलान् कि नपराइदेलान्?’ फिल्मको मध्यान्तरभित्रै यसरी तीन फरक खालका दर्शकको सकारात्मक प्रतिक्रिया आइसकेको थियो।

नाम मात्र सुन्दा यो कुनै जंगबहादुरको जस्तो ऐतिहासिक फिल्म हो कि जस्तो लागेको थियो। साधारण कुरो भए पनि समाजका लागि एउटा नहेरी नहुने सान्दर्भिक सन्देश बोकेको शेरबहादुरले अन्त्यसम्म दर्शकलाई यसरी कौतूहलतामा बाँधिराख्न सफल भएको देखिन्छ कि फिल्म कुन बेला कसरी सकिन्छ भन्ने दर्शकले अनुमान नै लगाउन सक्दैनन्। शेरबहादुरको भूमिकामा देखिएका मुख्य पात्र सुनील थापा, अभिनेत्री मेनुका प्रधान, अभिनेताद्वय कर्मा शाक्य र रवीन्द्र झा गरी मात्र चार कलाकार वरिपरि घुमेको यो फिल्मले पूरै अढाइ घण्टा दर्शकलाई बाँधिराख्न सफल भएको छ।

न कुनै तडकभडक, न धेरै गानाबजाना, न कुनै ठूलो प्रेमरोमान्स, न धेरै नाम चलेका कलाकार, न कुनै विविध तथा आकर्षक लोकेसन, न कुनै ठूलो ढिस्सुमढास्सुम, तैपनि फिल्म नसकिउन्जेल दर्शकलाई कौतूहलता जगाइराख्ने यस्तो अनौठो नेपाली चलचित्र त अहिलेसम्म हेरेकै छैन भन्दा हुन्छ।

सेलीब्रेटी कलाकारहरूको भीडभाड र तडकभडक मन पराउने हाम्रो जस्तो सामाजिक संरचना भएको फिल्मी बजारमा व्यावसायिक हिसाबले यो फिल्मले कति सफलता प्राप्त गर्छ, यो केही दिनपछि थाहा हुने नै छ। तर एक दुजे के लिए, मेरी कोमजस्ता चर्चित हिन्दी फिल्महरूमा समेत आफ्नो दमदार अभिनयले ख्याति आर्जन गर्न सफल भइसकेका अनुभवी कलाकार सुनील थापासँगै पूरै कलाकारलाई उत्तिकैै जोडदार अभिनय गराउन सफल चलचित्रका नवनिर्देशक आर राजवंशीको सिर्जनशीलता र मेहनतलाई फिल्म हेरेपछि प्रशंसा नगर्ने शायद कोही दर्शक भेटिएलाजस्तो लाग्दैन।

न कलात्मक भन्न मिल्ने, न त व्यावसायिक नै भन्न मिल्ने, हलिउड फिल्म डन्ट ब्रिथबाट प्रेरित भनिएको बिल्कुलै फरक धारको यस्तो अनौठो फिल्म बनाउन हिम्मत गर्ने छायांकार तथा निर्माता गौरी शंकर धुजु र निर्माता धिराज राजवंशीको हिम्मतलाई पनि प्रशंसा गर्नैपर्छ। फिल्म सकेर दर्शकको प्रतिक्रिया सुन्दै सिनेमा हलबाट निस्कँदै गर्दा कम बजेटमा तयार गरिएजस्तो देखिने यो फिल्मले आफ्नो लगानी पनि सजिलैसँग उठाउने अनुमान लगाउन सकिन्छ।

समीक्षा नै गर्ने हिसाबले चलचित्र नहेरिएकाले केही नलेखे पनि हुने त हो, तर शेरबहादुर हेरेर आइसकेपछि यही कुरा मात्र दिमागमा खेलिराखेकाले यति कुराचाहिँ नलेखेर बस्नै सकिनँ।

प्रतिक्रिया दिनुहोस्