चमत्कारिक कथा



कमल ढकाल

शिव सूत्रले भन्छ– ‘बारम्बार दोहोर्याउने सकारात्मक कुराले आत्मालाई समेत जगाइदिन्छ र आत्मा नाच्न थाल्छ र दोहोर्याइएको कुरा साँच्चै संसारमा प्रकट हुन थाल्छ।’ शिव सूत्र जाने पनि नजाने पनि पढे पनि नपढे पनि दुःखमा मान्छे सकारात्मक हुन सक्यो, सकारात्मक काम दोहोर्याइरहन सक्यो भने उसको गरेको काम साच्चै संसारमा प्रकट हुन थाल्दो रहेछ।

संसारले ठान्ने अद्भूत कथाका पात्र हाम्रै नेपाली समाजमा छन्। पश्चिमा विश्वलाई आश्चर्य लाग्ने गरिबीसँग पौठेजोरी खेल्दै धेरै नेपालीले आफूलाई अब्बल बनाउँछन्। बनाएका छन्। यस्तै एक कथाका पात्र हुन्– मेदिनबहादुर लामिछाने। हरितन्नम गरिबी भनेको यही होला जस्तो लाग्छ उनको कुरा सुन्दा। गरिबीको कथा नेपालीहरूका लागि बाँडेर नसकिने खुराक हो। जहाँतहीं लौन बाबा गरिब भएँ, गरिब छु भन्ने भेटिन्छन्। किनकि देश नै गरिब छ। मेदिन पनि त्यही गरिब समाजका एक पात्र हुन्। आजको दुनियाँलाई पत्यार नलाग्ने कथा उनले यसरी भोगेर अगाडि बढे ः

चमत्कार चौबीस घन्टामा हुँदैन। यसको लागि पनि समय चाहिन्छ। अलिकति सृजनशिलता, काम गरिहालौं भन्ने उत्साही मन, लगातार एकै काममा लाग्न सक्ने समर्पण र इमानदारिताकोे पछि चमत्कार लुकेको हुन्छ।

 

गोर्खा तान्द्रागको रूखका फेदमुनि उनले ओछ्याएको चकटी आज विस्मृतिमा मात्र भेटिन्छ। विस्मृतिको उत्खनन् युलेन्स स्कुलको सुकिलो ठाउँबाट गर्दै विगतका मैला कुरा सम्झे मेदिनले। पढ्ने किताब नभएर दाजुभाइले एकै कक्षामा एक सेट किताब लिएर पढेको सम्झँदा यतिखेर पनि उनी भावुक हुन्छन्। घरैबाट लिएर गएको चकटीमा बसेको सम्झना धुमिल भइसक्यो। बिजुली बत्ति आईएड पास भएर काठमाडांै आएपछि देखेको बताउने मेदिनले मोटर नौ कक्षा पढ्दा मात्र देखेको भने। खाली खुट्टा कोसौं हिँडेर पढ्न जानु र वर्षैभरि एकै जोर लुगा लगाउनु त गाउँको नियम नै थियो। चार दशकअगाडिको त्यो कुराले उनलाई सधैं काम गर्ने जास भर्छ। सकारात्मक भएकैले आज मेदिनको यो स्टोरी बन्यो। यस्तो दुःखबाट आएर मैले केही गर्न सक्दिन भनेर नकरात्मक भइदिएको भए उनका साथीजस्तै उनी पनि हराउँथे।

केही गर्नुपर्छ भनेर आफंैलाई ऊर्जा भरेकै कारणले मेदिनले राजधानी काठमाडांै हुँदै अमेरिकाको कलेजमासमेत सोर्स अफ ईन्सपिरेसनको (प्रेरणाको स्रोत ) उपाधि पाए। अमेरिकाको बैक स्ट्टि ग्राजुयट स्कुल अफ एजुकेसनमा एडभान्स मास्टर डिग्रीको कक्षाका एक साथीले उनको फोटो राखेर उनलाई प्रेरणाको स्रोत मान्दा मेदिन आफ्नो आँखाबाट त्यतिबेला बरर्र आँसु झरेको बताउँछन्। तान्द्रागको दुःख अमेरिकामा सम्मानित भएको महसुस गरेर सायद आँखाको पानी बगेको होला।

संस्कृत मावि तान्द्रागबाट आएको ठिटोले आफ्नो कथा अंग्रेजीमा पररर भन्दा सबै अचम्मित भएका थिए। सुखसयलमा हुर्केका अमेरिकनलाई पढाइमा उनले जिते। त्यो जित उनको मानसिकताको जित थियो। गरिब हुनु मानसिकता मात्र रहेछ। मेहनत गर्यो भने गरिबले धनीलाई धेरै पछाडि पार्न सक्दो रहेछ भन्ने कथाका नायक मेदिन आफैं बने। धनी अमेरिकनलाई पढाइमा जितेर।

जिज्ञाशा, डर र सकारात्मकता उनका तीन मित्र हुन्। त्यही जिज्ञाशाले उनलाई तान्द्रागबाट राजधानी हँुदै अमेरिका पुर्यायो। काठमाडौं आउँदा जस्तो डराएथे। जस्तो जिज्ञाशा थियो। अमेरिकामा त्यही भएको मेदिन बताउँछन्। सक्छु गर्छु भन्ने सकारात्मकताका कारण उनी अगाडि बढिरहे। डराई–डराई उनले जिन्दगी जिते।

हरेक मान्छेको सपना ठूलो बन्ने हुन्छ। उनको पनि थियो। मेदिनले देखेको सबैभन्दा ठूलो मान्छे भनेको गाउँको शिक्षक थियो। साना काँठीका मेदिनलाई एकै कक्षाका भए पनि अरूले सानो भनेर हेप्थे। आफ्ना सहपाठीसँग खेल्न नपाएपछि उनी साना भाइबहिनी बोलाएर आफू शिक्षक बनाएर पढाएको खेल खेल्थे। सानोको उनको खेल जिन्दगीभर नै चलिरयो। १४ वर्ष नीलगिरि स्कुलमा पढाए। युलेन्स स्कुलको प्रिन्सिपल भएकै एक युग भयो।

ठूलो वृक्ष सानो बीउमा हुन्छ। युलेन्सको पनि २००६ मा एक सानो अफिस थियो। गाई र मिरियम युलेन्सको नामबाट ट्रस्ट खुल्यो। नाम थियो, युलेन्स एजुकसनल फाउन्डेसन। त्यसले नै चलायो युलेन्स स्कुल। जसले टिचरलाई ट्रेनिङ दिन्थ्यो। स्कुल खोल्नुअगाडि ट्रस्ट र टिचर टे«निङ शुरु भएको थियो। विद्यार्थीभन्दा अघि प्रिन्सिपल र २४ जना टिचर थिए। युलेन्स स्कुलका प्रिन्सिपल मेदिन यो स्कुललाई केही वर्षमै अब्बल बनाउने यन्त्र हुन्। बिहान सात बजेदेखि बेलुकी ११ बजेसम्म पनि खटेर उनले स्कुललाई नयाँ ढंगमा चिनाए।

अरू आम स्कुलभन्दा युलेन्स फरक हुनुको कारण थियो पढाइमा विविधता। भिन्न तरिकाका प्रयोगहरू। जो मेदिनले अमेरिकामा पढेका थिए। त्यसलाई उनले प्रयोग गरे। विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय भनेर नछुट्याई आफैंसँग प्रतिस्पर्धा गर्न सिकाउँदो रहेछ युलेन्सले। प्रत्येक बच्चालाई युनिक मान्ने रहेछ युलेन्सले। सबै बराबर भन्ने नमानी सबै युनिक भनिएकोले एक अर्काेबीच तुलना गर्न नपाउन् भनेर युलेन्समा स्कुल ड्रेस पनि हालिएको छैन। मनोविज्ञानमा आधारित प्रयोगात्मक कक्षा लिनु। प्रयोग र छलफलबाट उनीहरूको भित्री निखारता ल्याउनु।

प्रयोगात्मक शिक्षामा जोड दिनु। ज्ञान निर्माण गर्ने हिसाबले लाग्नु, किताबी ज्ञान मात्र नदिनुजस्ता कुराले युलेन्सले स्पिड लियो। थट ब्लक हैन ओपन गरौं भनेर प्रश्न एक उत्तर अनेकको खोजीमा रहेको मेदिनले बताए। उनले भने– ‘हामी दशंै असोज–कात्तिकमा पर्छ मात्र भन्दैनौं, किन पर्छ भनेर सोध्छौ? जसले उत्तरमा विविधता ल्याउँछ।’ यस्तै कारणहरूले नै युलेन्समा भीड बढेको रहेछ।

एक मान्छे पैसाभन्दा ठूलो सम्पत्ति हो। सोम पनेरु उनका सम्पत्ति हुन्। जसलाई भेटेपछि मेदिनको जिन्दगी गोरेटोबाट हाई वे मा आइपुग्यो। टिचर टे«निङका लागि सोम पनेरुले लिएर गए। पनेरुले नै उनलाई स्कुल खोल्ने भनेर अमेरिका पढ्न पठाए। फर्केर आएपछि युलेन्सको काम शुरु भयो। अर्काे मान्छे उनकी श्रीमती मन्जु हुन्। जो संवत् २०५७ मा विवाहको मन्डपमा भेटिइन्। मन्जु र मेदिनको प्रेमको वृक्ष मन्दीप हुन्। जो आठ कक्षामा युलेन्समै पढ्छन्।

ढोलाहिटी जाने बाटोबाट आठ सय मिटरको दूरीमा रहेको युलेन्स स्कुलमा पहिले कार्पेट फयाक्ट्री थियो। कार्पेटको धूलो धुवाँ हटेर अहिले बच्चाको चिरबिर छ। ६५ विद्यार्थीबाट शुरु भएको स्कुलमा आज सात वर्षमै हजार, १२ सय विद्यार्थी छन्। एक कक्षादेखि आठ कक्षासम्म चलेको युलेन्स आज डिप्लोमा लेबलसम्म छ।

शुरुमा विश्वास जित्न गाह्रो हुन्छ। युलेन्सको सन्दर्भमा पनि यो भयो। दोस्रो वर्ष २ हजार २ सय अभिभावकले भ्रमण गरे पनि १ सय ३६ ले मात्र भर्ना गरे। पहिलो वर्षबाहेक आजका मितिसम्म भर्ना खुल्यो नभनेको मेदिन बताउँछन्। वर्षभरि नाम लेखाएका मान्छेलाई बोलाएर भर्ना गराउने उनले बताए। उनले भने– ‘सकेसम्म सबै जातजाति, वर्ग सम्प्रदाय पेसाका मान्छे परोस् भनेर अहिले बहुत ख्याल गरेका छौं, जसलाई उनीहरूले सानो नेपाल नाम दिएका छन्।’

आईभी डिप्लोमा प्रोग्राम नेपालमा चलाउने आफूहरू मात्र भएको मेदिनले दाबी गरे। यो प्रोग्राममा चार वर्षको कोर्स तीन वर्षमा सकिन्छ र स्कलरसिपका लागि पनि विश्वभर आईभी प्रोग्राम गरेकालाई लिने प्रचलन छ। ज्ञान निर्माण गर्ने शैली र परीक्षा प्रणालीमा फरकपनका कारण आज ८० जना शिक्षक पुगेका छन्। सबै गरेर १ सय ९० ले रोजगार पाएको युलेन्सले प्रगतिको छलाङ मारिरहेको छ। सँगसँगै गइरहेका छन् मेदिन पनि।

चमत्कार चौबीस घन्टामा हुँदैन। यसको लागि पनि समय चाहिन्छ। अलिकति सृजनशिलता, काम गरिहालौं भन्ने उत्साही मन, लगातार एकै काममा लाग्न सक्ने समर्पण र इमानदारिताको पछि चमत्कार लुकेको हुन्छ। मेदिनले पनि अहिले आफ्नो जिन्दगी र हिजोको जिन्दगी हेर्दा आफूलाई चमत्कार भएको मान्छन्। पुरानो तान्द्रागको परिचयमा आनको तान फरक परिसक्यो। राजधानीमा घर, गाडि, देश विदेश भ्रमण, मानसम्मानको नयाँ परिचय जो उनले सोचेकै थिएनन् जीवनमा। अहिले त्यो यथार्थ बनेको छ। यसलाई उनले चमत्कारकै रूपमा लिएका छन्। आफनो चमत्कारको कथा पछाडि कडा मेहनत, सकारात्मक सोच, अनुशासित जीवन र राम्रो चरित्र रहेको बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्