जो जिते पनि पाँचौं पटक च्याम्पियन



धन बस्नेत, पोखरा

आहा गोल्डकपको फाइनलमा पुरानै प्रतिस्पर्धी टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टारमध्ये एकले उपाधि उचालेसँगै वर्षदिनको विश्राम आयोजकले लिनेछन्। विजेता टोलीले ७ लाख नगदराशीसँगै ट्रफी लिएर काठमाडौं फर्किने छ। फाइनल यी दुवैका लागि यो पहिलो भेट हो। यद्यपि आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौं, सातौं र १३औं संस्करणमा एकआपसमा भइसकेको छ। चार संस्करणमा पुलिसले तीनपटक बाजी मारेको तथ्यांक छ।

तेस्रोको भेटमा पुलिसले बाजी मार्दा १३औं संस्करणमा भने थ्री स्टारले पुलिसलाई पराजित गर्दै उपाधिको यात्रामा निक्लिएको थियो। दुई संस्करणमा भने आहाको क्र्वाटरफाइनलमै आपमेसामने भइसकेको अवस्था छ। यद्यपि उपाधिलाई नियाल्दा थ्री स्टारले पाँचौं, नबौं, ११औं र १३औं संस्करणको उपाधि उचालिसकेको छ। १६औं संस्करणको उपाधि आफ्नो नाममा लेखाउँदै पाँचौं पटकको च्याम्पियन बन्ने अभियानमा छ थ्री स्टार।

पुलिस पनि पोखराको मैदानमा भाग्यमानी देखिँदै आएको छ। पुलिसले पनि पहिलो, छैटौं, सातौं, आठौं संस्करणको उपाधि उचालिसकेको छ। दुवै पाँचौं उपाधिको खोजीमा छन्। यद्यपि त्यसको फाइनल लेखाजोखा भने शनिबार मात्रै हुनेछ।

पुलिसले अधिकांश नयाँ खेलाडीलाई मैदानमा उतारेको छ। यू–१९ र यू–२३ का उमेरसमूह जसले नेपाली राष्ट्रिय क्याप लगाइसकेका छन्, तिनीहरूलाई मैदानमा उतार्दै खरो प्रतिस्पर्धीको रूपमा देखिएको छ। थ्री स्टार नेपाली राष्ट्रिय टोलीको उपकप्तान विक्रम लामाको नेतृत्वमा राष्ट्रिय खेलाडी तथा अन्य व्यावसायिक खेलाडीलाई उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। विश्वास श्रेष्ठ, निराजन खड्कालाई रोक्नुपर्ने चुनौती पुलिसका खेलाडीमाथि छ। रवि पासवान, सुमन लामा र अभिषेक रिजालको कम्बिनेसनलाई विफल तुल्याउने योजना थ्री स्टारले बनाउनेछ।

थ्री स्टार फाइनलमा पुगेपछि अपराजित एक्लो टोली हो। त्यसैले शनिबारको फाइनल खेल जित्ने रणनीति बुन्न प्रशिक्षक मेघराज केसी व्यस्त छन्। ‘फाइनलमा हारेका छैनौं। खेल त्यही रणनीति बनाएर खेल्छौं’, केसीले भने– ‘डेढ वर्षपछि नयाँ टिम तयार पारेर आएका छौं। इटहरी गोल्डकप जितेर उत्साहित छौं। त्यसले पनि प्रभाव पार्छ। आहाको संस्करण जित्छौं।’

पुलिसका प्रशिक्षक अनन्थ थापाले बताए– ‘थ्री स्टार राम्रो टिम हो। फाइनल टप्स हुन्छ। फाइनल जहिले पनि ५०–५० हुन्छ। ९० मिनेटको खेलमा कसरी जित निकाल्ने भन्ने कोसिस हाम्रो हुन्छ। राष्ट्रिय खेलाडीको जमात भने छैन।’

प्रतिक्रिया दिनुहोस्