निरोधक शल्यक्रिया पीडितद्वारा क्षतिपूर्ति माग



टोक्यो, (एजेन्सी)
सत्तरीको दशकमा १५ वर्षको उमेरमा जबर्जस्ती गर्भ निरोधक शल्यक्रिया गराइएकी एक जापानी महिलाले सरकारसँग हालै आएर क्षतिपूर्ति माग गरेकी छिन्। जापानमा भएको यस प्रकारको यो पहिलो घटना भएको बताइएको छ। हाल अस्तित्वमा नरहेको प्रजनन क्षमता नष्ट पार्ने उक्त कानुनअन्तर्गत यी नाम नखुलाइएकी महिलालगायत अन्य हजारौं महिलामाथि त्यतिबेला सरकारले जबर्जस्ती शल्यक्रिया अभियान चलाएको थियो। मानसिक रोगी भएको वा कुष्ठरोगको सम्भावना वा समस्या रहेको आशंकामा तिनीहरूको सामूहिक शल्यक्रिया गरिएको थियो।

यसरी शल्यक्रिया गरिएका २५ हजरमध्ये १६ हजार ५ सय जना शल्यक्रियाका लागि तयार नभएको बताइएको छ। ती पीडित महिलामा नौ वर्षका कलिला बालबालिका पनि रहेका थिए। वंशाणुगत पागलपनाको लक्षण देखिएको भन्दै सन् १९७२ मा गर्भ निरोधक शल्यक्रिया गराइएकी तथा हाल ६० वर्ष उमेरकी ती महिलाले कानुनी उपचारको सहारा लिएकी हुन्।

जापानी सञ्चार माध्यमले उक्त शल्यक्रियापछि उनमा मानसिक समस्याहरू देखापरेको जनाएको छ। उक्त शल्यक्रियाबाट भएको साइड इफेक्टका कारण पछि उनको पाठेघर काटेर फ्याक्नुपरेको थियो।

आफ्नो मानव अधिकार उल्लंघन भएको दाबी गर्दै ती महिलाले १ लाख १ हजार अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी हुन्। उनकी बहिनीले पत्रकार सम्मेलनमा भनेकी छिन्– ‘हाम्रा ती दिनहरू निकै पीडादायी थिए। हामी यो समाजलाई उज्ज्वल बनाउन उठेका छौं।’ जापानी स्वास्थ्य मन्त्री कात्सुनोवु कातोले यस विषयमा आफूलाई विस्तृत कुरा थाहा नभएको भन्दै कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उक्त निरोधक शल्यक्रिया कार्यक्रम सन् १९४८ देखि १९९६ सम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्