आफ्नो “स्टेट अफ द युनियन स्पिच” सबैभन्दा धेरैले सुनेको ट्रम्पको दाबी “फेक”



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसमा दिएको आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधन इतिहासमा सबैभन्दा धेरैले टेलिभिजनमा सुनेको दाबी गरेका छन्।

तर विगत वर्षको रेटिङ डाटाले ट्रम्पको उक्त दावा पूर्णरूपमा गलत भएको ठहर्याएको छ। अमेरिकी टेलिभिजनको रेटिङसम्बन्धी आँकडामा निगरानी राख्ने कम्पनी निलसनले अहिलेसम्म सबैभन्दा धेरै ४ करोड ५६ लाखले टिभीमा उक्त सम्बोधन सुनेको ट्रम्पको दाबी गलत भएको जनाएको छ।

निलसनले पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यू बुसको सम्बोधनलाई ट्रम्पको भन्दा धेरैले टेलिभिजनमा सुनेको जनाएको छ। यद्यपि ट्रम्पको सम्बोधन सामाजिक सञ्जाल र ट्विटरमा पनि सुनिएको थियो। ट्विटरका अनुसार ट्रम्पको भाषण ४५ लाख पटक ट्विट गरिएको थियो र त्यो आफैमा एक कीर्तिमान हो।

ट्रम्पले आफ्नो भाषणका बारेमा सामाजिक सन्जालमा लेखेका थिए– ‘स्टेट अफ द युनियन स्पिचका बारेमा आफ्नो विचार राख्ने र विश्लेषण गरेकोमा धन्यवाद। यो भाषणलाई ४ करोड ५६ लाखले हेरे जुन इतिहासमै सबैभन्दा धेरै हो। पहिलो पटक फोक्स न्युजलाई सबै च्यानलको तुलनामा सबैभन्दा धेरैले हेरे। १ करोड १७ करोडले उक्त च्यानलमा मेरो संम्बोधनलाई सुने। त्यो मनको कुरा थियोे।’

तर निलसनबाट प्राप्त आँकडाले सन् २०१० मा बाराक ओबामाको पहिलो आधिकारिक स्टेट अफ द युनियन सम्बोधनलाई ४ करोड ८० लाखले हेरको देखाएको छ। सन् १९९३ मा बिल क्लिन्टनको स्टेट अफ द युनियन भाषणलाई ६ करोड ६९ लाखले हरेका थिए। यो आफैमा एक कीर्तिमान थियो।
सन् २००३ मा इराक युद्धको केही हप्ताअगाडि जर्ज डब्ल्यू बुसले गरेको सम्बोधन ६ करोड २१ लाखले हेरेका थिए। निलसनले ट्रम्पको सम्बोधन हेर्नेमध्ये एक चौथाइ अर्थात् १ करोड १५ लाखले फोक्स न्यजुमा त्यसलाई हेरेको पुष्टि गरेको छ।
निलसनको यो सर्वेक्षण १२ वटा टेलिभिजन नेटवर्कबाट प्राप्त आँकडामा आधारित छ र त्यसले इन्टरनेटमा ट्रम्पको सम्बोधन हेर्नेको आँकडालाई समेट्दैन। सीएनएनले ट्रम्पको सम्बोधन शुरू भएको एक घण्टासम्म ३ लाख २० हजारले इन्टरनेटमा त्यसको लाइभ भिडियो हेरिरहेको जनाएको छ।

ट्विटरले उसको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै ट्रन्ड गरिएको भाषण यस वर्षको स्टेट अफ युनियन स्पिच भएको र यसलाई ४५ लाखले ट्विट गरेको जनाएको छ।

ट्रम्पको शपथग्रहण समारोह टेलिभिजनमा हेर्नेको संख्याको तुलनामा मंगलबार राती दिएको भाषण हेर्नेको संख्या अधिक भएको बताइएको छ। गत वर्ष जनवरीमा ३ करोड १० लाखले ट्रम्पको शपथग्रहण समारोह टेलिभिजनमा हेरेका थिए।

आफ्नो भाषण सुन्ने दर्शकको संख्यालाई लिएर ट्रम्पले बढाइचढाई गरेको यो पहिलो घटना होइन। गत वर्ष उनले वासिङ्टन डिसीको नेसनल मलमा १५ लाख नागरिक उनको शपथग्रहण समारोहमा सहभागी भएको दाबी गरेका थिए।

तर उनका तात्कालीन प्रेस सचिवले ट्रम्पको उक्त दाबीलाई गलत प्रमाणित गरेका थिए। त्यति बेला करिब ७ लाख नागरिकले मात्र ट्रम्पलाई सुन्न आएको अनुमान गरिएको थियो।

रोलिङ स्टोन पत्रिकामा सन् २०१५ मा आफ्नो बारेमा छापिएको लोखमा ट्रम्पले उनको निजी ७५७ विमान अमेरिकी राष्ट्रपतिको एयर फोर्स वन जेट विमानभन्दा ठूलो भएको बताएका थिए। तर एयर फोर्स वन विमान २ सय २५ फिट अर्थात् ६८ मिटर लामा छ भने ट्रम्पको विमान १ सय ५३ फिट लामो हो।

प्रतिक्रिया दिनुहोस्