विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै



काठमाडौं । ‘सिमसारले गर्छ पानीको स्याहार’ भन्ने मूल नाराका साथ विभिन कार्यक्रम गरी १७ औं विश्व सिमसार दिवस मनाइदै छ ।

दिवसको अवसरमा आज कपिलवस्तुको जगदिशपुर जलाशयमा विशेष कार्यक्रम गर्ने तयारी छ । त्यसका लागि नेपाल सरकारको सिमसार आयोजना, हिमाली प्रकृति, नेपाल प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग लगायतका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि कपिलवस्तु पुगेका छन् ।

सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुवरी २ तारिखका दिन रामसार महासन्धी स्थापना गरिएको थियो । अहिले यो महासन्धीमा सयौं देश सामेल भएका छन् । औपचारीक रुपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालेको हो ।

नेपालमा ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छन् ।

ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्गाैलाका रुपमा समेत लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्