क्षयरोगीको एकिन तथ्यांक पत्ता लगाउन सर्वेक्षण



पुष्कर बुढाथोकी, भक्तपुर । सरकारले देशमा रहेका क्षयरोगीको एकिन तथ्यांक पत्ता लगाउन बृहत् सर्वेक्षण सुरु गरेको छ ।

नेपालमा हालसम्म क्षयरोगीको आधिकारिक तथ्यांक नभएपछि सरकारले विभिन्न दातृ निकायको सहयोगमा आधिकारिक रुपमा क्षयरोगीको संख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरेको हो ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.केदारनरसिंह केसीले भक्तपुरमा आजबाट सुरु भएको र सिन्धुली र दोलखा जिल्लामा छिटै सुरु हुने र सर्वेक्षण देशभरिका ५८ जिल्लामा गरिने बताउनुभयो ।

बालकुमारीका आयोजित सर्वेक्षण शुभारम्भ कार्यक्रममा उहाँले नेपाल सरकारको रु. २३ करोड, ग्लोबल फण्डको रु. १७ करोड, नर्वेको लङ्ग हेल्थ फाउण्डेसनको ३ करोड गरि रु. ४३ करोडको लागत र जापान आईटिएको प्राबिधिक सहयोगमा सर्वेक्षण हुने बताउनुभयो ।

कार्यक्रममा केन्द्रका योजना प्रमुख एवं सर्वेक्षण संयोजक अनिल थापाले भक्तपुर, सिन्धुली, दोलखाबाट पाईलटिङ्गका रुपमा सर्वेक्षण गर्ने कार्यक्रम अन्तर्गत भक्तपुरबाट सर्वेक्षणको औपचारिक रुपमा सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले सर्वेक्षणले नेपालको क्षयरोगको अबस्थाबारे आधिकारिक तथ्याङ्ग आउने र यसले क्षयरोगीको उपचारलाई सहज र प्रभावकारी बनाउनका लागि योजना तयार गर्न टेवा पुग्ने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन सुवास लाखे, जन्त्रका प्रमुख रामशरण गोपाली लगायतले सर्वेक्षणलाई प्रभावकारी बनाउँन सबैको सहयोग आवश्यक रहेको औल्याउनुभयो ।

देशभरका ९९ वटा क्लस्टरमा गरिने उक्त सर्वेक्षणको नतिजा सन् २०१९को अन्त्यसम्म आउने र यसले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३५ सम्ममा नेपालबाट क्षययोगको निवारणका लागि मार्ग निर्देश गर्न महत्वपूर्ण भूमिका खेल्ने केन्द्रका निर्देशक केसीले बताउनुभयो ।

उहाँले कम्तिमा देशभरिका ५७ हजार ६ सय १० जना नागरिकको स्वास्थ्य परीक्षण गरी फोक्सोमा लाग्ने क्षयरोगी बारे यकिन तथ्यांक लिइने बताउनुभयो ।

अनुसन्धानका क्रममा १५ वर्षमाथिका नागरिकको मात्रै स्वास्थ्य जाँच गरिने बताउँदै उहाँले अनुसन्धानका लागि ७० जना कर्मचारी खटाइएको बताउनुभयो ।केन्द्रका सर्भे कोअर्डिनेटर अनिल थापाले नेपालमा गर्न लागिएको अनुसन्धानमध्ये यो अहिलेसम्मकै ठूलो भएको बताउँदै ५८ जिल्लाका १ सय २ स्थानमा पुगी सर्वेक्षण गरिने जानकारी दिनुभयो ।

सर्वेक्षणले क्षयरोगको यकिन अवस्था थाहा हुने र त्यसले राज्यलाई आगामी दिनमा क्षयरोगविरुद्धको रणनीति तय गरेर अगाडि बढ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।सर्वेक्षणका लागि स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरी अनुसन्धानकर्ताले सर्वसाधारणको छातीको एक्सरे र प्रश्नावलीको माध्यमबाट स्वास्थ्य अवस्था बुझ्ने छन् ।

सन् २०१९ भित्र सम्पन्न हुने यो अनुसन्धानमा ४० करोड रुपैयाँ खर्च लाग्ने अनुसन्धानको मुख्य जिम्मेवारी पाएको इन्टरपेड नेपालका प्रोजेक्ट म्यानेजर राजेशराज भण्डारीले बताउनुभयो ।विभिन अस्पतालमा उपचार गर्न गएका बिरामीको संख्यालाई आधार मानेर स्वास्थ्य मन्त्रालयले हाल नेपालमा ४४ हजार क्षयरोगी रहेको बताउँदै आएको छ । सोही संख्यालाई आधार मानेर क्षयरोग निवारणको योजना बनाउने गरिएको छ ।

तर यो संख्यालाई चिकित्सकदेखि विभिन्न दाताहरूले समेत आधिकारिक नमानेपछि सरकारले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान सुरु गर्न लागेको हो । राष्ट्रिय क्षयरोग केन्द्र, विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेन, एलएचए बेल्जियम र जापानले यस अनुसन्धानमा सहयोग गरेका छन् । फिल्ड अनुसन्धान भने इन्टरपेड नेपाल, जन्त्र र राष्ट्रिय क्षयरोग केन्द्रले गर्ने भएका छन् ।

केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० हजार क्षयरोगी सम्पर्कविहीन रहेको जनाएको छ ।केन्द्रका निर्देशक केसीका अनुसार प्रत्येक दिन एक सय २० जनाको हाराहारीमा नयाँ रोगीहरु देखा पर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजारको हाराहारीमा बिरामीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्