हात्तीपाइले विरुद्धको औषधि फागुनमा खुवाईने



विनोद सिंह विष्ट, बैतडी । बैतडी सहित प्रदेश नम्बर सातका जिल्लाहरुमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । आगामी फागुन १२, १३ र १४ गते प्रदेश नम्बर सातका ९ ओटै जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

बैतडीको हकमा अन्तिम पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । बैतडीमा छैटौं बर्षमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो ।

५ बर्ष सम्म बैतडीमा औषधि सेवन अभियान सञ्चालन गरेपछि गरिएको सर्वेक्षणमा औषधि अभियान सफल भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाटन र शिवनाथमा ६ सय जनाको रगत परीक्षण गरेकोमा कसैमा पनि हात्तीपाइले कीटाणु नभेटिएकाले आम औषधि सेवन अभियान सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमका लागि ४६० स्वास्थ्यकर्मी र १ हजार ४८० स्वयंसेवक परिचालन गरिने भएका छन् ।

दुई बर्ष मुनिका बालबालिका,गर्भवती र सातदिनभित्रका सुत्केरी, ७० बर्ष भन्दा माथिका नागरिक,सिकिस्त बिरामी, छारे रोग लगायतका बिरामीबाहेक अरुले औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालबाट सन् २०२० सम्म हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्य अनुसार हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको हो । यो बर्ष बैतडीमा झण्डै २ लाख ४० जनसंख्यालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको छ ।

हात्तीपाइले उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिन लागेको भएकोले हात्तीपाइले रोग विरुद्धको आमऔषधि सेवन कार्यक्रममा सबैलाई सहयोग गर्न उहाँले आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्