राजधानीमा ढल प्रशोधन सराहनीय कार्य



राजधानी उपत्यकाका घर–घरबाट निस्कने ढल प्रशोधनका लागि आधुनिक प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाइएको छ । ढल प्रशोधनका क्रममा बिजुलीसमेत निकालिने आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले बताउनुभएको छ । यो योजना सम्पन्न भइसकेपछि उपत्यकावासीको घर–घरबाट निस्केको ढल सीधै खोलामा मिसाइनेछैन । विभिन्न केन्द्रमा प्रशोधन भएपछि मात्रै शुद्ध पानी नदीमा पठाइनेछ । यस कार्यले उपत्यकाको नदीमा बहने पानी शुद्ध हुने देखिन्छ । साथै प्रशोधनका क्रममा बिजुलीसमेत उत्पादन हुने हुँदा दोहोरो फाइदा हुने देखिन्छ । त्यसैले यस कार्यको सराहना गर्नै पर्छ ।

निर्देशनालयले गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको क्षमतालाई अभिवृद्धि गरिरहेको छ । गुह्येश्वरीको हाल १ करोड ६० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमता रहेकाले पहिलेको क्षमतालाई दोब्बर बनाएर बिजुली निकाल्न निर्देशनालय तम्सिएको समाचारमा उल्लेख छ । निर्माण सम्पन्न भइसकेपछि सो केन्द्रले ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गर्नेछ । यसै गरी भक्तपुरस्थित सल्लाघारी, ललितपुर बालकुमारीस्थित कोड्कु र धोबीघाटमा गरी नयाँ कुल ६ करोड ८० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना रहेको छ । गुहेश्वरी केन्द्रको पुनर्निर्माणको जिम्मा पाएको एक भारतीय कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्ने र १० वर्षसम्म कम्पनीले सञ्चालन गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । गुह्येश्वरी ढल प्रशोधन केन्द्र निर्माणको काम अहिले ४० प्रतिशत सकिएको छ । गुह्येश्वरीबाट करिब २ सय ४० किलोवाट र धोबीघाटको केन्द्रबाट २ सय ४ किलोवाट बिजुली निकाल्ने जनाइएको छ । यो बिजुली प्रशोधन केन्द्रमै खर्च गरिने निर्देशनालयको योजना रहेको छ ।

निर्देशनालय र समितिले हाल विभिन्न खोला र नदीका कोरिडोरमा ठूला ह्युमपाइप बिछ्याउने काम गरिरहेको छ । यो काम सकिएपछि काठमाडौंका सबैजसो ढल प्रशोधन केन्द्रसम्म पुग्ने गरी जोडिनेछ । प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । यसपछि भने नागरिकहरू ढलको गन्धबाट मुक्त हुने, स्वच्छ वातावरणको प्रत्याभूति हुने, फोहोरबाट हुने रोगको दर कम हुनेलगायतका फाइदा लिन सकिने निर्देशनालयको दाबी छ ।

आधुनिक प्रविधिबाट प्रशोधन केन्द्रको निर्माण हुने भएकाले यसवरपर निर्धक्करूपमा गन्धरहित तवरले स्वच्छ वातावरणमा मर्निङ वाक गर्न सकिने जनाइएको छ । यस्ता कार्यबाट दोहोरो फाइदा लिन सकिने भएकाले यसको सराहना गर्नै पर्छ । आगामी दिनमा काठमाडौंमा मात्र नभएर उपत्यकाबाहिरका अन्य शहरहरूमा पनि ढल प्रशोधन कार्यको थालनी गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्