दुई नयाँ राडार सञ्चालनमा



दीपेन्द्र थापा, काठमाडौं

हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुईवटा नयाँ राडार सञ्चालनमा ल्याइएको छ। देशका अधिकांश आकाश समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरेको हो। नयाँ राडर जडानपछि नेपालको उडान थप सुरक्षित हुने भएको प्राधिकरण भनाइ छ।

नयाँ राडारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान अवतरण गर्न र नेपाली आकाशमा रहेको विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताउनुभयो।

भट्टेडाँडामा जडित ‘मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडार मोड’ ले उडानलाई थप सुरक्षित बनाउन मद्दत गर्ने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। जापान सरकारको अन्तर्राष्ट्रिय नियोग जाइका एवम् प्राधिकरणको संयुक्त लगानी राडार सञ्चालनमा आएको हो। जाइकाको १ अर्ब रुपियाँको र प्राधिकरणको १२ करोड रुपियाँ लागतमा ती दुई राडार प्रयोगमा आएको हो। नयाँ राडारबाट पूर्वको सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको दिशा गति, उचाई अवस्थितिलगायतको जानकारी पाउन सकिने प्राधिकरणको भनाइ छ।

राडार सञ्चालनमा आएपछि नेपालको कुल भूभागको करिब ७५ प्रतिशत क्षेत्र राडार कभरेजअन्तर्गत पर्ने प्राधिकरणका उपनिर्देशक तथा आयोजना प्रमुख सञ्जीवसिंह कठायतको बताउनुभयो।
कठायतले भन्नुभयो–‘भट्टेडाँडामा जडान गरिएको नयाँ इन रुट राडारबाट ४ सय ५० किलोमिटर (२ सय ५० नटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ। त्रिभुवन विमानस्थलको पुरानो राडारमार्फत् करिब ९० किलोमिटर (५० नटिकल माइल) परको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो।’

अब भने त्रिभुवन विमानस्थलमा सञ्चालनमा आएको टर्मिनल राडारमार्फत् (२ सय नोटिकल माइल) ३ सय ५० किलोमिटरसम्मको विमानको अवस्थिति थाहा पाउन सकिन्छ। नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजबीचको दूरी घट्न जाने हुँदा सुरक्षाको दृष्टिले सुरक्षित र यसबाट हवाई उडान छिटोछरितो हुन्छ निर्देशक कठायतले दाबी गर्नुभयो। गत नोभेम्बरमा अमेरिकाबाट फेडरल एभिएसन एडिमनिस्ट्रेसनबाट आएको जहाजले ३ दिन लगाएर नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

नयाँ राडार जडानसँगै ५ देखि ९ किलोमिटरको अन्तरमा राखेर विमानले उडान अवतरण गर्न सक्नेछन्। पहिले २० देखि २८ किलोमिटर अन्तरको दूरी रहँदै आएको थियो। पहिले राडारमार्फत् उडानको अनुगमन सीमित भएकाले नेपाली आकाशभित्र उडिरहेका विमानको अवस्थिति थाहा पाउन कठिन हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्