दरबारमार्गमा अत्याधुनिक प्रहरी भवन



नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय प्रहरी वृत्त दरबारमार्गको नवनिर्मित कार्यालय र ब्यारेक भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहीबार आयोजित एक समारोहबीच उद्घाटन गर्नुभयो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नयाँ पूर्वाधार निर्माण गर्ने नेपाल सरकारको योजनाअनुरूप संगठनको दिगो विकास गर्दै जाने क्रममा भवन निर्माण गरिएको उल्लेख गर्दै आम नागरिकको आधारभूत आवश्यकता रहेको शान्ति सुरक्षा र आर्थिक उन्नतिलगायत मुलुकलाई अग्रगामी दिशामा अगाडि बढाउने सिलसिलामा गरिने प्रहरी कार्यमा भौतिक पूर्वाधार महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो।

भवन निर्माण साध्य नभई साधन मात्र भएकाले प्रहरी कर्मचारीको आचरण र नागरिकप्रतिको सेवाभावले प्रहरीको कार्यमा प्रभावकारिता थप्ने उहाँले बताउनुभयो।

प्रहरी कार्यलाई थप प्रभावकारी बनाउन कतिपय स्थानमा नागरिकको लगानीमा समेत भवन निर्माण हुँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले कानुनद्वारा निर्देशित कार्य सम्पादनमा कुनै छुट नहुने भएकाले जनतालाई केन्द्रबिन्दुमा राखेर कानुनसम्मत सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

साथै उक्त अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभएको थियो।

नेपाल सरकारको नियमित बजेटद्वारा कुल १ करोड ८४ लाख २६ हजार ७ सय ८ रुपियाँ लगानीमा निर्मित उक्त कार्यालय भवन ४ तला रहेको छ भने कुल ५ करोड १८ लाख ९० हजार ४ सय ७ रुपियाँमा निर्माणकार्य सम्पन्न भएको उक्त ब्यारेक भवन ५ तल्लाको रहेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आफ्नो मन्तव्य व्यक्त गर्नभएको थियो।

प्रतिक्रिया दिनुहोस्