आईपीएल पुगेका सन्दीपमाथि थप चुनौती



फिरोज राजोपाध्याय

गएको एक साता नेपाली खेलकुदका लागि सुखद क्षण बन्यो। तीन–तीन जना खेलाडीले नेपालबाहिर खेल्ने मौका पाएका छन्। तीनै जना संजोगवश छिमेकी राष्ट्र भारतमा गएर खेल्ने अवसर जुटेको हो। ती हुन् फुटबलका किरण चेम्जोङ र विमल घर्तीमगर तथा क्रिकेटका सन्दीप लामिछाने। यसमध्ये नेपालका नम्बर एक गोलकिपर किरण र स्ट्राइकर विमलका लागि विदेशी क्लबबाट खेल्ने नौलो होइन। तर, सन्दीपका लागि भने विदेशी क्लबबाट खेल्ने पहिलो अनुभव हुनेछ।

सन्दीपको सन्दर्भमा भन्ने हो भने उनले क्रिकेटमा कसैले नपाएको अवसर पाएका छन्। उनी विश्वमै चर्चित र लोकप्रिय बनेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने सुनौला अवसर पाएका पहिलो नेपाली खेलाडी हुन्। यस हिसाबमा क्रिकेटका सबैभन्दा भाग्यमानी खेलाडी भने पनि हुन्छ। अप्रिल ७ देखि शुरु हुने आईपीएलमा नेपाली लेग स्पिनरले दिल्ली डेयरडेभिल्सबाट खेल्नेछन्।

आईपीएलको ११औं संस्करणअन्तर्गत खेलाडी अक्सनमा सन्दीपलाई नेपाली ३२ लाखमा (२० लाख भारु) दिल्ली डेयरडेभिल्सले किनेको छ। १७ वर्षीय सन्दीप टोलीको २५ खेलाडीमध्ये एक सदस्य बनेका छन्। उनले त्यहाँ अस्ट्रेलियाका ब्याटस्म्यान ग्लेन म्याक्सवेल, भारतीय ओपनर गौतम गम्भीर र न्युजिल्यान्डका बलर ट्रेन्ट बउल्टसँग खेल्ने अवसर जुटेको छ। तर, आईपीएल शुरु भएपछि उनका लागि चुनौती भने थपिनेछ।

यो त आईपीएलमा पुग्ने बाटो सन्दीपले तय मात्रै गरेका छन्। यदि उनले आईपीएलमा राम्रो प्रदर्शन गरेमा अन्य नेपाली खेलाडीका लागि पनि आईपीएलमा ढोका खुल्नेछ। यसैले सन्दीप आईपीएलमा पुगेको भन्दा पनि त्यहाँ उनले गर्ने प्रदर्शनमै उनको र नेपाली खेलाडीको भविष्य निर्भर गर्नेछ। यसमा कुनै शंका छैन कि सन्दीपको बलिङ निखारिइरहेको स्थिति छ। अहिले उनी विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीमा छन् र संयुक्त अरब इमिरेटस्मा व्यस्त छन्।

सन्दीपलाई दिल्ली डेयरडेभिल्समा लिने पहिल्यै तय भइसकेको थियो। टोलीले सन्दीपको ट्रायल गरेको भिडियो कोच रिकी पोन्टिङलाई पठाएको थियो। त्यो पनि आईपीएल अक्सन हुन केही दिन अगाडि पठाएको थियो। पोन्टिङ सन्दीपको बलिङबाट प्रभावित भएपछि उनलाई बेस प्राइसमै अनुबन्धन गरिएको हो। दिल्ली डेयरडेभिल्सका सीईओ हेमन्त दुआले भारतीय सञ्चारमाध्यमलाई यस्तो भन्नु पनि यो कुराको पुष्टि हुन्छ। उनले भनेका थिए– ‘हामीले आईसीसी एसोसिएट टिमलाई हेरिरहेका छौं। हामीले यु–१९ विश्वकप २०१६ मा उनलाई देख्यौं। त्यसपछि उनी अस्ट्रेलिया गए। हामीले अझै उनलाई पछ्याइरहेका थियौं। उनलाई अक्सन हुनुअघि ट्रायलका लागि बोलायौं।’

दुआले थपे– ‘उनी १७ वर्षका हुन्। उनले साँच्चिकै राम्रो बलिङ गर्छन्। त्यसैले हामीले उनलाई ट्रायलको व्यवस्था गर्यौं। उनले नेटमा बलिङ गरेको भिडियो टिमसँग शेयर पनि गर्यौं। पोन्टिङले उनको बलिङ हेरेपछि लिन स्वीकार गरेका थिए।’

त्यसो त माइकल क्लार्कले २०१६ मा अस्ट्रेलियामा लगेपछि नै सन्दीप लाइमलाइटमा आएका हुन्। सन्दीपले त्यहाँ माइकल क्लार्क एकेडेमीमा प्रशिक्षण लिने र खेल्ने मौका पाएका थिए। क्लार्कपछि अब उनले अर्का अस्ट्रेलियन खेलाडी पोन्टिङबाट प्रशिक्षण लिनेछन्। अर्को सेन वार्नको प्रशंसक पनि भएकाले उनको बलिङ शैली केही हदसम्म वार्नकै जस्तो पनि छ। उनले प्रुफ गरेर देखाइसकेका छन्। यसैले पनि उनी छिटै सिनियर टोलीमा सहभागी भएका हुन्। उनले लिस्ट ए मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्ध २०१६ अप्रिलमा त्रिवि मैदानमा डेब्यु गरेका थिए। उनले पहिलो खेलमा २ विकेट मात्रै लिएका थिए।

सिनियर टोलीबाट खेलेर सन्दीपले लिस्ट ए मा कुल १२ विकेट लिएका छन्। गत अक्टोबरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध ४८ रन दिएर ३ विकेट लिएका थिए। यो लिस्ट ए मा उनको सबैभन्दा सर्वश्रेष्ठ प्रदर्शन पनि हो। यस्तै २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकपमा सन्दीपले कुल १४ विकेट लिएर प्रतियोगितामा सर्वाधिक विकेट लिनेमा दोस्रो बलर बनेका थिए। उनले समूह चरणमा आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिन २७ रन मात्रै खर्चेका थिए। यो खेल नेपालले जितेर क्वार्टरफाइनलमा पुगेको थियो। उनी सो उमेर समूहको विश्वकपमा ह्याट्रिक गर्ने पाँचौं खेलाडी पनि थिए। यो प्रदर्शनमा अस्ट्रेलियन लेग स्पिनर वार्नले उनलाई प्रशंसा पनि गरेका थिए। सायद यसपछि नै उनी वार्नको प्रशंसक बनेका होलान्।

सन्दीपलाई दबाब
सन्दीप आईपीएलमा पुग्नु खुसीको कुरा पक्का हो। यो नेपाली खेलाडीलाई अवसर पनि हो। गत संस्करणमा अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीलाई पनि आईपीएलमा मौका दिइएको थियो। उनीहरूले राम्रो खेलेपछि यसपटक उनीहरू अक्सनमा करोडौं रुपियाँमा बिक्री भए। रसिदलाई ९ करोड र नाबीलाई १ करोड भारुमा सनराइजर्स हैदरावादले किन्यो। यसका साथै १६ वर्षीय अफगान स्पिनर मुजिब जरदानलाई किंग्स इलेभेन पन्जाबले ४ करोड भारुमा किन्यो। यस हिसाबमा यूएईका चिराग सुरी भने भाग्यशाली बनेनन्। गत आईपीएलमा गुजरात लायन्सले उनलाई किन्न त किन्यो तर खेलाएन र यस पटकको अक्सनमा यी २१ वर्षीय युवा खेलाडीको कतै नामै रहेन।

यसैले पनि सन्दीपका लागि चुनौती धेरै छ। उनलाई लाखबाट करोडौंमा पुर्याउनुपर्ने ठूलो दबाब पनि छ। उनले मौका कति पाउँछ त्यो पनि आईपीएल शुरु भएपछि मात्रै थाहा हुनेछ। टोलीमा धुरन्धर बलरहरू मोहम्मद सामी, कागिगो रबाडा जस्ता खेलाडी छन्। यदि उनको जादु त्यहाँ पनि चलेमा भविष्यमा नेपाली खेलाडीले आईपीएलमा मौका पाउनेमा कुनै शंका छैन। किनभने नेपाली खेलाडीमा दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ जस्ता नयाँ खेलाडीदेखि लिएर पारस खड्का, ज्ञानेन्द्र मल्ल जस्ता पुराना खेलाडीको प्रदर्शनमा कुनै कमी आएको छैन। उनीहरू आईपीएलका लागि डिजर्ब गर्छन्। एसोसिएट क्रिकेट राष्ट्रका खेलाडीमा हेर्ने हो भने पनि मल्ल र खड्का सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। सन्दीपले राम्रो गरेमा जरदान जस्तै उनीमाथि अर्को वर्ष हुने आईपीएल अक्सनमा करोड नाघ्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस्