राजनीतिक व्यङ्ग्य मनमोहक फूलबारीमा भैंसी



मुक्तिबन्ध

योहप्ता अन्धेरनगरीमा चौपट राजाका लीला–समाचारहरू पढे, हेरे, सुनेरै बित्यो। आइतबार बिहान घरमा आइपुगेका कतिपय पत्रिकाको मुखपृष्ठमा प्रकाशित प्रमुख समाचारमध्ये एक थियो, मुलुकका कामचलाउ प्रधानमन्त्रीका नेतृत्वमा अँध्यारोमा तमाम मर्यादा नाघेर गरिएका मनपरि निर्णय र त्यस्ता निर्णयलाई यो मेरो प्रतिबद्धता हो भनी प्रधानमन्त्रीले गरेको उद्घोष। अर्को समाचार थियो, हत्या–बलात्कारका जघन्य अपराधीहरूलाई आवश्यक छानबिन टुंगिन नभ्याउँदै अदालतले सामान्य तारेखमा छाडिदिएको घटना–कथा। त्यसपछि हप्ताभरिजस्तै यस्तै–यस्तै समाचार पढिए, सुनिए। गुहार सुन्नुपर्ने न्यायनिधानले नै ज्यान लिने धम्की दिए भन्ने समाचार पनि पढियो। कानुनको शासन छ भनिएका मुलुकमा जिम्मेवार तहबाट गरिने गैरजिम्मेवार व्यवहारहरू सुपाच्य थिएनन्, छैनन्।

जनचेतना उकास्सिएका मुलुकमा भए बौद्धिक वृत्तमा र सडकमै समेत भयङ्कर प्रतिक्रिया पोखिन सक्थ्यो। गल्ती गर्नेहरू गल्ती सच्याउन बाध्य हुन्थे, दण्डित पनि हुन सक्थे। हामी नेपाली जनता मुलुकका राजनेता र शासक–प्रशासकहरूप्रति बढी नै क्षमाशील छौं। हामी विनाशकारी धमिराहरूप्रति पनि त्यत्तिकै क्षमाशील छौं। धमिरा सल्केपछि वृक्षहरू मात्र ढल्दैनन् संस्कार संस्कृतिका स्थापत्यहरू पनि ढल्छन्, ढलेका छन्। मलाई हिजोआज अन्याय अपराधका समाचारहरूको शीर्षक पढेपछि त्यसका तपसिल विवरण पढ्ने रुचि हराएको छ। संवेदनशीलता हराउँदै गएको अनुभूति हुन थालेको छ। भ्रष्टाचार, अन्याय, अत्याचार र अपराधका समाचार अब हामीकहाँ सामान्य भइसकका छन्।

जिम्मेवार तहमा न्यायबोध, नैतिकता, मर्यादा सबै गायब रहेको आजको हाम्रो लोकतन्त्रमा अन्यायमा परेका जनसामान्यलाई अरण्यरोदनको सुविधा छ, जीवन विसर्जनको सुविधा छ। बस्तीमा वसेर रुँदा, छट्पटाउँदा थप दण्डित बन्न सकिने सम्भावनाका कारण अहिले बस्तीहरू सुनसान छन्। सडकमा आवाज छैन।

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ युरोपको लामो भ्रमणबाट फर्कनुभएपछिको एक भेटमा उहाँले युरोपका विभिन्न मुल्ुकमा भए–देखिएका प्राकृतिक सौन्दर्य र त्यहाँका जनताका सोचसमझ तथा श्रमबाट प्रतिपादित विकास र मर्यादा व्यवस्थाका मनोरम सौन्दर्यको जीवन्त बखान गर्नुभएको थियो। बखानका क्रममा उहाँले त्यहाँका सुन्दर पुष्पमय बाटिकाबहुल पार्कहरूको पनि बखान गर्नुभएको थियो।

त्यति बेला मेरो मनमा बडामहाराजा पृथ्वीनारायणले आफ्नो दिव्योपदेशमा व्यक्त गर्नुभएको ‘नेपाल चार वर्ण छत्तीस जातको पूmलबारी हो, सबैलाई चेतना भया’ भन्ने वाक्य खेल्न आइपुग्यो र सोचेँ– नेपाल प्रकृतिको पनि सुन्दर मनोरम पूmलबारी हो। युरोपका ती श्रमसिर्जित पूmलबारीहरूमा पनि अहिले हामीकहाँ जस्तै बथानका बथान भोका भैंसीहरू पसे र बर्सौं चरिबसे भने के हुन्छ ? त्यो सौन्दर्य कायम रहन्छ ? मनमनै म आफैं प्रश्नमय बनेँ।

भैंसी र पूmल यी दुईबीच सपना, कल्पना र सौन्दर्यको कुनै सम्बन्ध छैन। भैंसीले कुनै मनोरम सृजन सौन्दर्यको सपना देख्दैन। भैंसीका आँखामा पूmल प्रकृतिको मृदुमुस्कानमय संक्षणीय सिर्जना होइन। ‘गुलाफलाई देखेर राम्रो हे भाइ, नछुनू, लोभले हेर्यो मोहनी गर्यो जङ्गली नहुनू।’ भैंसीले महाकवि देवकोटाको मुनामदन पढेको छैन। भैंसीका लागि पूmल कुनै कविता काव्य होइन। सौन्दर्यबोध हुँदैन भैंसीमा, न कर्तव्यबोध नै हुन्छ। भैंसीका लागि पूmल पनि घाँस हो। हाम्रा सत्तासीनहरूका लागि लोकतन्त्रजस्तै। भैंसीले घाँस देखेपछि चर्छ। घाँस ठानर सुन्दर फूलहरू चरेबापत भैंसीले पश्चात्ताप पनि गर्दैन। यो हामी सबैले जानेबुझेकै कुरा हो। हिन्दीमा एउटा उखान सुनिन्थ्यो, ‘भैंस के आगे बीन बजाना’।

नेपालीमा ‘भैंसीलाई फूलबारी’ उखान अद्यावधि चलनचल्तीमा आएको सुनिएको छैन। आधुनिक, अत्याधुनिक कविहरूले आफ्ना भाइरल कविताहरूमा फूलबारीमा भैंसीे विम्ब प्रयोग गर्नुभएको पनि अद्यावधि पढ्न⁄सुन्न पाइएको छैन। लाग्छ, हाम्रा नवनवोन्मेषशालिनी प्रज्ञाका नयाँ हिमालयहरूले समय लिएर सिंहदरबारका अद्यतन नाट्य प्रस्तुतिहरूको अन्तर्य केलाउन र मिडियामा देखिन आइपुगेका ‘मुलुकमा दावानलकृत विनाशलीला’का सूचकहरूमा घोत्लिन र भुट्भुटिन चाहनुभएको छैन। अथवा भ्याउनुभएको छैन। ‘कविता संयोग र वियोगमा लेखिन्छन्⁄प्रेम र घृणामा लेखिन्छन्⁄अहङ्कार र तिरष्कारमा लेखिन्छन्⁄नाक् वाक् र धाकमा पनि लेखिन्छन् कविता⁄न्यायनिधानबाट पनि न्याय नपाएकी बलात्कृत महिलाको पीडा वेदनाले भन्छ⁄कविजी, हाम्रो पनि कविता हुन्छ⁄अनिर्वचनीय पीडा, वेदनाको पनि कविता हुन्छ⁄ज्यूधन स्वाहा पारेर ल्याएको लोकतन्त्रले पनि राणाकालका शमशेरसाहूले जस्तै घरबास र करङ खुस्काएर लातका लात भकुरेपछिका शोषित पीडत नेपाली जनताले भन्छन् कविजी हाम्रो पनि कविता हुन्छ⁄‘लोकतन्त्र’का लात र आघातको पनि कविता हुन्छ⁄मुलुकभरिका बालबालिका मार्न उद्यत विषस्तनी पूतनाको त पुराना व्यासले पनि कविता लेखे⁄नयाँ व्यासले लेख्न सक्छन् भने लोकतान्त्रिक सरकार नामधारी नयाँ पूतनाका विनाशलीलाले भन्छ, कविजी, हाम्रो पनि कविता हुन्छ। भैंसी पसेर बिमाख आजको उराठ पूmलबारीले भन्छ, कविजी, हाम्रो पनि कविता हुन्छ⁄आजका सत्तासीन बडाकाजीहरूका मनपरि निर्णय र चौतर्फी लुटमुखी क्रियाकलापबाट निरन्तर लुटिएकाहरू भन्छन्, कविजी, हाम्रो पनि कविता हुन्छ⁄किनभने साहित्यको पनि समकालीन कार्यभार हुन्छ⁄हुनुपर्छ’।

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठले युरोप यात्रामा जहाँ–जहाँ जे–जे देख्नुभयो त्यो धारावाहिकरुपमा लेखिरहनुभएको पढ्न पाइएको छ। यसबाट हामी पाठकहरूले रोचक शैलीमा महत्वपूर्ण जानकारी पाइरहेका छौं। यी जानकारीहरू नेपाली जनमनका लागि उत्पादक र उपयोगी हुन सक्छन्। म पुष्करजीलाई उहाँका तीे मूल्यवान् नियात्रा लेखनका लागि सधन्यवाद बधाई भन्छु।

यहाँनिर पनि मेरा मनमा एउटा जिज्ञासा जागेको छ– पञ्चायत सकिएर बहुदलीय प्रजातन्त्र थालिएका विगत तीस वर्षदेखि नेपालका प्रधानमन्त्री, मन्त्री, सांसद, सचिवलगायत ठूलाबडाहरू ‘को भन्दा को कम’ शैलीमा करोडौं करोड सरकारी ढुकुटी मासेर पटक–पटक विदेश भ्रमण गरिआएका छन्। यी असङ्ख्य महँगा भ्रमणबाट नेपालले आजसम्म के पायो ? सपना, कल्पना, योजना, उत्साहन, उत्पादन के पायो ? राष्ट्रिय ढुकुटीबाट अर्बौं गुमाएर मुलुक र जनताले के पाए ? यात्राको जानकारीमूलक बयानसम्म पनि सुन्न, पढ्न पाइएका छैनन्। विभिन्न किसिमका कर असुलीद्वारा राष्ट्रिय ढुकुटीमा सङ्कलित नेपाली जनताको रगत–पसिना खर्चेर विभिन्न देशको भ्रमण विलास गरेबापत सत्तासीन नेता, उपनेता र हाकिमहरूबाट करदाता जनताले कृतज्ञताको एकाध शब्दसम्म पनि सुन्न, पढ्न पाएका छैनन्।

सत्तासीन नेता र हाकिमहरू नेपाल र नेपालीको भाग्य–भविष्य चपाउन पल्केका रंगरंगका धमिरा मात्रै हुन बनिरहेका देखिन्छन् भन्नुपर्दा हामी नेपाली जनतालाई दुःख लाग्छ ⁄ जनताले आफ्ना शासक–प्रशासकहरूलाई संवेदनशील र दायित्वबोधयुक्त व्यक्तित्वका रुपमा देख्न, बेहोर्न चाहन्छन्।

विम्ब र प्रतिकका भाषामा भन्नुपर्दा, भैंसीहरू सत्तासीन छन् भने तिनले मुलुकका एक–एक वनबाटिका चर्छन्, उजाड पार्छन्। भैंसीले जिम्मेवारी र मर्यादा जान्दैन। नयाँ–नयाँ वनबाटिका निर्माण गर्दैन भैंसीले। भैंसीले फूलबारी चर्न सक्छ तर नयाँ–नयाँ फूल सारेर, उमारेर ढकमक्क पार्न सक्दैन। यो अनुभवसिद्ध सत्य हो। सल्किन पाए धमिराले विशाल–विशाल वृक्षहरू ढाल्न सक्छन्। नयाँ वृक्षहरू उमार्न र हुर्काउन सक्दैनन्। कतै कहीँ धमिराहरूले वृक्षरोपण गरेको सुनिएको छैन। विश्वभ्रमण नै गरे पनि भैंसीहरू संवेदनशील तथा विवेकशील सृजेतामा परिणत हुन सक्दैनन्। भैंसीले भ्याए⁄पाएसम्म चरिदिन सक्छ तर अनुभव आदानप्रदान गर्न सक्दैन। देश र जनताका हित–भलोका लागि नयाँ⁄नयाँ योजना तर्जुमा गर्न सक्दैन भैंसीले। भैसीले राष्ट्रिय प्रगतिको सपना देख्दैन। भैंसीले कसैका खुट्टामा कुल्च्यो अथवा कुनै बालकलाई नै कुल्च्यो भने पनि खुट्टा हटाउन जान्दैन। टेकी नै रहन्छ।

जतिसुकै इच्छा, अपेक्षा र विश्वास गरे पनि भैंसीहरू कानुनी राजको कुशल नेतृत्व गर्न जान्दैनन्। यस्तो पुख्र्यौली इतिहास नै छैन भैंसीको। भैंसीहरू पूmलबारीमा चर्न सक्छन्, पूmलहरूले बारी भर्न सक्दैनन्। यो पटक–पटक प्रमाणित भएको यथार्थ हो। हामी आज पूmलबारीका कुर्सीहरूमा आसीन हुन पुगेका भोका, थारा, जङ्गली भैंसीहरूबाट पीडित छौं।

प्रतिक्रिया दिनुहोस्